जुत्ता


बिदाको दिन, बिहान घरायसी काम अनि सरसफाइ सकिवरी दिउँसो एकछिन घुमौँ न भन्ने हेतुले बाहिर एक्लै निस्किएँ। घुम्न निस्कनुको पछाडी खास कुनै कारण थिएन, फ्रेस हौँ भन्ने हिसाबले मात्र बस। त्यो दिन बिना कुनै उद्देश्य शहरको सडक र गल्लीहरु चहार्दै थिएँ, लड्खराउदै। खै के जोस थियो कुन्नी ममा त्यतिबिघ्न। बिना मतलब लहसिनुको मजा लुट्दैथिएँ म एक्लै।

यत्तिकैमा अचानक मेरा आँखाहरु एक जुत्ता पसलमा ठोकिन पुग्छन। बाहिर माथिपट्टी “City Top Shoe Center” लेखिएको थियो। त्यहाँ मेरा नजर रोकिनुको कारण पनि तिनी नै थियौ । म फटाफट पसल भित्र प्रवेश गर्छु, मानौ कि म त्यो पसलको मालिक हुँ, नभए नि त्यो पसलसंग मेरो केहि न केही सम्बन्ध छ, तर यथार्थमा त्यस्तो भने केही थिएन, पसलेको हँसिलो मुहारले स्वागत गरिरहेको थियो, वास्तै नगरी म तिमी नजिक पुगेर वल्टाई-पल्टाई हेरेँ तिम्लाई। औधी मनपर्‍यो तिमी मलाई । मेरो खुट्टाको साईज र तिम्रो साइज पनि ठ्याक्कै मिल्यो, ४२ नम्बर, अब झन के नै चाहियो मलाई। लाग्थ्यो मेरो खुट्टाकै लागि बन्या जुत्ता हौ तिमी। मलाई मन परेपछि पर्यो्-पर्यो साहुजीसंग धेरै किचकिच गरेर बार्गेनिङ पनि गरिन ।

तोकिएको तिम्रो दाम थमाएर म बाहिरिएँ फटाफट , हँसिलो मुद्रामा। साहुजी खुशीले गदगद देखिन्थे । भन्दैथिए ” फ़ेरि पनि पाल्नुहोला ।” त्यो पसलबाट बाहिरीरहँदा यस्तो भान हुन्थ्यो कि, बाकी अरु सबै जुत्ताहरु बेखुस देखिन्थे, किनकि उनीहरु मेरो रोजाईमा पर्नबाट बन्चित थिए।यहि थियो उनीहरुको लागि दुर्भाग्य। तिमिलाई आफ्नो बनाउन पाउदा खुसिको सिमा थिएन ममा । त्यो तिमिमा थियो या थिएन कुन्नी! तर कहिलेदेखि त्यो पिजडामा बन्दी बनाईएको थियो तिमिलाई ? भन्ने अवस्थामा थिईन म, भलै पिजडाबाट स्वतन्त्र हुन पाउदको त्यो क्षणमा तिमी पनि खुसी नै छौ कि भन्नेसम्म अनुमान गर्न सकेँ मैले ।

पसलबाहिर निस्कदाँ साँझ झमक्क परेर, बत्ती झिलिमिली भईसकेको रहेछ, सायद लोडसेडिङको पालो थिएन त्यहाँ। सिधै रुमतिर हानिन्छु म हतारमा। निहाङले खाना तयार बनाईसकेको रहेछ, पहिलोपटक उसैलाई देखाएँ मेरो जुत्ता, उसले झन मन नपराउने कुनै चान्स नै थिएन। हिजो मात्र गाउँबाट आएको ऊ, गाईको शुद्ध घिउ, मह, दालेको कालो मासको दाल, गुन्द्रुक , मुलाको अमिलो अचार, एक पोका किनामा आमाले पठाउनु भएको रहेछ निहाङ मार्फत, अब किनामा पो कसरी पकाईखाने, अरुले गिल्ल्याउने हुन कि! पोहोर पनि झन्डैले लखेटेनन घरबेटी अंकलले ।

सुरुमा चाख्दा त दोस्रो पटक चाख्न त के सुङ्दिन भनेको, कसरी-कसरी आमाले बानी पारिहाल्नुभयो किनामाखान। आजकल त्यही चिज लाग्छ मलाई, अचम्म। मलेसियाको लागि भिजा आईसक्यो भनेर एजेण्टले बोलायो, अहिले के-के भनेर झुलाई राछ दाजु, गुनासो गर्दैथियो निहाङ , म उसको अनुहारमा हेर्दै खाना खाँदै थिएँ, र ऊ पनि।केही निराशाका डोराहरु प्रष्ट देखिन्थ्यो उसको अनुहारमा ।

भात खाने गैरी खेत पुरै साहुको नाममा छ, अर्को दुखेसो पोख्दैथियो ऊ, कुनै जुवाको खालमा बस्याछस र, भट्टीतिर छिर्याे छस र? वेस्यालय धाएको छस र? कमाउन पो हिड्या छस त । उडाउला नि केही दिनमा, सानो मन गरेर हुन्छ, मुला, अलि थर्काए जस्तो गरि यत्ती भने। त्यो त हो भन्दै चित्त बुझायो। खाना खाई सकेर ओछ्यानमा पल्टीयौँ दाजुभाई। अर्को मेरो रुम पार्टर हिजोबाट भुइँमा सुत्न थालेको छ।निहाङ आएदेखी, तिमरु खाटमा सुत म भुइँमा सुत्छु भनेको मान्दैनन दुवै जना । हुन त निहाङ र म सानोमा एउटै ओछ्यान र एउटै थालमा खाएर समयको धेरै चक्रहरु पार गरिसकेका थियौं ।

उमेरमा ऊ थोरै कान्छो भएकोले तँ भन्ने आँट कहिले गरेन, तर हामी सानैदेखि एकदम मिन्थ्यौँ। स्कुल पनि संगै जान्थ्यौँ। शुक्रबार र शनिबार चैं जहिल्यै माछा मार्न दौडिन्थ्यौँ । घुर्याथनमै मै एखुवा खोला सुसाउछ। माछा मार्नको लागि चाहिने पाफ्ले, चुईयुङ, खोंगा जस्ता समानहरु म आफै बुन्थेँ बाँसको चोयाबाट, आजकल पनि गाउँ जाँदा कसै-कसैको घरमा मैले तयार गरेका ती समानहरु देख्छु, भेट्छु, त्यो बेलाको यादहरुले मर्नेगरी चिमोठ्छ मलाई ।

दस वर्षे जनयुद्धताका राज्य पक्षले दीपकको बुवालाई बिनाकारण अपहरण गरि बेपत्ता बनायो। ती काका गाउँमा शिक्षक हुनुहुन्थ्यो, सारै जाती मास्टर भन्थे, अझैसम्म कुरा गर्छन गाउले ती काकाको, मलाई नि पत्यार नै लाग्दैन । हामी स्कुल नजाँदा सम्झाउनु हुन्थ्यो । त्यो अपत्यारिलो घट्नापछी दीपक स्कुल नै जानै छाड्यो। म पनि कति दिन त गईन, कति रात घरमै सुतिन । त्यो त्रासदी पुर्ण समय सम्झेर एकछिन टोलाएँ पनि। उसले गाउँको नयाँ खबरहरु सुनाएर सकेकै थिएन ।

निहाङसंग मिलेर के-के चैं गर्न बाकी थियो र गाउँमा। भदौको महिना भोलि कोदो रोप्ने पर्म थियो रामे काकाको। आज चौँथी थियो, काकाले मेलोमा हलोजुवा तयार पारेर राखेका रैछन, त्यो राती नै दुई जना मिलेर टाँकिको टुप्पोमा बाँधी दियौँ हलो जुवालाई, अर्को दिन बिहान बुडाले पाउन दुख पाए, सराप्न सरापे। पछि चाल पाएर झन्डैले नमारेका हामीलाई। बचपनमा गरेको उपद्रोहरु सम्झिदै गफ गर्दै थियौं। भुइँमा सुतेको साथी अघि घुर्न थालिसकेको थियो। उसलाई यताउता चलाएँ नघुरोस भनेर, हामी पनि कत्तिखेर निदायौँ पत्तै भएन ।
भोलिपल्ट पनि निहाङले नै खाना तयार पार्योल बेलैमा, खाना खाईवरी साथी पनि लाग्यो आफ्नो कामतिर, म अफिसमा सानितिनो पेट पाल्ने काम गर्थे । हिजो किनेर ल्याएको जुत्ता,पाईण्ट सर्टमा ठाँटीएर काममा गएँ । आज अफिसमा केही न केही प्रतिक्रिया पाईन्छ भन्ने मानेको थिएँ । राजुले मेरो जुत्ताको तारिफ गर्न अघि भ्याईसकेको थियो तर घुमाउरो पाराले ।

राजु-मलाई देखाउन किन्या होलास हैन,
कति खर्च गरिस त जुत्तालाई?
म – सोह्र सय मात्र।

यो मैले तिरेको जुत्ताको मोल भन्दा दोब्बर थियो। तरपनी पत्यायो उसले। जाँदा खेरी मलाई नि भनेको भए के बिग्रीन्थ्यो? हाम्लाई त सौतेनी आमाको छोरै सम्झिन्छन यार मान्छेहरू । मैले जुत्ता किन्न जाँदैछु नभनेकोमा घोर असन्तुष्टि प्रकट गर्दैथियो राजु । भो-भो सान नदिए हुन्छ, हामी नि लाम्छम यस्ता जुत्ता त, खुट्टा पो नपाउनु, जुत्ता त कति कति, हेरिराख न ।
गौरव उता मलाई छेँड हान्दैथ्यो। बेहुला हुँदाको जुत्ता हो कि कसो हो भन्दैथिईन सायाबुङले पनि । मेरो जुत्ताकै कारण खैलाबैला नै मच्चियो एकछिन त अफिसमा, अब चैं म आफैलाई पनि बिश्वास भयो कि, जुत्ता साँच्चै गजबको नै किनेछु, त्यसपछि अफिस जाँदा मात्र हैन, अन्त कतै जाँदा पनि त्यही जुत्ता लगाउथेँ, बाटोमा मान्छेले जब म अनि मदेखी तलतिर पाउसम्म नजर पुर्यामउथे उनिहरु मेरै जुत्तालाई आँखा लाईरहेछन भन्ने मलाई भान हुन्थ्यो । म भित्रभित्रै गमक्क पर्थेँ, लाग्थ्यो जुत्तालाई नै हेर्दैछन । त्यसपछि न मैले त्यो जुत्तालाई छोडेँ न जुत्तालाले मलाई ।

उता निहाङ मलेसिया पुगेर बेला-बेला सम्झिन्थ्यो मलाई । मनकारी नै थियो बज्या । त्यहाँ त ढोका-ढोकामा सर्भिस दिन आउछन रेन्त इन्डोनेसियाका तरुनीहरु, त्यता नभुली है मुला, म जिस्काउदै सम्झाई टोपल्थेँ । त्यस्तो त घर नसम्झिनेले मात्र गर्छन दाई, त्यस्तो झमेलामा फस्दैन तपाइँको भाई, ढुक्क हुनुहोस भन्थ्यो । मैले अचानक गाउँ जानुपर्ने भयो, त्यो कुरा उसलाई पनि अवगत गराए, गाउँमा रहेकी आमालाई सन्चै भएको भएको खबर पुर्याभईदिनु भन्दैथ्यो, त्यति पनि भनिरहनुपर्छ त ? हुनपनी हो त्योबेलासम्म आज जस्तो सबैको हातमा मोबाइल थिएन, सन्चारको यत्रो बिकास भएकै थिएन । तँ धन्दा नमान तेरो सबै शुब-शुभ समाचार सबै काकिलाई भन्दिन्छु भने। त्यहाँ नभको जे पायो त्यही चैं नभन्नु नि, मलाई सम्झ्याउदै थियो ऊ । किनकी मेरो उत्पट्याङ उसलाई राम्रोसँग थाहा थियो। म एक हप्ताको लागि गाउँ निस्केँ खाल्डोबाट ।

सकुशल घर पुगेँ । घर पुगेर आफ्नो बारी सबै गह्रा-गह्रा घुमे हेरेँ । सबै बारिको एक-एक गह्रामा हलोको सियो कुदाको छु मैले अनि कहाँ हलो अड्किने ढुङ्गा छ या रुखको जरा छ, भन्ने पनि मलाई सबै याद छ , पहिला स-साना देखिने ढुङ्गाहरु ठुला देखिन थालेछन भूक्षयको कारणले । करेसा वारि पुग्छु बाउको परिश्रमले सप्रीएका तरकारी देखेर मन उसै लोभिन्छ । काठमाडौमा तरकारीको अभाव सम्झेर। गाई भैसि भएको गोठ पुग्छु, पहिला सुकेको पैनेटीको लौरोले चुटी-चुटी छेउ भित्ता जोतेको कथुरे र सिदुरे गोरुलेलाई नचिने झैं गर्छन। उता दुध दिने गुजराती भैंसि पनि आँखा तर्छे मलाई । सायद म बिरानो भएर होला। गोठ भित्र भएका पाडा-बाछा सुम्सुम्याउछु । बुरुक- बुरुक उफ्रीन्छन् ।

घर बसेको दुई/चार दिन हुँदो हो, ससुरालबाट बोलाहट हुन्छ । ससुराली पुग्दा मलाई मान-सम्मान अनि इज्जत गरियो तर मलाई त्यहाँ सम्म पुग्नलाई साथ दिने, मेरो हाईट र मेरो इज्जत बढाउने जुत्ताले भने बाहिरै खाटमुनी चित्त बुझाउनु पर्योस । मलाई कता-कता बेमज्जा भैराथ्यो । ससुरालीबाट बिदा हुनेबेला सालोले त्यो जुत्ता आफुलाई छोडीजान आग्रह गर्दैथिए, भन्दैथिए, म गोठालो घाँस गर्दा हल्लाउँछु । सालोको कुरा सुने, मन कटक्क खायो, जुत्ता निक्कै पुरानो भएछ, यस्तो थोत्रो जुत्ता नलाउनुस तपाई, बरु अर्कोपल्ट नयाँ नै ल्याईदिम्ला, यसै गरि मनाए सालोलाई । एकहप्ताको बसाई रमाइलो भयो। काठमाडौ फिरे म । फेरि त्यही नुनको सोझोमा तल्लीन भएँ फेरि ।

एकदिन साथिहरुले दक्षिणकाली मन्दिर जाने योजना बनाए। सुनेको थिएँ निकै रमणीय ठाउँ छ भनेर, नाइँ भन्न सकिन । मन्दिर नजिक पुग्दा, बाहिर अलि परै बोर्डमा ठुलो अक्षरले “कृपया जुत्ता चप्पल बाहिर” लेखिएको थियो । फेरि यहाँ पनि मन खिन्न भयो। यहाँ पनि मेरो जुत्ताले ठुलो अपहेलना सहनु पर्योत । मनभित्रसम्म दुख्यो ।

मन्दिर भित्र गएर पूजा गरेर मन प्रसन्न होस भन्ने चाहन्थे तर त्यस्तो जस्तो भएन । म रुम फिरेँ । अर्कना दिन अफिस गएँ । मुखामुख गर्दै सबै हाँस्दै थिए, त्यो बेला मैले अड्कल काट्न सकिन, साथिहरु किन हाँस्दैछन भनेर । मेरो जुत्ताको हालत देखेर पो ती त खिसी गर्दै हास्दोरहेछन, पछि पो चाल पाएँ। मेरो जुत्ताको त्यो दयनीय अवस्था देखेर त्यसलाई हाँसिमजाकको एक खुराक नै बनाए तीनिहरुले, यो क्रम दोहोरीरह्यो । त्यही थोत्रो माल कत्ति हल्लाको यार अब त पालो दे त्यसलाई नि यार, भन्दैथियो पारुहाङ । अँ यार मार्केटमा कस्ता कस्ता लेटेष्ट माल आईसक्यो अझै बाउको पालाकै जुत्ता भिरिराख अझै पनि, बरु भन्छस भने किन्दिम्ला पनि हाहाहा थप्यो साङ्केनहाङले । साँच्चै नयाँ जुत्ता नलिएको पनि अब त दुई वर्ष भईसकेको थियो, नभनुन पनि कसरी त। त्यसपछि बाहिर कतै हिड्दा पनि कसैले मेरो पाउतिर नजर लाईहाले मेरै थोत्रो जुत्तालाई हेर्दैछकी भन्ने लाग्न थाल्यो । मान्छेको स्तर जान्नुछ भने उसले लगाएको जुत्ताबाट थाहा हुन्छ भन्ने भनाईले पटकपटक दिमागमा रिनिफिनी हुनेगरी फन्का मार्थ्यो ।

एकदिन म आफै निकै भाबुक बने मैले लगाएको जुत्ताको हबिगत देखेर। आखिर मैले नै त हो यो हालतमा ल्याईपुर्या को । फेरि विकल्प पनि थिएन । सोचेँ दुईवर्षसम्म मलाई अनवरत साथ दिने कोहि थियो भने त्यो जुत्ता सिवाय अरु कोहि हुनै सक्दैनथ्यो । मलाई कहाँ-कहाँ साथ दिएन यसले, मेरा उकाली-ओराली के घाम के पानी, के बर्खा के हिउँद । धुलो,हिलो मैलो म जहाँ-जहाँ गएँ मेरो साथ कोहि थियो भने, यहि जुत्ता थियो र यी सबबाट सुरक्षा दिने पनि यहि जुत्ता नै थियो । यसो सोचेँ मान्छे र जुत्तामा त्यतिधेरै फरक चैं पाईन । फरक के फरक पाएँ भने, जुत्ताबाट स्वार्थ मान्छेले लुटिदो रहेछ र मान्छेबाट स्वार्थ मान्छेले नै यत्ती बस ।

जुत्ताले जत्ती मान्छेले आफ्नो कर्तव्य निभाउन सक्छ या सकदैन? सकेता पनि त्यहाँ स्वार्थको निकै गहिरो खाडल हुन्छ भन्ने बोध हुन्छ मलाई । आजसम्म कति जोर जुत्ता फटायो मेरो खुट्टाले कुनै गिन्ती छैन, तर ती जुत्ताले केही मागेनन मसंग । जुत्ता जस्तै बन्न सक्ला त मान्छे? यहि कुरा बोध भयो। यत्तिकैमा अचानक निहाङको फोन आयो मलेसियाबाट । एक हप्ता भित्र नेपाल आईपुग्ने कुरा सुनायो उसले । के ल्याई दिउ त ? तँ सकुशल आईपुग्न केही पर्दैन, यहि किनौला बरु दाम चैं जत्ती ल्याउछस लेन यसै भने, तर उसले मानेन केही न केही नल्याई नछाड्ने भएसि सोचे। तँ मलेसिया जानेबेला किनेको जुत्ता कामै नलाग्ने भयो, एक जोर जुत्ता ल्याईदेन त भने ।

मेरो मुखमा त्यो वाक्यांश आउनु मेरो वास्तविकताको पराकाष्ठा थियो । उ गलल्ल हाँस्यो, अझैसम्म त्यही जुत्ता हल्लाउँदै हो तपाइँ ? उडायो मलाई त्यस्ले । तँ पो बिदेश छस र केटा, मेरो धरातल त उहीँ होनि । तेरै औकातको तराजुमा झोख्छस मुला ? यसै भने। ल ल भयो, यो रामायण महाभारत पछि सुनौला भन्दै उसले ब्राण्ड सोध्दै थियो, मलाई ब्राण्ड चाहिदैन जस्तो भए नि हुन्छ तर टिक्न पर्योभ भन्दिएँ । अँ म डक्टर मार्टिनको जुत्ता ल्याईदिन्छु। तपाईलाई पक्कै मनपर्नेछ मैले पनि त्यही लाउदैछु । यसो सोचेँ, डक्टर सक्टरको कुनै जुत्ता हो भने पर्दैन भो नले, के अरुको सेकेन्ड हेण्ड जुत्ता लाउने देखिस, मुला! म कड्किएँ ।

मेरो कुरा सुनेर उ गलल्ल हाँस्यो फेरि । मानौ म चुट्किला भन्दैथिएँ। डक्टर मार्टिन भनेको जुत्ताको लागि विश्वविख्यात ब्रान्ड हो जेठा दाई, त्यस्तो चानचुने ब्राण्ड हैन के। स्पष्ट पार्योज उसले । गाउँमा हुँदा मुस्किलले दुईजोर गोल्ड स्टार जुत्ता फटाएको केटा आज नामै नसुनेको डक्टर मार्टिनको जुत्ता लाउने भएछ भनेर मनमनै दंग भएँ ।

२६ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको