असोज २४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम सुस्त भएको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताए । उनले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’
उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै भने, ‘यतिमात्रै होईन, नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेका छौं । यतिवेला ज्यादै नै महत्वपूर्ण र सकरात्मक परिस्थिति सिर्जना भएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डोर्याउनुपर्दथ्यो । त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाईको सरकार बनेको छ ।’
उनले अब वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’
यद्धपी अहिलेपनि पूरानै संस्कारका धंगधंगीहरु रहेको उनको भनाई थियो । रायमाझीले थपे,‘पूरानो संस्कारमात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् । अब नयाँ संविधानको अभ्यासको सन्दर्भमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार निर्माण भएका छन् । अब तिनीहरुको तीनै तहका संस्थाहरुको योजना, बजेट र अधिकारको बाँडफाँड र कार्यान्वयनको व्यापक अभ्यास गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ।’
प्रतिक्रिया दिनुहोस