निर्मला हत्या प्रकरण: दिलिप विष्टसँगै बम दिदीबहिनी पनि रिहा


भदौ २६, कञ्चनपुर । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट रिहा भएका छन् ।

निर्मलाको भेजाइनल स्वाब (योनीमार्ग) मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि जिल्ला अदालतले मंगलबार विष्टलाई रिहा गरेको हो ।

विधि–विज्ञान प्रयोगशालाले दिएको रिपोर्ट अनुसार विष्टको डीएनए फरक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ । विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनलाई अभिभावकको जिम्मा लगाउन अनुमति दिएको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिए ।

यता, निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् । सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको छ भने रोशनीलाई बिनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एकमात्र अभियुक्त भन्दै भदौ ४ गते पत्रकार सम्मलेन गरी भिमदत्त नगरपालिका -१९, का स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

विष्टका आफन्त र स्थानीयले उनी मानसिक रुपमा अस्वस्थ रहेको बताएपछि सरकारी वकिलको कार्यालयले उनको स्वास्थ अवस्था जाँच र डीएनए परीक्षणका लागि काडमाडाैं पठाएको थियो ।

स्वास्थ्य परीक्षणपछि गएको शुक्रबार महेन्द्रनगर ल्याइएको विष्टलाई थप अनुन्धानका लागि भन्दै जिल्ला अदालत ५ दिनको म्याद थप गरेको थियो । विष्टको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा रहेको डीएनएसँग नमिलेपछि उनलाई अभिभावकको जिम्मा लिगाइएको छ ।

यस्तै, बम दिदीबहिनीलाई पनि हिरासतमुक्त गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ । दिदी बबितालाई तीस हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न आदेश भएको जिल्ला सरकारी वकिल भट्टले जानकारी दिए ।

२६ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको