गुर्जा हिमाल आरोहण गर्न गएका ४ नेपालीसहित ९ जनाको मृत्यु


असोज २७, काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ दक्षिण कारियाली नागरिक र ४ जना नेपाली रहेका छन् । प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट सो हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा २५ गते राति सो घटना हुन पुगेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले घटनास्थल विकट ठाउँमा भएकाले उद्धार कार्य प्रभावित भएको जानकारी दिँदै सो स्थानसम्म पुग्नका लागि पहल भइरहेको बताए ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका थिए ।

२७ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको