साउन २६, रोल्पा । सुन्दरता मानिसकलाई सबैभन्दा बढी मन पर्ने कुरा हो । सुन्दरताकै आधारमा हामी राम्रो र नराम्रो छुट्याउने गर्छौं । प्राकृतिक सुन्दरता हेर्न मानिस टाढाटाढा जाने गर्दछन् । नेपालको प्राकृतिक सुन्दरता हेर्न सात समुद्रपारिबाट बिदेशी पर्यटक नेपाल आउने गर्दछन् । सबै ठाउँ प्राकृतिकरुपमा सुन्दर हुँदैनन् ।
अझ नेपालमा कयौं यस्ता ठाउँ पनि छन्, जो प्राकृतिकरुपमा आफैमा सुन्दर छन्, त्यसमा मानिसको सिर्जनाले थप सुन्दरता थपिएको छ । त्यहीमध्येको एउटा गाउँ हो– रोल्पाको जिनावाङ, जो प्राकृतिक आधारमा आफैमा सुन्दर छ भने यहाँका बासिन्दाले गरेको स्याउ खेतीका कारण थप मनमोहक बनेको छ ।
पश्चिम रोल्पामा पर्ने जिनावाङ सुकिदह ३ मा रहेको छ । साबिकका जिनाबाङ, राँक, पाखापानी र ओत गाबिस मिलाएर पहिले सुकिदह थियो, अहिले गंगादेव गाउँपालिकामा फेरिएको छ । दाङ जिल्लाको छिमेकी जिल्ला हो रोल्पा । दाङको छिमेकी जिल्ला भए पनि सल्यानको बाटो भएर यहाँ पुग्नुपर्ने बाध्यता छ ।
दाङबाट सिधै जान सडक जाने भए पनि भर्खरै खनेको कच्ची बाटोमा गाडी चल्न संभव छैन । राप्ती लोकमार्गको बागचौरदेखि ३ किलोमिटर कालोपत्रे र १० किलोमिटर कच्ची सल्यानको भूभाग हिंडेपछि रोल्पाको सुकिदह उर्फ गंगादेव गाउँपालिका सुरु हुन्छ । सल्यानको सिमानादेखि ५ किलोमिटर कच्ची सडक भएर पुग्न सकिन्छ स्याउ बगान मनिमारे गाउँ ।
यहाँको ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् भने अन्य बैदेशिक रोजगारी र अन्य पेशा ब्यवसायमा छन् । कृषिमा लागेको जनसंख्यामध्ये ठूलो हिस्साले स्याउ खेती गरिरहेको छ । नेपालभित्रै कहाँ स्याउ खेती हुन्छ भनेर कसैले सोध्यो भने धेरैले जुम्ला, मुस्ताङ आदिको नाम लिन्छन् तर रोल्पामै यति धेरै स्याउ खेती हुन्छ भन्ने थोरैलाई मात्र थाहा छ । जिनावाङमा गाउँ नै ढाकिने गरी स्याउ खेती भइरहेको छ । बिडम्बना, न यसको उचित प्रचारप्रसार छ, न यहाँको स्याउ खेती प्रबर्धनमा सरकारको ध्यान पुगेको छ ।
फलफूलमा प्रख्यात मानिने स्याउ नेपाली बजारमा प्रशस्त बिक्री हुने गर्दछ । तर, स्याउ बजारको अधिकांश हिस्सा भारत र चीनले धानेको छ । यो गाउँ अर्गानिक स्याउ तथा तकारी उत्पादनको पकेट क्षेत्र हो । यस वडाको बडाढुंगा, मनिमारे, झ्याम, नाउला, नाउली, मंगरा, जलेखर्क, बडामेला, सिस्नेगैरा, छेलोफाल्ने, कुहेपानी स्याउको पकेट क्षेत्र मानिन्छ । यहाँ लाखौं बुटामा लटरम्म स्याउ फलेको छ ।
स्थानीय अगुवा किसान रामबहादुर खत्रीका अनुसार यो गाउँमा मात्रै झण्डै दुइ लाख बुटा स्याउ छन् । गाउँका चार सय किसानले स्याउ लगाएका छन्, कम्तीमा तीन सयदेखि बढीमा एक हजार बुटासम्म स्याउ हरेक किसानले लगाएका छन् । यहाँका किसानले पाँच देखि एक सय क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन् ।
यो बर्ष मात्रै पचास गाडी स्याउ बाहिरिने किसानको विश्वास छ । त्यसो त बर्षेनी स्याउ उत्पादन क्षेत्र विस्तार भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना स्याउ पकेट क्षेत्र जिनावाङका संयोजकसमेत रहेका खत्रीले यो बर्ष परियोजनामार्फत स्याउका आठ हजार विरुवा अनुदानमा बाँडिएको बताउनुभयो ।
अर्गानिक कृषि उत्पादनलाई व्यवस्थितढंगबाट प्रयोग गरी पर्यटकलाई आकर्षण गर्न सकियोे भने यहाँ प्रशस्त आर्थिक लाभ लिन सकिने संभावना रहेको छ । पर्यटकलाई बारीमै पु¥याएर आफै स्याउ टिपेर खाने ब्यवस्था मिलाउने हो भने यहाँ कृषि पर्यटनको निकै राम्रो संभावना रहेको छ ।
दुर्गम गाउमा गरीबी घटाउन पनि कृषिलाई पर्यटन उद्योगसग जोड्नुपर्ने हुन्छ, त्यसका लागि यो प्रमुख संभाव्यता बोकेको गाउँ हुनसक्छ । यस्तो उद्योग दिगो र फलदायी हुने विज्ञहरु बताउछन् । बिशेषज्ञ र प्राविधिकबाट कृषि उत्प्रेरणा जगाएर अगाडि बढ्ने हो भने यो गाउँ राष्ट्रियस्तरमै प्रख्यात गाउँ हुनसक्ने स्थानीय कृषकहरुको विश्वास छ । तर, त्यसका लागि यो क्षेत्रमा विकासका आवश्यक पूर्वाधार निर्माणमा ढिला गर्न नहुने उनीहरुको जोड छ ।
स्याउ ब्यापारी लेखराज डाँगीले आफूले यहाँको स्याउ खरिद गरेर बुटवल पोखरा सम्म पु¥याउने गरेको बताउनुभयो । सल्यान बागचौर नगरपालिका वडा न ९ का वडा सदस्य समेत रहेका डाँगीले भारतमा स्याउको ब्यापार गरेको लामो अनुभब भएकाले यहाँ पनि त्यही काम गरिरहेको बताउनुभयो । भारतमा स्याउ फल्न सुरु भएदेखि नटिपुन्जेलसम्म बोट तथा फलमा बिभिन्न किसिमका केमिकल हालेको आफुले देखेर उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँको जस्तो शुद्ध अर्गानिक स्याउ अन्य कुनै देशमा हुँदैन ।’
स्याउ भण्डारण गर्ने ठाउँको अभाव हुँदा गाइगोठमा राख्न बाध्य छन्, यहाँका किसानहरु । केही बर्ष पहिलेसम्म त झन किसानले स्याउ डोकामा राखेर एकदिनको पैदल बाटोमा पुगिने सल्यानको कालाखेत थारमारे खरिबोट बजार लगेर बिक्रि गर्नुपथ्र्यो । भण्डारण मात्र होइन बिक्री गर्दा पनि आफूले मूल्य तोकेर बिक्री गर्न पाउँदैनन् किसानहरु । किसानले बर्षभरि आफ्नै सन्तानलाई जत्तिकै मायाँ गरेर स्याउको स्याहारसुसार गर्छन् तर बिक्री गर्ने बेला बिचौलियाहरु आएर मूल्य तोक्छन् र आफै लैजान्छन् ।
अर्का किसान भिम बहादुर खत्री भन्नुहुन्छ— ‘यसरी आफूले उत्पादन गरेको वस्तुको मूल्य अरुले तोक्दा कति दुःख लाग्दो हो तर पनि हामी सहेर बिचौलियाकै मूल्यमा बिक्री गर्न बाध्य छौं ।’ ब्यापारीको प्रतिष्पर्धाले किसानले बजार भाउ बुझ्न नपाएको भए पनि यो बर्ष बोटमै उनीहरुले ७० देखि ८५ रुपैयाँ प्रतिकेजीसम्म मूल्य पाएका छन् ।
पश्चिम रोल्पाको जिनावाङमा उत्पादन भएकोस्याउ जिला सदरमुकाम लिवाङ र पूर्वी रोल्पासम्म पुग्ने गरेको छैन । आफुले अन्य ब्यवसाय छाडेर कृषि पेशाको भबिस्य उज्वल देखेर कृषिमा आकर्षित भए पनि राज्यबाट आफुले पाउने सेवा सुबिधा नपाएको अर्का किसान इन्द्रबहादुर केसीले दुखेसो पोख्नुभयो । हरेक गाउँपालिकमा एक जना कृषि प्राविधिक रहने भए पनि आफ्नो गाउँमा प्राविधिक नआएको उहाँको गुनासो छ । ‘विद्यार्थी भएको ठाउँमा शिक्षक जान्छन्, विरामी भएको ठाउँमा डाक्टर जान्छन् तर कृषि प्राविधिक फार्ममै आएर सेवा दिदैनन्’– उहाँले गुनासो गर्नुभयो । सबै रोगको उपचार अनुमानका भरमा गरिएको उहाँले बताउनुभयो ।
स्वच्छ पिउने पानी, स्याउ, नासपाती, आलु, ओखर, सिमी, केराउ, रायो, मुला, गाजर, काउलीलगायतका फलफूल तथा तरकारीको पकेट क्षेत्र मानिन्छ । यस वडाको तल्लो भेगमा सुन्तला आलु खेती हुन्छ भने माथिल्लो भेगमा स्याउन खेती हुने गरेको छ । सल्यानसँग जोडिएको जिनावाङ अदुवा उत्पादनका लागि निकै चर्चित छ भने यहाँबाट बर्षेनी हजारौं क्विन्टल टिमुर निर्यात हुने गरेको छ ।
अहिले भइरहेको स्याउ उत्पादनलाई प्रबर्धन गर्दै राम्रो बजारीकरणको व्यवस्था गर्ने हो भने यो गाउ नेपालकै महत्वपूर्ण कृषि पर्यटकीय क्षेत्र बन्ने संभावना पनि उत्तिकै छ । यहाँको स्याउ पूरै अर्गानिक छ । यहाँका किसानलाई बिषादि प्रयोग गर्ने त परै जाओस्, बिषादि भनेको के हो भन्ने पनि थाहा छैन । जसले गर्दा यहाँको स्याउ पूरै अर्गानिक बन्न पुगेको छ । तर, जति मेहनतसँग अर्गानिक स्याउ फलाए पनि त्यसको सही ब्यवस्था हुन सकेको छैन । स्याउ उत्पादक किसान भीमबहादुर खत्रीका अनुसार स्याउ फलाउँदासम्म जुन उत्साह हुन्छ, स्याउ बिक्री गर्ने बेला त्यो उत्साह निराशामा परिणत हुन्छ । स्याउँ टिपेर कहाँ राख्ने भन्ने नै यहाँको पहिलो समस्या हो ।
नेपालमा कृषि पर्यटनको सम्भावना पनि प्रशस्तै छ । कच्ची बाटो स्तरोन्नति गरेर कालोपत्रे गर्नु आवश्यक छ भने दाङबाट छोटो दूरीमा पुग्न सकिने कपुरकोटब–झ्यामको निर्माणाधीन सडकलाई पूर्णता दिनु आवश्यक छ । रोल्पाबाटै दाङ जोडिने छोटो दूरीको सडक नहुँदा ब्यापारीलाई प्रदेश ५ बाट कर्णाली प्रदेश गएर पुनः प्रदेश ५ मा जानुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरु दोहोरा मारमा छन् । भर्खरै मात्रै जिल्ला सदरमुकाम जोड्न शहिद मार्गको घर्तीगाउँदेखि ओतहुँदै सडक बाटो बनेको भए पनि बर्षातको समयमा यातायातको साधन चल्न सक्दैनन् । कपुरकोट–झ्याम सडक निर्माण भएमा निकै छोटो दूरीमा दाङ पुग्ने संभावना छ ।
यसैबीच गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले स्याउको भण्डारणका लागि आवश्यक पहल थाल्ने बताउनुभएको छ । उहाँले यति महत्वपूर्ण काममा सरकारको ध्यान जान नसकेको स्वीकार गर्दै स्थानीय सरकारले सहयोगी संस्था खोजेर जिनावाङमा कोल्डस्टोरको ब्यवस्था गर्ने बताउनुभयो ।
त्यसो त उहाँले रोल्पा खण्डमा सडकको समस्या नभएको पनि बताउनुभयो । ‘हामीले रोल्पा खण्डमा कुनै समस्या नआओस् भनेर गाउँपालिकाबाटै डोजर किनेर बर्षायाममा तयारी अवस्थामा राखेका छौं’– उहाँले भन्नुभयो– ‘उता सल्यान खण्डबाट गाडी पास नहुने स्थिति आएपछि समस्या भएको हो, हामी रोल्पामा समस्या हुन दिने छैनौं ।’
डाँगी, ओली, खत्रीलगायत क्षेत्री जातिको बाहुल्यता रहेको यो गाउका बासिन्दाले युद्धकालमा सरकारी पक्षबाट ठूलो ज्यादति भोगेका थिए । रोल्पाले मनिमारेजस्तो फलफूल तथा तरकारी उत्पादनमा पकेट क्षेत्र मानिने र राजनीतिक इतिहासका दृष्टिले पनि महत्वपूर्ण रहेको ऐतिहासिक तथा कृषि पर्यटनको संभावना बोकेको गाउँ कतै उपेक्षामा पर्दै गएको हो कि भन्ने स्थानीयका गुनासो छ । यातायातको असुविधा नै यहाँको मुख्य समस्या हो ।
जिल्लाले समेत थाहा पाउन नसकेको जिनावाङ राष्ट्रियस्तरको प्रचारप्रसारको पखाइमा छ । २०६० सालको युद्धविरामको समयमा माओवादी जनमुक्ति सेनाको डिभिजन घोषणा कार्यक्रममा मनिमारमो सरकारी सेनाले हवाइ हमला गरेपछि तत्कालीन डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’सहित यौद्धाहरुको ज्यान गएको थियो, जुन ठाउमा अहिले वनभोजस्थल बनाइएको छ । त्यतिबेला यो गाउँमा सरकारी सेनाले आगो लगाएर गाउँ पूरै जलाइदिएको थियो । प्राकृतिक सम्पदाले भरिपूर्ण जिनावाङमा कृषि र युद्ध पर्यटनका लागि ठूलो संभावना छ ।
शब्द/तस्विरः कुलदीप न्यौपाने
प्रतिक्रिया दिनुहोस