कमरेड बिर्सिएकै हो त ?


कमरेड ! बिर्सिएकै हो त ?
यदि हो भने
खोज्नु पर्ने भयो आज फेरि
हिजो च्यात्तिदा खेरी थन्क्याएका एकजोर जुत्ता
मैलिएको पसिना पुछेर राखेका ती थोत्रा कम्ब्याट
खिया लागेर म्याग्जिन निकालेका ती राइफल ?
शान्ति संझौताको नाममा बिसाइएका बारुद र ग्रीनेड?
कहाँ छन आज ?
शरीर भरी पोका पोका बमगोला बोकेका
नौ जवान ?

कमरेड ?
खोतल्नु छ फेरि ओडार ओडारमा
काला ड्रममा प्याक गरेर राखेका
युद्धका माइन्युट बुकहरु
खोल्सा खोल्सीमा खोस्रेर छिपाइएका मेसिनगन ?
कति पहिरोमा पुरिएका होलान
कति अबशेष समुद्री किनारमा बालुवाको बगरमा होलान?
कति कागजपत्र त बागमतीका फोहोर संग बगे
जब तिमी एकमुष्ट झोलामा बोकेर सिंहदरबार तिर प्रवेश गर्दै थियौं
कति दस्तावेज त त्यही भोज भतेर संग हात पुछेर डस्बिनमा पसे ।
कति दस्ताबेज काठमाडौका होटेलहरुमा उडुस बस्ने घर बने ।

जब कि सम्झौताको नाममा
जुनदिन बेचिएका थिए जनमुक्ति सेना
अयोग्यको बिल्ला भिराएर जबर्जस्ति हातबाट हतियार खोस्दाको क्षण कस्तो थियो होला ।
नचाहदा नचाहदै शरीरबाट कम्ब्याट खोसिएर सर्बाङ्ग नाङ्गो हुदा पीडा कस्तो थियो होला
रातारात घेराबन्दी गरेर ब्यारेकबाट खाली हात फर्काउदाको क्षण कस्तो थियो होला ।

कमरेड
आज फेरि खोज्नु पर्ने भयो तिनै
गोलीका छर्रासंग लडबडिएका
घायल योद्धाका झुपडीमा पुगेर

आँखाको ज्योति गुमाएर
छातिमा प्रचण्डपथको पम्प्लेट टाँसेर
बालुवाटार र सिंहदरबार सोधिरहेका
युद्धका कमान्डर कहाँ

अझै पनि आतुर छन भेट्नलाई
न्यास्रो अनुहारमा
आँखाभरी आँसु बोकेर
युद्ध संग्राहलयमा थन्किएका
राइफल संग दिन कटाउदै गरेका केही योद्धा
फर्किन तयार छन
खाडिको चरा खस्ने घाम संग
बालुवामा एकछाक खुशी खोजिरहेका केही युवा ?

कमरेड
भेटिने छन अबस्य पनि
जहाँ छुटेका छन कयौं योजनाका फाइल
कयौं चुन्बाङका सेल्टर र
युद्ध संग्रहालयहरुमा
खोज्नु पर्यो फेरि हिजोका स साना गोरेटोहरु
जे जति छुटेका थिए ।
मुलबाटो सम्म पुग्न नपाउदै तुहिएका रंगिन सपनाहरु

कमरेड
महत्वाकांक्षी सोचले
खराउको भरमा नाइल तर्न खोज्ने सपनाले गर्दा
केही योजना पत्रहरु डोल्फिनको छाक बन्न पुगेको हो
केही दस्तावेजहरु
आहाराको खोजिमा र्याल काढिरहेको गोहिको पेटमा भरियो ।
बजारको खुद्रा भाउमा बेचिने तराजुमा सहिद जस्तो मुल्यवानलाई तुलना गरियो ।
ठिङ्ग उभिएको शालिक र
सहिदहरुको चिहानमा बनमाराले जरा गाड्यो
गुराँसको थुङ्गा माथि देखेको सपना केबल सपना मात्र भयो ।

त्यसैले कमरेड ?
खोज्नै पर्ने भयो फेरि
अयोग्य मिरा राइहरु कहि न कहिबाट संसार जितिरहेका छन ।
अब त योग्यको सर्टिफिकेट दिलाउन सक्छौ नि हैन ?

२६ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको