गीत संगीतको क्षेत्रमा आफ्नो सफल स्थान बनाउँदै गरेका रोल्पाली गायक अशोक वली ‘परिवर्तन’को तेस्रो लोकदोहोरी गीत संग्रह ‘सम्भव छैन हामी एक हुन’ बजारमा ल्याउनुभएको छ । माया प्रेमसँग आधारित उक्त गीत सोमबार लिबाङमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
गीत संग्रहको नव निर्वाचित प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले लोकार्पण गर्नुभएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला शाखा रोल्पाले आयोजना गरेको लोकार्पण कार्यक्रममा सांसद पुनका साथै अन्य प्रशासकीय प्रमुख एवम् दिग्गज व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पुनले संगीतभन्दा टाढा कोही पनि नहुने भन्दै जसलाई जुन विषयमा दख्खलता हुन्छ त्यसैमा लाग्नुपर्ने बताउनुभयो । अशोक वली ‘परिवर्तन’ संगीत क्षेत्रमै आफ्नो स्थान खोजिरहेको उर्जाशील प्रतिभा भएको भन्दै सांसद पुनले सार्वजनिक गीतको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै साहित्य र कलासँग आफू एकदमै नजिक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले अशोक वली ‘परिवर्तन’को गीतले सिर्जनाकारहरुलाई मात्र हैन रोल्पालाई नै चिनाउने बताउनुभयो ।
विमोचित उक्त गीतको समीक्षा गर्दै साहित्यकार एवम् प्रतिष्ठानका सल्लाहकार डी.बी. टुहुरोले अशोक गायक मात्र नभएर चौतर्फी प्रतिभाका धनी भएको बताउनुभयो । गीतसंगीतका साथै साहित्य र पत्रकारितामा समेत क्रियाशील अशोकको गीतले सफलता पाउने कुरामा समेत विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, नेपाल बार एशोसियसनका प्रतिनिधि एवम् अधिवक्ता जितविक्रम मल्ल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा अनुसन्धान प्रमुख मनोज ढकाल, जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्रमुख गोकर्ण पुनमगर लगायतको आतिथ्यता थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका सचिव समेत रहनुभएका अशोक ओली ‘परिवर्तन’को शब्दरचना, लय र पुरुष आवाज रहेको छ भने चर्चित गायिका राधिका पुनले महिला आवाजमा साथ दिनुभएको छ । अक्सिजन मिडिया प्रालि मार्फत् बजारमा आएको यो गीत कृष्ण पुनको एरेन्जमा म्युजिक बैंक नेपालमा रेकर्डिङ भएको बताइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगरको अध्यक्षतामा भएकोे कार्यक्रमको सञ्चालन सहसचिव भीम ओलीले गर्नुभएको थियो । प्रथम उपाध्यक्ष दिपिन थापामगरको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सिजलले गीत ‘प्ले’ गरेर लोकार्पण गर्नुभएको थियो । ओली रेडियो जलजलाका कार्यक्रम प्रस्तोता एवम् समाचार वाचक समेत हुनुहुन्छ । पाखापानी रोल्पा निवासी अशोकले यसअघि ‘जीवन जिउन पिरती लाइन्छ’ र ‘देश कस्तो बनाउने हाम्रै हातमा छ’ बजारमा ल्याइसक्नुभएको छ ।
भिडियो हेर्नुहोस
https://youtu.be/HZbBIpTcRXI
रोल्पाटुडे बाट साभार
प्रतिक्रिया दिनुहोस