सल्यान: ४ कराेड बजेट परेको बागचाैर-पातिहाल्न सडकखण्ड अलपत्र


साउन २७, सल्यान । करोडौं बजेट परेको सल्यान बागचौर–कोटमौला–पातिहाल्न सडकखण्ड अहिले हिलाम्य अवस्थामा छ ।

एक दशक पहिले नै खोलिएको बागचौर–कोटमौला–पातिहाल्न सडकखण्ड सधै बर्षायाममा हिलाम्य हुने र गाडीहरु नचल्ने अवस्थामा पुगेको हुन्छ । जहाँ कोटमौला पातिहाल्न लगाएत रोल्पासम्मका यात्रुहरु राप्ती राजमार्गको कालाखेत तथा बागचौरबाट हिडेर जाने गर्दछन् ।

रोल्पाको सुकिदह गाउँपालिका समेत पुग्ने उक्त सडक विस्तारको लागी बर्षेनी करोडौको बजेट सकियो तर अहिले सम्म सडको अवस्था उस्तै नाजुक रहेको छ ।

सुन्तलाको लागी पकेट क्षेत्र मानिने सल्यानको कोटमौला र स्याउ तथा आलुको लागी पकेट क्षेत्र मानिने रोल्पाको सुकिदह जाने यही बाटो पर्दछ । सडकको यस्तो अबस्थाले गर्दा अहिले बर्र्षाको समयमा यो क्षेत्रका किसानले उत्पादन गरेका कृर्षी जन्य वस्तुहरु बाहिर निकास गर्न कठिनाइ भएको छ । त्यस्तै बाहिरबाट खरिद गरेका दैनिक उपभोगीय सामानहरु बजारसम्म पुर्याउन पनि कठिनाइ भएको पातिहाल्नका व्यापारीहरु बताउछन् ।

नगरभित्रको अन्य सडक मर्मत सम्भार हुँदै गर्दा पनि मुख्य सडकको रुपमा देखिने कोटमौलाको सडक बर्षा याममा मर्मत हुन समेत सकेको छैन् । चुनावमा विकासका धेरै नारा घन्काउदै यही बाटो हिडेका नेताहरु अहिले सर्वसाधारण समेत हिड्न हम्मे हम्मे भइरहेको बेला कुन बाटो हिडिरहेका छन् भन्ने पत्तो छैन् । नगरको वडा नं. ८ र वडा नं. ९ गरी दुईवटा वडा रहेको यस क्षेत्रमा नेताको धेरै पहुँच हुँदा पनि बाटोको सुधार हुन सकेको छैन् ।

गएको बर्षमा कालोपत्रेका लागी साढे ३ करोडको बजेट परेको यो सडक अहिले अलपत्र अवस्थामा पुगेको छ । तत्कालिन संसद विकास कोषबाट थप बजेट राख्ने भन्दै पिच गर्न लागिएको तर ३ किलोमिटर मात्रै पिच गरेर अलपत्र परेको सो सडक समस्या समाधान समितीका अध्यक्ष धनेन्द्र विमल ओलीले पोष्टपाटीलाई बताएका छन् ।

पाँच बर्षीय योजना अन्तरगत यो सडक ५ बर्ष भित्र नै बागचौरबाट पातिहाल्न सम्म कालोपत्रे गर्ने भनिए पनि ठेकेदार कसको माध्यमबाट आएको र कसको माध्यमबाट गएको भन्नेबारे आफुलाइ कसैले थाहा नदिएको उनले बताए ।

त्यस्तै सोहि सडकको चौडा कटिङको लागी उतिखेर नै सडक डिभिजन कार्यालय घोराहीबाट ६० लाख छुट्याएको उनले बताए । यस कामको जिम्मा बाग्यश्वरी कन्ड्रक्सनले लिएको तर काम के कति भयो भनेर जानकारी नै नदिएर गएको ओलीले बताए ।

एकै समयमा सडकको लागी करिब ४ करोड रकम सकिदा पनि ३ किलोमिटर मात्रै सडक कालोपत्रे भएको र सडक समस्या समाधान समितीका अध्यक्ष आफुलाई बनाएर कामको बारेमा कुनै जानकारी नदिएर ठेकेदार फरार भएको ओलीले बताए ।

त्यस्तै शारदा खोलामा पुलको लागी त्यतिखेर नै योजना परि नाप जाँच समेत भए पनि अहिलेसम्म सम्बन्धीत निकायबाट पुलको कुनै चासो नभएको ओलीले बताए । त्यहि योजना सँगै परेका अन्य ठाउँका पुलहरु निर्माण भएर सुचारु भइसकेको तर यो ठाउँको अवस्था हेर्दा लाजमर्दाे भएको उनले बताएका छन ।

केन्द्रिय संसददेखि नगरप्रमुखसम्म कोटमौलाकै भएपनि आफ्नो क्षेत्रमा कुनै चासो नै नदिएर विकास हुन नसकेको उनको गुनासो रहेको छ ।

यता वडा नं. ९ का वडा अध्यक्ष मोहन चन्दले अहिले सडकको सर्भे भएको तर बजेट आए नआएको बारे आफुलाई केहि थाहा नभएको बताएका छन् । पोष्टपाटीसँग कुरा गर्दै उनले नेताको पहुँच केन्द्रसम्म नपुगेकाले यो सडकको स्थर उन्नती हुन नसकेको स्विकार गरेका छन् ।

उनले गत बर्ष नै नगरपालिकाले खरिबोट—बाफुखोला सडक खण्डलाई पहिलो प्राथामिकतामा राखेकोले बागचौर–कोटमौला–पातिहाल्न सडकखण्डको विकास हुन नसकेको बताएका छन् ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको