सम्मानिय पुर्ब प्रधानमन्त्री प्रचण्ड ज्यु अभिवादन । माओवादी आन्दोलन र प्रचण्डपथकाे क्रान्तिकारी पाठशाला अनुसार खुल्लापत्र सुरु गर्न चाहे ।
माओवादी आन्दोलन सामान्य रूपमा उदायको होइन । तानाशाह र दलाल पुजीवादीले गरिब, निमुखा माथि गरिएको निकै कठोर अत्याचार पछि तपाईंको निकै लामो मेहनत र छलफल पछि तपाईंहरुले घोषणा गरेको माओवादी आन्दोलनमा लाखौं जनताका आशा र अपेक्षाहरू थिए । राष्ट्र स्वाधीन र जनता स्वाभिमानी बनाउने एजेन्डा थियो ।
निकै ठुलो उथलपुथल पनि भयो । करोडौं जनताले आन्दोलन संगै मतदान बाट समेत अनुमोदित गरिसकेपछि पुरानो सरकारको कर्मचारी जस्तै गरि सरकार सन्चालन भै रहदा, आज लाखौँ नेपाली जनता दलाल पुजीवादीका चम्चाहरुको अत्याचार सहेर बस्नु परेको छ । हिजो राजाका पालामा दुई चार जना दलाल र दलालका चम्चाहरु हुँदा त सहि नसक्नु थियो भने, अहिले त झन् दलालीकरणले हदनै नाघेको छ, मजदुरहरुको पेटमा अनेकौं अत्याचार बर्साइ रहेका छन् । जब कि अहिले तपाइले युद्द लड्दा राज्य सत्ता कब्जा गर्न सपना बुन्ने तपाई कै पार्टी सरकारको नेतृत्व गरिरहेको छ ।
आदरणीय कमरेड ! तपाईंहरुको जनवादी शिक्षाबाट आएका कार्यकर्ताहरुलाई जनताले निकै गहिरो प्रस्न गरिरहेका छन् । तपाईंहरुको नेताहरुले के परिवर्तन गर्नु भयो? कुन नेताको लागी क्रान्ति भएको थियो ?
क्रान्ति परिवर्तनका लागि नभई प्रचण्ड, बाबुराम ज्युहरु प्रधानमन्त्री हुने चालमा युद्द भएको जस्तै भयो ! क्रान्ति के सत्तामा चढ्ने भर्याङ मात्र हो ?
शुन्य परिवर्तन हाम्रो अगाडी ज्युँदै रहदा, जनताले यस्तै अनेक प्रश्नको उत्तर खोजिरहेका छन् । यदि त्यसो थिएन भने तपाईले सपनामा बाँडेको जस्तै जनसत्ता खै त ? जनताको जनअदालत कहाँ छ त ?
जनयुद्धको बेला जनमुक्ति सेना लगाएर कब्जा गरिएको दलाल पुजीवादीहरुको जमिन, तर शान्ति सम्झौताको नाममा पुलिस प्रयोग गरेर फिर्ता किन गरियो ? यस्तै अनुत्तरित प्रश्नहरुको जवाफ जनताले खोजिरहेका छन् । गरिब र निमुखा माथि दिनदहाडै अत्याचारको पर्खाल निर्माण भएको छ । कल कारखाना, उधोगहरुमा निकै ठुलो दलालीकरण छ, घुसखोर र मजदुर माथि निकै ठुलो अभाव र धम्की समेत प्रयोग गरि अत्याचार लादिएको छ । महङ्गिले निकै ठुलो मारमा गरिब परेका छन् ।एकातिर करको मार छ ! आर्को तिर महङ्गिले खानै गाह्रो छ ।
अब छातीमा हात राखेर भन्नुस, तपाईले युद्द लडाउदा उठाएको विभेदको मुद्दा अझै किन ज्युदै छ कामरेड ? यस्तै विभेद र बेथितिको लागि १७ हजार शहिदले ब्यार्थै रगत बगाएका हुन् त ? केवल तपाइको कुर्सिको लागि १७ हजार योद्दाको रगत बगेको थियो त ?
तपाईहरुले क्रान्ति सम्पन्न भयो भनेर भनिरहदा, जनताले अहिले पनि भोगिरहेको विभेद, बेथिति र अत्याचारले बताउदै छ कि, तपाईले भ्रमको खेति गरेर लज्जास्पद हर्कतको धज्जी उडाई रहनु भएको छ, नपत्याए एक पटक गरिवको झुपडीलाई फर्केर हेर्नुस त कामरेड ?
अनि तपाईको बहादुरीको इतिहासलाई फर्केर हेर्नुस, जहाँ सर्बोच्च कमान्डर प्रचण्डको एक कासन भित्र हजारौं तानाशाही पर्खाल तोड्न साहस गर्ने बहादुर कार्यकर्ताहरु, अहिले कुन हालमा छन ? उनीहरुको जिन्दगीको बारे कत्ति पनि दयामाया लाग्दैन ?
गरिबको झुपडीमा बसेर खाएको सातु मकै र माया तपाईहरुको दिमागबाट ‘डिलिट’ गरि सक्नु भए कै हो त ? उत्पीडित जनताको झुपडीमा गाँस, बास, कपास सगै सर्वहारा वर्गको हेडक्वार्टर जोगाउन दुस्मन आउने चौबाटो भरि बङकर निर्माण गरेर दिन रात अहोरात्र डिउटी गरि तपाईंको एक मुठी प्राण बचाएर सिहदरवार पुर्याई दिने झुपडीका मान्छेहरुको माया लाग्दैन ? जसले त्यो प्रचण्डको रक्षार्थ आफ्नो जीवन अर्पण सम्म गरे ।
कामरेड ! झुपडीको आकार फेरिदिने तपाईको बचनबद्धतामा बिश्वास गरेर सिङ्गो देशका गरिवहरुले तपाइको युद्द्लाई समर्थन गरेका हुन् । तर आज कुर्सि र सत्ताको लोभमा गरिव जनताको मुक्ति मार्ग क्रान्ति नै चटक भुलिदिनु भयो !
संसार यति निर्दयी छ, त्यहि संसारमा प्रचण्ड पनि आज निर्दयी बन्यो, विश्वास गर्नै गाह्रो भयो ।
जनताले घरमा नखाई नखाई राखेको कुखुरा मारेर मासु खुवाए, साहुको पाउ मोलेर किनेको उधारो चामलको भात खुवाए। जनताले तपाईंहरुप्रति असीम विश्वास र माया र आसा अपेक्षा अनगिन्ती राखे कै हुन् । त्यतिबेला तपाईं सबै भन्दा बिरोध दलाल पुजिवादको नै गर्नु हुन्थ्यो । गरिबको दुश्मनको बिरुद्द बोलिदिनु हुन्थ्यो । किताबमा छापिएको तपाईंहरुको फोटो देखेर मनमा ठूलै युद्ध जितेसरहको खुसियाली हुन्थ्यो । तर त्यो प्रचण्ड आज पुजिबादको कितावको गृहपृष्ठमा दलाली भनेर आज देख्दा थक-थक लाग्छ ।
कमरेड, हामीले प्रचण्ड पथबाट पाएको ईमान नैतिकता र जनवाद भनेको गरिब मजदुरहरुको निस्वार्थ सेवा हुन्छ भनेर बुझेका हौ । युद्द पछी पनि हाम्रो कमान्डर प्रचन्डलाई त्यसरी नै बुझेउ र शान्ति संझौताबाट पनि आफ्ना प्रिय सिपाहीहरुलाई धोखा हुँदैन, अर्थात हाम्रो भबिस्य प्रचण्डले धोका दिंदैनन् भन्नेमा विश्वस्त थियौ । तर शान्ति सम्झौताबाट तपाईंहरुले संसदीय व्यवस्थाको बाटो हुँदै, त्यहीबाट सुरु भएको टुटफुट र त्यहि बाट सुरु भयो ठुलो धोका, अनि भए जीवन मरणमा होमिएका योद्दहरु बिचल्ली ।
सबै भन्दा पहिला तपाईको गुरु अर्थात सिङ्गो माओवादी आन्दोलनका अभिभावक कामरेड किरणले फरक मत सहित सर्वहारा बर्गको बिचारबाट नभाग्ने मत सहित क्रान्तिकारी पार्टीको निर्माण गर्नु भयो । उहाँ संगै तपाईंले आफ्नो उत्तराधिकारी देख्नु भएको कुसल कमान्डर विप्लवले पनि क्रान्तिकारी पार्टी आवस्यक रहेको दाबी सहित क्रान्तिकारी पार्टी निर्माणको भुमिका निभाउनु भयो ।
अब भन्नुस प्रचण्ड कामरेड, आफुले त बाटो बिराउनु भयो नै तर तपाईले क्रान्ति गर्न सिकाएका तिनै कमान्डरले आज सुरुगरेको क्रान्ति तपाईंको दृष्टिमा अपराध हो ?
जसले अर्बौँ अर्ब भ्रष्टाचार गरेका छन्, ती अपराधी नहुने ? जसले देशको प्राकृतिक स्रोतसाधन विदेशीलाई कौडीको मोलमा बेचेका छन् ती अपराधी नहुने ? अनि जनताको एजेन्डा बोक्नेहरु कसरी अपराधी भए । जनताको जिन्दगीमाथि खेलबाड गर्ने ठेकेदारहरु अपराधी नहुने ? अनि त्यसको विरोध गर्ने पार्टी र तिनका नेताकार्यकर्ताहरू अपराधी कसरी हुन्छन् ?
यो इतिहासको ‘भद्दा मजाक’ हो वा ‘प्रचण्ड पथको दुःखान्त अवसान ?
चुनवाङ बैठक देखी पालुङटार सम्म आउँदा भनेको विद्रोह, एकता र रूपान्तरणको एजेन्डा कार्यनयन गर्ने विप्लव र प्रकान्ड उमा भुजेल ओम प्रकाश पुन लगाएत सो पार्टी प्रती गरिको दुव्र्यवहार तपाईंको नेतृत्वमा चुनवाङ र पालुङटार बाट पारित गरिएको दस्तावेज विरुद्ध होइन र?
बादल कमरेड, जुन सत्ताको गृहमन्त्री हुनुहुन्छ हिजो त्यही सत्ता विरुद्ध शान्ति बाटिकामा घनले मत पेटिका फोड्ने कमान्डर तपाई हो । जनयुद्धले उठाएको एजेन्डा बोक्दा तपाईंहरुले त गर्व पो गर्नु पर्ने होनि कमरेड । चारै तिर अत्याचारीहरुले राज गरिरहेको समयमा ! परिवर्तनको लक्ष्य तिर हुर्किरहेको बिरुवा ! प्रचण्ड कमरेडले थवाङ र बादल कमरेडले शान्तिबाटिका बाट घोषण गरेको दस्तावेज कार्यनयन गर्ने विरुद्ध आज तपाईहरुको अप्रेसन किन ?
हिजो तपाईंहरुले गरेको क्रान्ति ठिक हुने । त्यही पाठ तपाईंहरूले नै सिकाउनुभएको क्रान्ति अरुले गर्दा कसरी अपराध मानियो?
आज लड्न सिकाउने सरकार तिर अनि लक्ष्यमा पुग्न लड्नेहरु जेल तिर छन् । समयको त्यो ‘फर्ज’ निर्बाह गर्न तपाईंहरू संसदीय दलाल व्यबस्थाको कित्तामा र अनि क्रान्ति चाहनेहरु विपरित धुर्वमा उभिनुपर्ने दुखान्त समय आयो। यो समयले के माग गर्दै छ भने हिजोका खुंखार क्रान्तिकारीहरु बीच नै मुख्य दुश्मन बनेर आमान्य सामान्य हुने दिन आउदै गर्नु दुखद हो।
अध्यक्ष कमरेड प्रचण्ड ज्यु,
यतिबेला धेरै नै अन्जान दुस्मन झैँ अध्यारो रातमा गरिएको छाम छाम छुम छुम निकै नै पिडादाय छ । कम्युनिष्ट भनेको जनताको चाहाना बमोजिम सत्यको बाटो कहिले नछाड्ने बैज्ञानिक बिचार भनिन्छ । जेलनेल र यातानाको पर्खाल भित्र समेत कम्युनिष्टहरु झुक्दैन । बरु यातना सहन तयार हुन्छन् भन्ने पाठ हजुरले नै सिकाउनु भएको हो । क्रान्ति भनेको विप्लव र प्रकान्डको चाहना अनुसार हुनेपनी होइन । क्रान्ति राज्य सत्ताको बेथितिले जन्माउने हो । जसको उधारण जनयुद्धको कमान्डर हिसाबले त्यसको पाठसाला हजुर नै हो ।
क्रान्तिले धेरै ठुलो उत्तर चढाब र विभिन्न कठिन स्थितिको सामना गर्नुपर्छ तर क्रान्तिकारीहरु झुक्न सक्दैन भन्ने हेक्का हजुरलाई राम्रो संग थाहा छ ।अहिले विकास भएको दलाल सप्लायर पुजिवादले निम्ताएको संकट नै क्रान्तिकारी संघर्ष गर्न सक्ने शक्ति बन्नु हो। हाम्रो चहाना सबै तिर छाएको उत्पिड्न, अत्याचार र नहोस् भन्ने नै हो । तर ति अत्याचारबाट उत्पन भएको चेतनाको ज्वाला क्रान्तिको पाठसाला प्रचण्डपथबाट लिएको अधिकार हो । तसर्थ प्रचण्डपथबाट प्राप्त गरेको जनवादी राज्य कार्यन्वयन गर्न विप्लवले चालेको कदम प्रति यतिबेला सबैको ध्यान केन्द्रित भएको छ ।
अहिले सबै तिर दलाल पाल्ने र दलालबाट कमिसनखाने रैथानेहरु मार्फत गरिब र मजदुर लगाएत सबै तिर अन्यायको निकै कष्टकर अवस्था आएको बेला क्रान्तिकरि पार्टीको महत्त्व बढेर जानु स्वभाविक नै होला । हजारौं सहिद र हजारौं घाइतेको रगतबाट बैज्ञानिकिकरण भएको प्रचण्डपथ सर्वहारा बर्गको आधुनिक अाैजार हो । प्रचण्डपथ प्रयोग गर्दा जनवादी सभ्यता बोकेको योद्धा र कमान्डर त्यति पथ र सभ्यताको बाटो अपनाउनु भनेको दलाल पुजिवाद संकट तिर धकेल्ने पुजीवादी विरुद्ध प्रचण्डपथबाट विकास भएको क्रान्ति हो ।
हामीले धेरै कुराको माग गरेका होइनौं । जनयुद्ध बाट विकास भएको शान्तिसम्झौताको नाममा सिँहदवार भित्र रैथानेहरुको घेरा भित्र कैद भएको प्रचण्डपथ जनताको बिचमा खोजेका छौ । प्रजातन्त्र, मानवअधिकार संसदीय राज्य, बहुदलीय प्रतिस्पर्धा भित्र कहाँनिर न्याय, अधिकार र जनताको चाहना पुराभएको महसुस गराउन चाहेका छौ । हामी संग एउटा मात्र विकल्प छ, त्यो हो माक्र्सवाद, लेनिनवाद, माओवादबाट विकास भएको क्रान्ति प्रचण्डपथको बाटो तयार गर्ने र दलाल पुजीवादीहरुको दासत्वको अन्त्य गर्ने ।
हामीले जनयुद्धमा हजारौं कठिनाइ संग जोगाएको प्रचण्डपथ । लाखौं सर्वहारा बर्गले अधिकार पाउने बेलामा ! पुजीवादी रैथानेहरुले कालो कोट र सुबिधा सम्पन्न महल सिहदवारका रैथानेहरुले मात्र अधिकार पाएको महसुस भएको छ । संविधानमा समाजवाद र प्रजातन्त्र लेखेर अधिकार आउने भए सबै भन्दा प्रजातन्त्रको दुहाइ दिने काङ्ग्रेसले सबै भन्दा धेरै सरकार चलाएको इतिहास छ । त्यतिबेला त तपाईहरुले प्रजातन्त्र मान्नु भएन आखिर पहिला अहिले के फरक भएको छ ।
स्मरणीयहोस, मेरो यो पत्र सामान्य होला तर लाखौं जनताको चाहना लाखौं मान्छेको गास बास र न्याय समानताको लागि बोलिरहेको छ । हजुरको पाठशालाबाट अनेकौं सपना देखेका लाखौं युवा विदेशी बजारमा अनेकौं दुख संग रोजिरोटीको श्रमको मूल्य खोजिरहेको छ। शान्ति समृद्धि र न्याय प्रजातन्त्रको लोकपि्रय शब्दको प्रयोग गरेर, अन्याय अत्याचार गरिन्छ भन्ने जनताले नैसर्गिक अधिकारको आवाज बुलन्द गर्न पाउनु पर्छ ।
संविधानमा समाजवाद लेख्दैमा समाजवाद आउने भए जनयुद्ध भन्दा पहिला काङ्ग्रेसले पनि त समाजवाद परिभाषा दिएकै थियो । प्रचण्डपथबाट बुझेको क्रान्तिको परिभाषा जनतालाई अन्यायमा राख्ने शासक बर्ग विरुद्ध श्रमिक जनताले न्यायको लागी संघर्ष गरेर जनवादी राज्य व्यवस्था संचालन गर्ने महान बिचार हो भन्ने मैले बुझेको छु, तर क्रान्ति भनेको मन्त्री, सांसद, नातावाद, पदवाद, कालो कोट, हरियो कार, राजदवारको बदला सिँहदवार, पुजीको बदला दलालीकरण हो भनेर मैले कदापि मान्दैन । यसरि जनताले पनि स्वीकार गर्दैनन् ।
आदरणीय कमरेड, परिवर्तनको आसा र अपेक्षामा बसेको कयौं दिन महिना र बर्ष बितेका छन् । परिवर्तनको प्रतीक्षामा पुरानो रेडियो मात्र घन्किन्छ । रोल्पाका डाडा काडा गाउँ बस्तिमा सहिद बोल्छन् रे ‘मान्छे माथी यसरी किन यसरी मजाक गरिएको छ, परिवर्तनको अपेक्षा माथी निर्मम अत्याचार किन भएको छ’ ?
कामरेड, समय नहुदा नहुदै पनि १२ घण्टाको कामको थकाइलाई समेत प्रभानगरी तपाईंलाई पत्र लेख्न बाध्य भए । अनि प्रचण्डपथको बाटो देख्न चाहे, सोध्नखोजे, अनेकौं तरङ्ग पोख्न मन लाग्यो । केहि टाठा बाठालाई पुरा भएको क्रान्तिबारेमा जिज्ञासा् पोख्न चाहे । गरिब मजदुर किसानलाई परेको बिचल्ली बारे जानकारी गराउन मन लाग्यो । त्यसैले छोटो पत्र लेख्न बाध्य भए ।पत्रको अत्यमा छु कसैलाई मन्त्री र सांसद भएर क्रान्ति पुरा भएको लागेको होला । तर त्यो क्रान्ति सहित थियो तर आज मोडिएको तपाइको यात्रा आम सर्वहारा बर्गको हित अनुसार छैन ।
हिजो तपाईंले गरेको युद्ध ठिक भए भोलि अरुले गर्ने युद्ध पनि ठिक रहनेछ भन्ने तपाईंहरुको दस्तावेजमा दाखिला गरिएको भनाइ प्रती ईमानदार जाहेर गर्दै पत्रलाई बिट मार्न चाहन्छु ।….
(लेखक पुर्ब जनमुक्ति सेना हुन्)
प्रतिक्रिया दिनुहोस