पुर्बकी मन्जुलाई साउदीको बन्दगृहबाट पश्चिम रोल्पालीको बहादुरी पूर्ण उद्दार (स्टोरी सहित)


गरिव परिवारमा जन्मिएकी मन्जु कुमारी रिषिदेवको घरमा ऋणको किस्ताले चुली नाघ्न थाल्यो । एक दाजु थिए, उनको बिबाह भएपछी छुट्टै बस्न थाले  । दिदीको बिबाह भयो, उनी पनि आफ्नो घरबार सिहार्न थालिन  ।

बाँकी रहेका जन्म दिने बृद्द आमा र बाबा कान्छी छोरी मन्जु संग बसे  । आमा बाबाको लालन-पालन आफ्नै काँधमा आयो  । दाइले बिबाह गर्दाको ऋण र विदेश पस्दाको ऋण नतिर्ने भएपछी, त्यो ऋण समेत कान्छी मन्जुकै थाप्लोमा आई पर्यो  ।

र, मुटु रोगी बृद्द आमा र बाबालाई  छोडेर सुनसरीकि मन्जु कुमारी रिषिदेव दुई बर्ष पहिले अरब पसिन । कर्मलाई बिश्वास गरेर जिन्दगीका सुनौला सपनाहरु सजाउन कर्म भुमि अरव पसेपछी, उनका संघर्षका कठोर दिनहरु उदाए।

साउदीमा हाउस मेडको रुपमा कामगर्दै आएकी मन्जुलाई बन्दकी जिबन भएर बस्नु पर्यो । त्यहिबेला पुर्बकी मन्जुको नारकीय बन्दीगृहबाट मुक्त गराउन पश्चीमका रोल्पालीहरु सफल भए । हेर्दा यो फिल्म कहाँनी जस्तो लाग्छ तर वास्तविक घटना हो । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको पहलमा जोखिम पूर्ण रेस्क्यु गरेर मन्जुलाई हाल रियाद स्थित नेपाली दूतावास समक्ष्य सुरक्षित पुर्याएको छ।

जीवनका नमीठा संघर्षहरु संग पौठेजोडी खेल्दा, अरब देशमा बन्दकी बनेको आफ्नो जीवनलाई मन्जुले यसरि सुनाईन…।

उनको बन्दकी जीवनको बयान… 

म अहिले २५ बर्षको भए । दुई बर्ष देखि अरबमा कष्टकर जीवन बिताए । अरब देशमा दलालीले रिंगाउदै-घुमाउदै साउदी पुर्याएको एक बर्ष भयो तर ‘साउदीको पैसा कस्तो हुन्छ त्यसको नाक मुख पनि देख्न पाइन’ । साहुले मलाइ तलव दिए पो पैसा देख्नु/चिन्नु ।

साहुले तलव नदिएको भने होइन, तर रोइ कराई मरिहत्य गरेपछि तिन/चार महिनामा एक/दुईपटक नेपालको बैंक खातामा तलब राखिदियो। साहुले तिन महिनाको तलव पठाई दिएको छु भन्थ्यो, आमाले दुई महिनाको तलव बराबरको पैसा पाएको बताउनु हुन्थ्यो। कहिले चार महिनाको तलब भनेर ३ महिनाको पैसा मात्र पठाई दिन्थ्यो।

कति तलव पठायो या पठाएन भन्ने बारे साहुले कुनै कागजात दिएन ।

साहुनी (बद्रिया) ले साहु (मिस्पर)लाई काम गर्दैन भन्दै कुरा लगाउथी, अनि साहुले पिट्ने गर्थ्यो । धेरे पटक साहुको लात्ति खाए । बिरामी हुन्थे उपचार पनि गर्दैनथ्यो । दैनिक मानसिक पिडा त कति हो कति….। अस्ति पनि भर्खरै मलाई धेरै कुट्यो । कुटाइको कारण अहिले ढाडमा समस्या आएको छ, चल्न र हिड्न गाह्रो भैरहेको छ ।

एकपाली आमा सिकिस्त बिरामी पर्नु भयो । आमालाई आइसीयुमा राखियो । बल्ल तल्ल उपचार गरियो र सन्चो लाग्यो । आमाको उपचारमै ४/५ लाख सकियो । आमाले जीवनभर औषधि खाएर बाँच्नु पर्छ । घरमा आमा बिरामी, यता बन परदेशमा म बिरामी पीडाको सिमा रहेन !

काम धेरै गर्नु पर्थ्यो । पीडाले म संधै रुन्थे । मुटु रोगि बृद्द आमालाई सम्झिन्थे  । बेसहारा एक्लो बाबाको याद आउथ्यो  । मालिकको यातनाले पिडामा झन पिडा थपिदिन्थ्यो  ।

मेरा हर रात आँशु बनेर बित्थे, हर बिहान यातना बनि दिन सुरु हुन्थे ।

एकपटक दुई दिन बिरामी भए एक महिनाको तलव काटिदियो । फोन गर्न पाइदैनथ्यो । घरबाट लिएको मोबाइल एक दिन चलाएको देखेर झन्डै कुच्याई दियो । अब कहिलै चलाउदिन भन्ने सर्तमा फर्काइ दियो ।

दाईलाई सम्झेर आमा रुन्छिन

दाई दुबईमा हुनुहुन्छ । आमाले एक्लो छोरो दाजुलाई धेरै माया गर्नु हुन्छ तर दाईले फोन पनि गर्नु हुन्न । कहिलै कल भयो भने बिजी छु भन्छ, भन्दै आमा रुनु हुन्छ ।

छोड्नुस, म छु नि भनेर चित्त बुझाई दिने कोसिस गर्थे तर आमाको मन नहो के बुज्थ्यो र ! छोराको पिर गरिरहनु हुन्छ ।

दाई र मेरो सम्पर्क नभएको पनि धेरै भयो । इमोमा सम्पर्क गर्न खोजे तर बोल्नु नै भएन । तपाईपनि दुवई हुनुहुँदो रहेछ, दाइ दंग कुरा भयो भने राम्रो संग सम्झाई दिनु होला सर ! आमाले धेरै माया गर्नु हुन्छ भनिदिनु होला ।

बहिनीलाई सहयोग नगरेपनि जन्म दिने आमालाई हेरचाह गर्न भनिदिनु होला सर !

१६ बर्षमै विदेश 

मन्जुले १६ बर्षको उमेरमा विदेश पसेको कथा यसरि सुनाइन…।

सामान्य परिवारमा जन्मिए । पढ्न, लेख्न पाइन । म १६ बर्षको उमेरमै विदेश पसे । पहिलो पटक ओमन गए, राम्रै थियो तर बिरामी भएपछी घर फर्किए, भाग्यले साथ् दिएन ।

हामी तिन सन्तान हौ, एक दाई हुनुहुन्छ, दिदिको घरजम भैसक्यो । तर संसार नै स्वार्थी छ कस्लाई के भन्नु र ! आमा, बाबा र म संग छुट्टिएर दाइ भाउज्यु संग अलग्गै बस्नु हुन्छ । हाल दुबई हुनुहुन्छ ।

दाईले विबाह गर्दा र विदेश पस्दाको ऋण समेत तिर्नु भएन । किस्तामा लिएको ऋणले धुरी नाघ्यो । जसरि पनि ऋण तिर्ने अठोट लिएर फेरी विदेश पस्ने निधो गरे । बिरामी आमा र बृद्द बाबालाई एक्लै छोडेर गाउकै एजेन्ट निरु श्रेष्ठले विदेश पठाई दिने भनेपछि दुई बर्षअघि काठमाडौं आए ।

यसरि पुगे साउदी

पासपोर्ट बनाउने भनेर एजेन्ट श्रेष्ठलाई २० हजार रुपैया दिए । हामीलाई काठमाडौंको कुनै एक रुममा राखेको थियो । म जस्ता धेरै युवतीहरु थिए । कसैलाई नेपालबाट सेटिंग गरेर उडाउथ्यो, कसैलाई भारतको दिल्लीबाट उडाउथ्यो ।

दुइ बर्ष पहिले निरु श्रेष्ठले दुबई स्थित एक क्लिनिङ कम्पनीको भिसामा मलाई पठायो तर युएईमा २४ घण्टा मात्रै राखेर आर्को बिक्रम भन्ने एजेन्ट मार्फत कुवेत पुर्यायो ।

कुवेत एरपोर्ट सम्म जाँदा हामी ६/७ जना नेपाली महिला थियौ । एरपोर्ट पुगिसके पछी साहुहरु आए, हामीलाई भेडा बाख्रा जस्तै गरि खरिद गर्दै लगे । एजेन्ट पनि थियो त्यो बेला पैसा लगेको त देखिएन, पछी पैसा खायो होला । अहिले ति महिला साथीहरु कहाँ छन्, थाहै छैन ।

दलाल बिक्रमको स्वास्नी पिंकी पनि मानव दलाली गर्छिन । पिंकी हाल पनि कुवेतमा बसेर म जस्तै महिलाहरुलाई अरब ल्याउने गर्छिन।

६ महिना कुवेतमा हाउस मेडको रुपमा काम गरे, त्यो पनि ३/३ महिना फरक-फरक दुइवटा अरबिको घरमा काम गरे, तलव पनि पाएन । काम गाह्रो भएपछी पिंकीलाई घरमा काम गर्न नसक्ने बताए र अफिसमा एक महिना जति राखिन, तर तलब दिने त कुरै भएन ।

बिक्रमकि स्वास्नी पिंकीले साउदीमा जाउ राम्रो काम छ, दुइवटा बच्चा मात्र छन, राम्रो तलव छ, सजिलो काम छ, तलव समय-समयमा पाइन्छ, काम धेरै गर्नु पर्दैन, भने पछी म राजी भए र साउदी पुगे ।

साउदी पुगेपछि सुरु भए मेरा अरबका कठोर यातनाहरु ।

कुवेतमा रहेकि दलाल पिंकिले यस्तो भनिन…

दलाल बिक्रम र पिंकी लोग्ने स्वास्नी हुन् । उनीहरुको पुरा नाम र ठेगाना थाहा छैन । नेपालको एजेन्ट निरु श्रेष्ठ सम्पर्क बिहिन छ । निरु श्रेष्ठ र बिक्रम, पिंकीको सेटिंगमा धेरै महिलाहरुलाई सप्लाई गर्छन । कुवेतमा रहेकी बिक्रमकि स्वास्नी पिंकीलाई केहि दिन पहिले इमोमा सम्पर्क गरेकी थिए ।

म आफु दुखमा परेको कुरा सुनाए । मिलाउछु भन्दै आलटाल गरेपछि, अब म दुतावास जान्छु भन्ने कुरा गरे । त्यसपछि उनले नजाउ म सबै मिलाउछु, मेरो र बिक्रम बारे कसैलाई केहि नभन ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले यसरि गर्यो छापामार शैलीमा उद्दार 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले जेलमा रहेका दिल बहादुरलाई बचाउने अभियानमा थियो । अभियान कै क्रममा झापाका प्रकाश संग्रौलाले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका सल्लाहकार प्रेम पुन मगर संग टेलीफोन गरे । उनले सुनसहरीकि मन्जु रिषिदेव साउदी अरवको एक घरमा बन्दकी बनाएर राखेको र उनलाई उद्दार गर्न अनुरोध गरे ।

सल्लाहकार प्रेम पुनले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष नरेन्द्र जिसीलाई तत्कालै सम्पर्क गरि उद्दारको पहल गर्न सुजाव दिए । अध्यक्ष जिसीले पिडित मन्जुलाई म्यासेज गरे । उनले तत्काल केहि प्रतिक्रिया नदिए पछी ‘फुर्सदको समयमा मलाइ सम्पर्क गर्नुहोला, हामी तपाइलाई उद्दार गर्न सहयोग गर्नेछौ’ भन्ने म्यासेज छोडे ।

साउनी सपिङ गएको समयमा मन्जुले साँझ नरेन्द्र जिसीलाई इमोमा कल गरिन ।

मन्जु साउदीको अल खरेज ठाउमा बस्ने बताइन। उनले शारिक तथा मानसिक यातना भोग्दै आएको बताइन । आफुलाई जसरि भएपनि उद्दार गर्न आग्रह गरिन र नेपाली दूतावास सम्म पुर्याई दिन हारगुहार गरिन ।

मन्जुले आफुलाई उद्दार गर्ने समय बिहान ७ देखि १० बजे वा दिउसो १ देखि २ बजे भित्र मात्र उद्दार गर्न सक्ने बताइन । उनलाई जुनसुकै बेलामा सम्पर्क गर्न सक्ने अबस्था पनि थिएन । सम्पर्कका लागि मन्जुले मालिक/मालिक्नी नभएको समयलाई उपयोग गर्नु पर्थ्यो ।

मन्जुलाइ मालिकले सिमकार्ड दिएको थिएन र कसैलाई फोन गर्न पनि पाइदैनथ्यो । धन्न नेपालबाट अरब पस्दा एउटा मोवाइल बोकेर आइन, उक्त मोवाइलमा नेपालमा इमो चलाउथिन् र अरब पसे पछी पनि नेपालको इमोले साथ् दियो, अनि आज त्यहि इमोको सहारामा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका समाजसेवीलाइ भेटाइन ।

अध्यक्ष नरेन्द्र जिसीले कार्यसमितिमा मन्जुको उद्दार गर्ने बारे घनिभूत छलफल चलाए ।

तर साउदीको कडा नियम कानुन बीच मन्जुलाई उद्दार गर्न सहज थिएन । मन्जु एक्लै बाहिर निस्कन सक्ने अबस्था पनि थिएन । उनलाई जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्ने अबस्था नभए पछी कठिन थियो।

अझ सबै भन्दा ठुलो समस्या साउदीमा एकल महिला संग सवारी साधनमा परपुरुषसँग संगै यात्रा गर्न पाइदैन । यस्तो अबस्थामा एउटी महिला मन्जुलाई उद्दार गर्न झनै जटिल बिषय थियो ।  जुन कुरा साउदी कानुनको बर्खिलापमा थियो ।

उद्दार गर्दा संयोगबस साउदी मालिक वा प्रहरीले थाहा पाए साउदीको कानुन अनुसार कडा दण्डित हुनुपर्ने जोखिम त्यतिकै थियो।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव चन्द्र प्रकाश पुन बस्ने स्थान देखि दुई सय किलोमिटरको दुरीमा मन्जु बस्ने गरेको थाहा भएपछी चन्द्र प्रकाशलाई नै उद्दारको लागि अध्यक्षले जिम्मेवारी दिने प्रस्ताव गरे। उक्त प्रस्तावमाथि हिम्मत गर्दै आत्मबिश्वासका साथ चन्द्र प्रकाश पुन सहर्ष तयार भए ।

चन्द्र प्रकाश पुनको एक साउदी स्थानीय ट्याक्सी ड्राइभर संग परिचय थियो । पुनले त्यहि स्थानीय ट्याक्सी र ड्राइभरलाई प्रयोग गर्दा लोकेसन देखि लिएर, अरबी बस्ने एरियामा लोकल अरबी ट्याक्सी लिएर जाँदा चेक जाँच तथा निगरानी नहुने र सहज बन्ने निष्कर्ष निकाले र स्थानीय ट्याक्सीवाला महम्मद अब्दुलाई सम्पर्क गरे ।

स्थानीय ट्याक्सी ड्राइभर अब्दुसंग बिस्तृत छलफल गरि अगस्त ९ तारिख बिहिबार बिहान करिब ५ बजे देखि उद्दारमा लागे ।

उद्दारको क्रममा ह्वाट्स एप्प लोकेसन मार्फत मन्जु बस्ने अल खरेज ठाउँमा त पुगे तर कुन घरमा बस्छन भन्ने पहिल्याउन निकै गाह्रो भयो । मन्जुले आफु बस्ने घरको फोटा खिचेर इमोमा पठाइन । बिभिन्न एंग्गलबाट खिचेर पठाईएका फोटाहरु नियाल्दै उक्त घरको खोजीमा लागे महासचिव पुन र उनका अरबिक साथि अब्दु ।

हरेक कसरतका बाफ्जुत उनि बस्ने घर बल्ल-तल्ल पत्ता लाग्यो । उनि सोहि समयमा घर बाहिर आउँन कठिन थियो । १२ बजे उनि फोहोर फ्याक्ने बहाना बनाइ बाहिर आइन, अनि मन्जु अब्दुको ट्याक्सीमा चढीन ।

दूतावास लैजाँदै गर्दा बाटोमा विभिन्न चेक पोष्टहरु पार गर्नु पर्ने थियो । घरको मालिकले मन्जु घरबाट निस्किएको र हराएको थाहा पाएमा र तत्कालै पुलिस रिपोर्ट गरेको खन्ड्मा स्थानीय चेकपोष्टहरुमा निगरानी हुन सक्ने अबस्थालाई मध्यनजर गरि ट्याक्सीलाई अब्दुले स्पिडमा हाँके । त्यस क्रममा ट्राफिक क्यामराले क्याच गर्दा स्पिड फाइन स्वरूप ३ सय रियाल समेत बेहोर्नु पर्यो ।

हतार हतार चन्द्र र अब्दुले रियादस्थित नेपाली दूतावास सम्म पुर्याउन सफल भए ।

ट्राफिक स्पिड फाइन र ट्याक्सी भाडा गरि ६ सय भन्दा धेरै रियाल महम्मद अब्दुलाई बुझाए र चन्द्र प्रकाशले सहयोग गर्ने साउदी स्थानीय साथि अब्दुलाई मनै देखि धन्यवाद दिए। मन्जुको मुहारमा खुसी पलायो ।

साउदीको कानुन सामु रिक्स मोलेर आफुलाई उद्दार गर्ने चन्द्र प्रकाश पुन र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई जीवन भर नबिर्सने गुण लाएको भन्दै मन्जुले भावुकता प्रकट गरिन, र भनिन हाम्रो देशमा हामी जस्तै संकटमा परेका छोरी चेली वा अन्य नेपाली दाजुभाईलाइ उद्दार गर्ने संस्थाहरु पनि रहेछन । म धेरै खुसि छु ।

म घरबाट निक्लदा खाली हात निक्लिएको थिए । फेर्ने लत्ताकपडा पनि थिएन, चन्द्र दाईले सुक्रबार फेर्नलाइ केहि कपडा र खाने कुरा पनि ल्याई दिनु भयो, उहालाई धेरै धेरै धन्यवाद, रोल्पाली समाजलाई पनि ह्रिदय देखि धन्यवाद । अहिले म दूतावासमा सुरक्षित छु । दूतावास आउदा चार जना म जस्तै पिडित दिदिहरु सङ्गै छु ।

मन्जु भन्छिन ‘साउदी दूतावासले उद्दार गर्न वास्तै गरेन’   

हरेक देशमा रहेका दूतावासहरु केवल देखाउने हात्तीका दाँत हुन् । दुख पाएका आफ्ना नागरिकहरुको सेवामा अड्डा जमाएको भनिएपनि नेपालीहरु संकट परेको बेला सहयोग गर्दैनन । पहिलो कुरा सेवाग्राहीका लागि राखिएको उनीहरुको फोन नै उठ्दैन ।

दोश्रो कुरा उठिहाले पनि उनको नियम कानुन र प्रक्रियाका जन्जिरहरु पार गरेर दुतावास पुग्नै कठिन छ ।

बिदेशमा आपत बिपत परेका नेपालीहरुको सुरक्षा र उद्दारको लागि भन्दै राज्य कोषबाट महंगो भत्ता असुल्ने मात्र उनीहरुको काम हो। सम्भवतः बिदेशमा बिभिन्न सामाजिक संघ संस्थाहरु हुदैनथे भने दुतावास भनेको ठिङ्ग उभिएको एउटा निर्जीव बस्तु जस्तै हुन्थ्यो। धन्न, तनमन र धन लाएर जुटेका संस्थाहरुले यस्ता बिषयमा नैतिक दवाव, तथा भौतिक सहयोग दिएर मात्र दूतावासले ज्युदो अनुहार देखाएको छ, नत्र मरे तुल्य हुने थियो भन्दा फरक पर्दैन।

पिडित मन्जुको गुनासो पनि यस्तै थियो । साउदी अरबमा बन्दक बनेकी मन्जुले साउदी दूतावासलाई उद्दार गर्न हारगुहार गरिन तर विडम्बना भनौ, वास्तै गरेन ।

मन्जुले काम गर्ने छिमेकी घरमा एक नेपाली दिदीले काम गर्थिन । एक दिन तिनै दिदीलाई आफ्नो साहुले गर्ने दुर्व्यवहार र यातना बारे सुनाइन, त्यहाँबाट उम्किने उपाए खोजिन । छिमेकी दिदीले जीवन लिला भन्ने दाइको नम्बर दिए । तिनै नेपाली दाई लिला संग मन्जुले सम्पर्क गरिन र उहाँले राजदुतावासलाई सम्पर्क गर्न भन्दै एक जना दाइँको इमो नम्बर दिए।

मन्जुले उक्त दूतावास नम्बरमा कल गरिन । आफु समस्यामा परेको कुरा सुनाइन र उद्दार गर्न हारगुहार गरिन । दूतावासका ति अजीवका मान्छेले हुन्छ भन्ने जनाउ त दिए तर बिस्तारै अफलाइन भइदिए । पछी त सम्पर्क मै आएनन ।

उद्दारमा बसेको भनिएको साउदी दूतावास एकाएक हरायो ।

मन्जुले फेरी लिला दाइलाई सम्पर्क गरेर दूतावासले वास्ता गरेन, रिप्लाई नै दिंदैन, उद्दार गर्छु मात्र भन्यो केहि गरेन, दाइ के गर्ने भनिन । ति दाइले भने दूतावासले यस्तै गर्छ । कसैलाई वास्ता गर्दैन । अरु केहि जुवाड गरौला, न आत्तेउ भने ।

मन्जुले हरेस खाँदै थिइन् । तर एककान, दुइकान, मैदान हुँदै साउदीमा रहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाइ मन्जु बन्दकी भएको खबर थाह पाएपछि समाजका अध्यक्ष नरेन्द्र जिसीको ‘हामी उद्दार गर्छौ’ भन्ने म्यासेज पाए।

उद्दारका लागि सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले बेहोर्ने

मन्जु रिषिदेवलाई उद्दार गर्दा लागेको सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले बेहोर्ने जनाएको छ । घर जाने टिकट देखि पिडितलाई आबस्यक पर्ने लत्ताकपडा पनि बेहोर्ने समाजका अध्यक्ष नरेन्द्र जिसीले बताएका छन् ।

मन्जुको साउदीको भिसा स्टाटस बुझेर यदि भिसा म्याद अझै बाँकी रहेको भए तत्कालै नेपाल पठाउन सकिने छ भने भिसा सकिएको भए कानुनि प्रक्रिया मिलाउदा केहि समय लाग्ने दूतावासले जनाएको समाजका अध्यक्षले बताएका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले गरेको यो जोखिम पूर्ण उद्दार कार्य अत्यन्त उकृष्ट भएको भन्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापाले धन्यवाद दिए ।

उद्दार कार्यको सह्रानीय गर्दै नेपाली दूतावास साउदीले पनि समाजलाई धन्यावाद दिएको छ ।

अन्तमा, यो पंतिकारले पनि भन्नै पर्छ, यसरि मन्जुले पोख्ने दुखका पहाड जत्रा अथाह व्यथाहरु अरब देशमा थुप्रै छन्, अरबमा मात्र होइन संसार भरी छन् । यी अदृश्य व्यथाहरु विभिन्न देशमा भोगी रहने नेपाली चेलीहरुका दुखसंग मिल्दा जुल्दा छन् । यिनै ब्यथाका डोभहरु पुरिदिने परोपकारी भावना बोकेका सामाजिक संस्था र व्यक्तित्वहरुलाई सलाम दिनै पर्छ ।

देशका नागरिकहरु गरिबीको चपेटामा पर्दा देश छोड्नै पर्दाको पिडाको बयान गरि अझ साध्यै छैन । धन कमाउने सुनौला सपना बोकेर विदेश पसेका चेलीहरुको दर्दनाक पिडा गणतन्त्रमा उभिएको देश नेपालले सिमावारीबाट रेमिटेन्स झार्दै ब्यार्थै चियो मात्रै गरिरहेको छ ।

यसरि रेमिटेन्सका लागि चियो मात्रै गर्ने हाम्रो देशलाई सम्बृद नेपाल भन्छ । हामी सबै प्रदेशीहरु चांडै घर फर्किन पाउ । दुख सुख जे जस्तो भएपनि नेपालमै बिसाउन पाउ भन्ने कामना गर्दै अस्तु…।

अन्तर्राष्ट्रिय रोल्पाली समाज साउदी र पिडितको प्रत्यक्ष कुराकानीमा आधारित रिपोर्ट केबी गुरुङले तयार पारेका हुन ।

 

२५ श्रावण २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको