बुलबुल/पोष्टपाटी ।
हाम्रो भेट साप्ताहिक थियो । उस्ले मलाई बुलबुलको उपनाम दिएको थियो । सप्ताहको अन्तिम दिन उस्ले भन्यो, `बुलबुल मेरो लागि आज खाना पकाएर ल्याउनु है ।´
‘के पकाएर ल्याउँ ?’ मैले सोधेको थिएँ ।
उसले फुर्क्यायो `तिमी त मर्जिको मालिक हौ ।´
मैले भने `तिमिलाई अर्डर दिन पुर्ण अधिकार छ । आदेश देउ न, के खान मन छ ?´
‘अर्डर त होटलमा गरिन्छ । आदेश पनि नोकरलाई पो दिइन्छ । तिमी त मेरो मालिकनी हौ’… खिसिक्कै हास्दै भन्यो ।
उस्लाई लाग्थ्यो मैले खाना मीठो पकाउछु । मलाई थाहा थियो, खासमा उस्लाई खाना पकाउन आउदैन । खाना पकाउने भन्यो कि उस्लाई ज्वरो आइहाल्छ । मुढ चल्यो भने पकाउथ्यो । नत्र भने ड्राइ फुड वा फलफुलले काम चलाउछ ।
साच्चिकै तिमीले पकाएको खाना सधैं खाने हो भने मोटो हुन्थे कि ? यस्तै भन्थ्यो ! उसको ज्यान अलि दुब्लो छ तर लुरे भन्न नमिल्ने ।
उसलाई कान्छा भनेर बोलाउछु ! किचेनमा छिरेको वेला सधैं मेरो याद आउँछ भन्थ्यो । उसलाई मैले पकाएको खानाको कल्पनामा दुबेर घुटुक्कै थुक निल्नु र जिब्रो सल्बलाउनु बाहेक अरु बिकल्प छैन भन्थ्यो । गजवको मान्छे ।
बिहान पार्कमा मैले पकाएको भात खायौं । उस्ले मलाई ख्वाई दियो । अनि भन्यो `तिमि त खाना निकै मीठो पकाउछौ बुलबुल ।´ मलाई थाहा छ उसले फुर्काउदै छ । फुर्काएर गमक्क परिहाल्ने केटी पनि होइन । तर त्यस खानामा मायाको मिश्रण थियो । केही श्रम पनि मिलेको थियो । यति भए त यसै पनि मीठो लाग्छ । त्यसै पनि मीठो लाग्छ । भनौं, त्यो दिन मायाको खाना खायौं र प्रेमको परिकार बाँड्यौ ।
दिउँसो साथीहरुसंग `गेट टुगेदर´मा अल्झियौं । वेलुकी भने एकछिनको लागि पार्कहरुमा तहलिरह्यौं । पार्क नजिकैको एउटा रेस्टुरेन्टमा गएर थुक्पा खायौं । त्यहाँ पनि खानु र खुवाउनुको सिलसिला चलिहाल्यो । हाम्रो आफ्नै दुनियाँ थियो । आफ्नै संसार ।
आठ बज्यो । रात पर्न थाल्यो । मेरो बसाइँ शहर बाहिर थियो । केही टाढा । मलाई छोड्न रेलको अन्तिम स्टेशनसम्म आउथ्यो उ ! त्यो बेला सम्म रात छिप्पिसकेको हुन्थ्यो । कहिलेकाही मैले भन्थे, भो तिमिलाई अवेला हुन्छ म आफै जानसक्छु ।
रातको समयमा भएकाले मलाइ एक्लै पठाउने उसमा हिम्मत थिएन । भन्थ्यो तिम्रो जिवनको अन्तिम कालसम्म हरसम्भव रक्षा गर्छु भनेर कसम खाएको छु । जिस्क्याउदै भन्थ्यो म जीउँदो रहुन्जेल म एक्लै किन जान दिन्थे ? म मरेछु भने त्यो बेग्लै कुरा हो ।
शहरमा चल्ने रेलका डिब्बाहरुमा यात्रुहरु खचाखच भरिएका थिए भने रेलको प्लेटफर्ममा पनि यात्रुहरुको घुइँचो लागेको थियो । त्यो भिडमा दुईजना यात्रुहरु पनि थपिए । ती दुई यात्री म र कान्छा थियौं । मेरो सेतो सानो फुच्चे झोला उसले बोकेको थियो । त्यो दिन मात्रै होइन, सधैं मेरो सरसामानहरु उसले बोक्नै दिदैन, आफै बोक्छ । उस्लाई लाग्थ्यो कि उ हुँदासम्म मलाई कुनै दु:ख हुनुहुँदैन ।
मेरो संधै तारिफ गर्थ्यो, अनि भन्थ्यो हावाले उडाउला जस्तो मसिनो शारीरिक संरचना तिम्रो । जिस्किन्थ्यो `तिमिलाई हावाले उडाउला । गोजीमा दुई चार ढुंगाहरु बोक्ने गर्नु अलि तौल बढी हुन्छ ।´ मलाई फुच्ची भनेको चित्त बुझ्दैनथ्यो । ठुस्किहाल्थे । त्यो बेला झन उस्लाई बच्चा जस्तै माया गर्थ्यो, फकाउथ्यो । उस्लाई मेरो हाँसो मीठो लाग्थ्यो । अनि भन्थ्यो ज्यानमारा मुस्कान तिम्रो !
उसले मलाई अझैसम्म उमेर सोधेको छैन । कहिलेकाही आफुलाई बुढी भएँ भन्थे । उसलाई लाग्थ्यो कि म टिन एजको केटाकेटी हुँ । तव मलाई जिस्काउथ्यो । अनि हास्न मन लाग्थ्यो । म उसलाई सिधै तिमी भन्थे । हाकाहाकी । लाज र डर त तिम्रो डिस्टनेरीमा छैन कि क्या हो भन्थ्यो ।
`बुलबुल तिमि कहिले लजाउछौ ?´ उसले एकदिन सोधेको थियो । मैले उत्तर दिएको थिए `लजाउँछु नि । कसैले घरमा आएर बुवा आमासङ्ग मेरो हात माग्न आए, लजाएको जस्तो गर्नुपर्छ ।´ मैले जिस्केर जवाफ दिएको थिएँ ।
रेल आइपुग्यो । नछुट्टिने गरि हात समातेर रेल चड्यौ । चढिसकेपछी हामीलाई थाहा भयो कि हामी गलत ठाउँबाट चड्यौ । तब ओर्लिनको लागि म बाहिर आइसकेको थिएँ, बुलबुल भने रेल बाहिरै । हाम्रा हातहरु एक आपसमै जगडिएका थिए । रेलको ढोका बन्द भयो । हाम्रा हातहरु च्यापिए । अनि छुट्टिए ।
उ रेल भित्र अनि म रेल बाहिर । रेल अगाडी बढ्न थाल्यो । हेर्दाहेर्दै आँखावाट रेल संगै कान्छा ओझेल पर्यो । म उस्को ‘बुलबुल’ बाहिर अवाक भएँ ।
फसाद त्यतिखेर पर्यो जब मैले थाहा पाएँ कि हामी दुईका मोबाइलहरु उनिसङ्ग परे । कसरी सम्पर्क गर्नु ? उनको मोवाइल नम्वर मलाई याद थिएन । तर एउटा कुरा मेरो मोवाइल उ सङ्ग भएकाले केही राहत भने मिल्यो । मेरो मोवाइलमा कल गर्न सक्थ्यो ।
नजिकै दुईजना युवायुवती थिए । उनिहरुलाई अनुरोध गरे कि मैले उनिहरुको मोवाइलवाट कान्छालाई एक कल गरुँ । एक घण्टिमै फोन उठ्यो । मानौँ फोन आउँछ भनेर उठाउनलाई तम्तयार भएर बसेको रहेछ । मैले कान्छालाई भने, `अघिल्लो स्टेशनमा पर्खिनु म आउँदैछु ।´ कुरा क्लियर हुन नपाउदै फोन काटियो । मोबाइलमा ब्यालेन्स सकिएछ । दोस्रो रेलमा चढे ।
केही समयपछि दोस्रो स्टेशन आयो । त्यहाँ ओर्लिएँ । प्लेटफर्म बिलकुलै सुनसान थियो । उसलाई त्यहाँ देखिन । अब पो कहाँ जाउँ ? भारी फसाद पर्यो । मन आत्तियो ? उ कहाँ गयो होला ?
के गरौं के नगरौंको स्थितिमा अल्झिएर सहि गन्तब्य ठम्याउन नसकिरहेको स्थितिमा रेलको लिग बाहिरको सिसामा एउटा स्नायु गतिमा लिफ्ट हुँदै तलतिर आइरहेको झलक्क कान्छालाई देखे । त्यही औधी माया गर्ने केटो मेरो नजिक आयो र मलाई अङ्गाल्यो । मैले पनि उनलाई अङ्गाले । उसले मलाई छातीमा टाँस्यो । उनको अँगालोबाट सुगन्धित स्याम्फुको बासना आइरह्यो । बिस्तारै अङ्गालोवाट उन्मुक्ती भएपछी मेरो निधारमा मसिनो चुम्बन दियो । मेरा आँखावाट हर्षका आँसुहरु टिल्पिलाएका थिए । मायाका अगाढ साइनहरु झल्किए ।
पहिले पहिले उसले मलाई जिस्काउँदै मान्छेहरुको अगाडी किस गर्न खोज्थ्यो । तब मैले दुबै काध माथी उचाल्दै इन्कार गरिदिन्थे, अनि भन्थ्यो कति छुच्ची । तर यो पटक चाहिँ मलाई कुनै संकोच थिएन । सार्वजनिक स्थलमै उस्लाई अङ्गालेको थिए ।
जब फेरि हामी रेलमा चड्यौं तब उसले मेरा मसिना औंलाहरु खेलाउन थाल्यो, त्यसबेला उसले मेरो नाडीमा कालो दाग देखे । त्यो रेलको ढोकाले च्याप्दा लागेको दाग थियो । कति दुख्यो होला ? भन्दै उसले मेरो हातमा लागेको दाग मुसारिरहे ।
भोलि बिहान दस बजे मैले उसलाई फोन गरे । ठिक दस बजे फोन गरिहाल्ने एक किसिमको बानी परिसकेको थियो । उसको आलराम जस्तै थिएँ म । ह्वाट्स एपमा बोलाएँ ।
ह्वाट्स एपमा मैले तत्कालै भ्वाइस म्यासेज पठाई हाले कि `तिम्रो नम्वर कति सजिलो हो । मलाई त कण्ठस्त भइसक्यो ।´ थपे `मोवाइल हराउन सक्छ, डायरी च्यातिन सक्छ तर नम्वर दिमागमा सेभ गरे कहिलै हराउँदैन ।´
अब हामीलाई रेलले छुट्टाए पनि एक अर्का बीच नम्वर कण्ठस्त थियो । फिकर थिएन । कापिमा लेखेको अक्षर मेटिन सक्दथ्यो, मोवाइलमा सेभ गरेको नम्वर हराउन सक्दथ्यो । नहराउन र नगुमाउनुको लागि हामी नम्वर दिमागमा सेभ गर्यौं,
जो न मेटेर जान्छ न च्यातेर नै जान्छ । जिन्दगी एउटा रेलको यात्रा जस्तै हो, कहिले छुट्टिन्छ, कहिले भेट्टिन्छ । नछुट्टिनको लागि हामीसङ्ग एउटा नम्वरको रचना गरेका छौँ । त्यो हो प्रेम । जसलाई दुबैले मन र दिमागमा सेभ गरेर राखेका छौँ । जसलाई न मेटेर मेटिन्छ, न च्यातेर च्यातिन्छ । एउटा अनन्त नम्वर । एउटा अजम्वरी प्रेम ।
(कल्पनामा आधारित बुलबुलको प्रेम कथा ….!)
प्रतिक्रिया दिनुहोस