बामदेवको रथमा प्रचण्ड सारथी


संसदमा बामदेव नभएर न देश डुब्छ न उनी हुँदा नै काँचुली फेरिन्छ। केही उधुम हुँदैन। स्वार्थ समूहका लागि उप-निर्वाचन हुन लागेको मात्र हो। माखो रामबीर हुँदा पनि छ, छाड्दा पनि जिउँदै हुन्छ। कांग्रेसले को भिडाउँछ उसको तजबीज। के को रोइलो ?

रामबीरको पीर कांग्रेसले बोक्नै किन पथ्र्यो ?, उनलाई नेकपाले नै ठेगान लगाउँछ। जनमतको पीर हामीले गर्ने ? जनमतको पीर सम्बन्धित निर्वाचन क्षेत्रका मतदातालाई गर्न दिए भएन ? आफ्नो छाडेर अर्काको चिन्ता पाल्ने र अरुमाथि नै बढी चिन्तन गर्ने अचम्मको विशिष्ट गुणले लैस छौं हामी। म यसकारण बलियो र असल छु भन्ने हिम्मत गर्न नसक्नेले अरुको बैगुनको बाजा के बजाउनु ? मलाई कांग्रेसले बजाएको यही बाजाको ‘ट्युन’सुनेर उदेक लाग्छ।

पुरुषोतम लम्साल

कांग्रेसकै भुइफुट्टा बर्ग कस्तो छ भने भोली पार्टीले उमेदवार तोक्यो भने अन्तर्घातको पहिलो व्याख्याकार तिनै हुन्छन्। अब त पाँचबाट सातवटा बनेको गुटहरुको सिंगो महासंघबाट एकताको कर्णप्रिय धून सुनेर पनि चिच्याट लाग्दैन। बामदेव हार्दा लोकतन्त्र फुल्ने बामदेव आउन खोज्दा लोकतन्त्र धरापमा पर्ने ? विधि र कानुनी बाटोबाट कोही जानु र आउनुभित्र जति बिसंगत पाटा भए पनि असंवैधानिक त पक्कै छैन। फेरि यसैमा लोकतन्त्रको खिल्ली उडेको देख्ने कांग्रेसीजनको कस्तो काइते लोकतन्त्र हो? अर्को भाषामा नेकपाको समृद्दी र कांग्रेसको प्रजातन्त्रको दुहाई ठट्टा गर्नका लागि घच्चीका विषय हुन्। यही ठट्टामा रामबीर र बामदेव जोडिए त के बिगार भो ?

तत्कालका लागि बामदेव गौतम प्रचण्डका राजनीतिक सारथी हुन्। अर्जुनको रथमाथि हनुमानको प्रतिस्थापना भएजस्तै प्रचण्डको रथमा बामदेव हुन्जेल साना विपतले केही लछार्दैन। अहिलेको राजनीतिक चक्रब्यूह तोडेर निर्दिष्ट लक्ष्यमा पुग्न बामदेव संसदमा हुन अरुका लागि भन्दा प्रचण्डका लागि आवश्यक छ। केपी ओलीलाई चेक एण्ड ब्यालेन्स गर्न पनि संसदमा गौतम आवश्यक छन्।

तर सरकार चौतर्फी निशानामा परेको बेला बामदेव ‘भुतले खाजा खान आएको’ अवस्थामा नपुगुन्। बिद्यासुन्दरको गौरबगाथाको, गतिशलताको, स्मार्टनेसको, कामको तीब्रताको, धरहरा पुन:निर्माणको, रानीपोखरीको जीवन्तताको, सडकको स्तरोन्नतीको, फोहोरको ब्यवस्थापनको, गर्व गर्नलायक सार्वजनिक प्रस्तुतीको शिकार बामदेव गौतम नहुन्।

पार्टीबाट सांसद नभए पनि पार्टीमा बामदेव एउटा हिस्साको माननीय नै हुन्। तर मनै बसेपछि, मोहै पलाएपछि मान्छे दैवसँग पनि लड्ने जन्तु हो, बामदेव त चुनाव लड्न लागेका नेता । यो ठूलो मुद्दा लागेन। ठूलो चाँहि, नेकपाको ‘टप टेन’भित्र परेको नेता संसदबाहिर बसेर के राजनीति गर्नु ? भन्ने हो। बामदेवको दौडाहा र औडाहाले नेकपाभित्र धेरैथोक पाकिरहेको देखाउँछ। एकबारको जुनीमा उपप्रधान भइएकै छ, ताक परे अहिल्यै मौलो गाड्न किन छाड्नु ? अचानो जो परे पनि खड्ग बजारेपछि केही न केही त काटिनैपर्छ। इन्द्रेणी चियापानको च्याप्टर खुल्नै नपाई भएको यो विषयान्तर ख्यालख्याल त पक्कै हैन।

रामबीरले चौका/ छक्का दुबै मार्छन। जनताबाट निर्वाचित पद तर्पण दिएर रित्तो हात कुन व्यापारी हिंड्छ ? आफ्ना मतदातालाई **** देखाएर रामबीरले वीरता देखाए त के भो ? भोली काठमाण्डौमा चुनाव लड्दैनन्। लडे हार्लान् पनि । स्वेच्छाले म बाटो लाग्छु भन्न रामबीर स्वतन्त्र छन्। पार्टीको निर्देशन र मनको खुसी मिले सक्कियो, नत्र जनताकहाँ जाने विकल्प छँदैथ्यो। आफ्ना मतदातासँग माफी माग्ने हिम्मत गरे अझ राम्रो।
अशक्त, रोगी नहुँदानहुँदै ‘वरिष्ठ’लाई ‘गरिखाओ !’ भन्न ‘सजिलो’ पक्कै भएन होला। संविधानले मृत्यु, नैतिक पतन, वा अशक्त, कानुनले कसुर ठहर्याएको बाहेक तोकिएको अवधिसम्म जवाफदेही हुनपर्ने बताइदिएन त क्यार्नु ?
र, काठमाण्डौका जनताले बामदेव हराएर क्रान्ति गरे भने अर्को परिघटना लेखिन्छ। भोलीको दृष्य देखिन्छ।

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको