भदौ २६, काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ ।
सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।
तिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ । तर नेविसंघ महाधिवेशन भने कात्तिक १६ देखि १८ गतेसम्म गर्ने तय गरिएको छ । त्यसैले कतिपयले महाधिवेशन सर्ने आशंका गरेका छन् । तर, अध्यक्ष महर भने महाधिवेशन कुनै पनि हालतमा नसर्ने दाबी गर्छन् ।
महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।
त्यसपछि केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्नेछन् । अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार हुन्छ ।महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ ।
उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने छ । त्यसपछि १६ गते महाधिवेशनको उदघाटन गर्ने र १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका बनाइएको अध्यक्ष महरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस