‘भीआइपीको सुरक्षा’ भन्दै दर्शनार्थीलाई जानकी मन्दिर छिर्न दिइएन


मङ्सिर २६, जनकपुरधाम । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई बाहिरै रोकिएको छ । अहिले हजारौँको संख्यामा रहेका दर्शनार्थीहरू मन्दिर प्रवेशका लागि घण्टौँदेखि पर्खिरहेका छन्।

अति विशिष्ट पाहुना (भीभीआइपी) आउने नाममा सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक लगाइएको हो । बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका सर्वसाधरणलाई मन्दिर प्रवेश गर्न दिइएको छैन । मन्दिरका चारै ढोका बन्द छन्।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले भीभीआइपीको विशेष सुरक्षा प्रबन्धका लागि सर्वसाधारणको प्रवेशमा केही समयका लागि रोक लगाइएको बताएका छन्।

यसअघिका वर्षहरूमा सहजताका साथ मन्दिर दर्शन तथा पूजापाठ गरेका दर्शनार्थी यसपटक घण्टौँदेखि मन्दिर बाहकिर रोकिनुपर्दा हैरान छन् । मुख्यमन्त्री आदित्यनाथ बिहान करिब ११ बजे जनकपुर आइपुग्ने कार्यक्रम छ। उनी विशेष विमानमार्फत १० बजे लखनउबाट हिँड्ने कार्यक्रम छ।

अहिल्यैदेखि मन्दिर बाहिर रोकिनुपरेकोमा दर्शनार्थीहरू आक्रोशित भएका छन्। सर्वसाधारणले विवाह महोत्सवमा भन्दा पनि सरकार योगीको सत्कारमा व्यस्त देखिएको टिप्पणी गरेका छन्।

२६ मंसिर २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको