युएईका आदिवासीहरुले यसरि भब्य मनाए ‘बिश्व आदिबासी दिबश’


साउन २६, युएई । २०७५- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएइले २४औं विश्व आदिवासी दिवस गत १० अगस्ट २०१८ सुक्रवार दिन युएईको दुवई स्थित काल्टन टावर होटल देरामा भब्यताका साथ मनाएको छ ।

युएई स्थित नेपाली कार्यबाहक राजदुत श्री सागरप्रसाद फुयालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा युएइमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, नेपाली ब्यबसायीहरु, विभिन्न पार्टीका राजनीतिक प्रतिनिधिहरु, बिदेशी नियोगका प्रतिनिधिहरु तथा पत्रकारहरु बिशेष अतिथी र अथितीका रुपमा रहेका थिए।

युएइमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युएई अध्यक्ष पाशांग शेर्पाले गर्नु भएको थियो भने सन्चालन नेपाल आदिवासी जनजाति महासंघ युएइको महासचिब सुनिल घिसिङ गर्नुभएको थियो । त्यसै गरी कार्यक्रममा स्वागत मन्तब्य नेपाल आदिबाशी जनजाति महासंघ युएइका वरिष्ठ उपाध्यक्ष एबम कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामांग गर्नु भएको थियो ।

प्रमुख अतिथि, बिशेष अतिथि तथा अथितिहरुबाट सयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएसंगै कार्यक्रममा नेपाली राष्ट्रिय गीत “सयौ थुंगा फुलको हामी” र “हामि आदिवासी, जनजाति” भन्ने गीतले हल गुन्जायमान भएको थियो।

कार्यक्रममा नेपाल मगर संघ शाखा युएई, किरात राई यायोक्खा शाखा युएई, नेपाली तामांग समाज युएई, किरात याकथुंग् चुम्लुंग युएई, शेर्पा किन्दुक युएई, सुनुवार सेवा समाज शाखा युएई ,प्रवासी भुजेल समाज सेवा समिति युएई, थारु कल्याणकारणी सभा युएई, नेवा: पुछ युएई र तमु समाज युएईले मन्चमा पालैपालो आफ्नो पहिचान झल्कने जातिय भेषभुषा लगाएर आ-आफ्नो जातीय झाँकीहरु प्रस्तुत गर्दा कार्यक्रम अत्यन्तै उल्लाशमय भएको थियो ।

शुभकामना मन्तव्य दिनुहुदै कार्यक्रममा प्रमुख अथिति कार्यबाहक राजदुत श्री सागरप्रसाद फुयालले भन्नु भयो “नेपालमा रहेको आदिवासी जनजातिहरु साच्चिकै संस्कृति कलाको बिविधताले भरिपूर्ण भएको हुनाले नै नेपालको शिर जहिले उच्च रहेको छ।” साथै उहाँले सम्पूर्ण आदिवासी जनजातिहरुमा आजको कार्यक्रमले नयाँ उर्जा, हौसला प्रदान गर्नुको साथै सबल, सुख सम्बृध्दिको कामना गर्नु भएको थियो।

मन्तव्यको क्रममा उहाँले युएइको बर्तमान चुनौती र अबसरहरुको बारे प्रकाश पार्दै यही अगस्ट १ तारिक देखि ३१ अक्टोबर २०१८ सम्म युएई सरकारले घोषणा गरेको एमनेस्टिको बारेमा थप जानकारी दिनुभयो।

उहाँले, युएइमा अबैधानिक रुपमा बसोबास गरिरहनु भएको नेपालीहरुलाई युएई स्थित अबुधाबीको अलशाबर, दुबइको अलअबिर र सारजाको इमिग्रेशनमा दुतावाशको कर्मचारीहरुको साथै स्वयम् सेवकहरु अक्टोबर ३१ सम्म नेपालीहरुको सहयोगको लागि ब्यबस्था गरिएको जानकारी दिनुहुदैं आफुलाई अनुकुल पर्ने ३ वटा ठाउँ मध्ये कुनै ठाउँमा गएर अबैधानिक रुपमा बसोबास गरिरहनु भएको नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सम्पर्क गर्नको लागि अनुरोध समेत गर्नु भयो।

कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् । उहाँले आममाफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ। विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौका रहेको जानकारी दिनुभयो।

कार्यक्रममा युएइमा रहेर नेपाल आदिवासी जनजाति संस्थाहरुमा बसेर महत्वपूर्ण योगदान गर्ने ब्यक्तित्वहरुलाई हरेक जातीय संस्थाबाट एक महिला र एक पुरुषलाई सम्मानसंगै मायाको चिनो प्रदान गरिएको थियो ।

युएइमा रहेर लामो समय देखि आदिवासी आन्दोलनमा सक्रिय रहेका नेपाल आदिवासी जनजाति महासंघ युएइका निवर्तवान अध्यक्ष एबम संरक्षक डि आर गुरुङलाई ताम्रापत्र सहित बिशेष सम्मान गरिएको थियो । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ युएइको सूचनालाई समाचार सम्प्रेषण गरेर योगदान गर्नु भएकोमा फोनिज युएई अध्यक्ष तथा पत्रकार अनिश तामाङ्गलाई पनि सम्मान गरिएको थियो ।

नेफिन युइको पहलमा आदिवासी जनजातिहरुलाई पत्रकारिता र कलाकारितामा संगठित तथा क्रियाशील गराउनको लागि सुक्रवार ३ अगस्ट २०१८ प्रथम अधिवेशनबाट निर्बाचित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई श्री अनिश तामाङ्गको अध्यक्षतामा ९ सदस्यीय र नेपाल आदिवासी जनजाति कलाकार संघ युएई श्री भुवन थापा मगरको अध्यक्षतामा ११ सदस्यीय रहेको कार्यसमितिको घोषणासंगै निर्बाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा आदिवासी चेतनाका गीत तथा नृत्यहरु प्रस्तुत गरि कार्यक्रमलाई थप मनोरंजन प्रदान गरिएको थियो। सांस्कृतिक कार्यक्रमको लागि भने बिजयलक्ष्मि राई र तिलक साम्पांग् राईले संचालन गर्नु भएको थियो । बिश्व आदिवासी दिवश अगस्त ९ तारिक हरेक वर्ष मनाउने भए पनि युएइमा सबैको सुक्रबार सार्बजनिक बिदा हुने भएको हुँदा अगस्ट १० मा मनाइएको हो ।

तस्बिर: सामाजिक संजालबाट

२६ श्रावण २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको