भदौ २७, काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेकाे एक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठक दिउँसोका लागि सारिएको हो ।
होटल हिमालयमा अायाेजित नेपालमा ‘रोड एन्ड बेल्ट’ काे अवसरसम्बन्धी अन्तरक्रिया उद्घाटन गर्न प्रधानमन्त्री ओली जानुपर्ने भएकाले बैठक दिउँसोलाई सारिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
दिउँसो ३ बजे प्रधानमन्त्री बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टीको तल्ला कमिटी एकता र सरकारको काम–कारबाहीबारे छलफल हुने नेताहरूले बताएका छन् ।
केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन । जसले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योल सिर्जना भएको छ।
आज बस्ने बैठकले यस विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । साथै सरकारका काम-कारबाहीको समीक्षा पनि हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस