संस्मरणः एउटा चिया सम्बन्धको अस्त


पुरुषोत्तम लम्साल/पोष्टपाटी ।

तत्व मिल्नपर्छ, सम्बन्ध र चिया जति गाढा भो उति वासना आउँछ । त्यसैले भाइसाथीसँग चिया पिउँदा अर्कै गाडापन महशुस हुन्छ । यसैले बाबुराम दाइको पनि सम्झना गाडा रह्यो ।

***
अस्ती अचानक एउटा मिठो सम्बन्धको अस्त भएछ । चियाको बाटो बसेको सम्बन्ध थियो त्यो ।

चिया र सम्बन्ध पूरकै हुन् । यसमध्येकै एउटा सम्बन्धले प्राण बिसाएछ । मन खिन्न भयो ।

जिन्दगीका हजारौं दिन बागबजारमा यता र उता गर्दै बित्यो । उता जाँदा पनि बाबुराम दाइ, उताबाट फर्कंदा पनि बाबुराम दाइ भनेर बितेको सम्झना हो यो ।

अझ भनौं, हाम्रा लागि बागबजार र बाबुराम दाइ परिपूरकै थिए । हामी चियाका अम्मली बाबुराम दाइ आपूर्तिकर्ता । चिया नमिठो हुँदा पनि बाबुराम दाइको मिठास र मिजासले अम्मलीलाई नशा पुगिहाल्थ्यो ।

चियाको नशासँगै घूलन हुनुभएका बाबुराम दाइले प्राण छाड्नुभएछ । हजार सम्बन्धलाई बागबजारमै छाडेर बाबुराम दाइ परलोक हुनुभएको खबरले केहीबेर स्तब्ध भएँ ।

चिया स्वभाव र चिया संगतबारे जानकार अग्रज तथा सहकर्मी लव प्याकुरेलले त्यो दुःखद् समाचार इन्बक्समा खसालिदिनुभएछ । लवजीले एउटा चिया सम्बन्धमाथि न्याय गरिदिनुभयो । धन्यवाद लवजी !

बाबुराम दाइले उमालेको चिया पिएर धेरै सम्बन्ध बुनियो । धेरै सम्बन्ध नवीकरण पनि भए । मेरा धेरै नयाँ पुराना सम्बन्धको साक्षी पनि हो बाबुराम दाई र बाबुराम दाइको चिया पसल । ती सम्बन्धजस्तै बाबुराम दाइसँगको सम्बन्ध अझ बढी अमेट्य बनाइदिनुभयो लवजीले ।

‘लवजी कता हो ?’ म सोध्ने गर्थे ।
‘उही तपाईको ओपन टी हाउस’, लवजीको उत्तर आउँथ्यो ।

बागबजारको बाटो निशाना लगाएपछि मित्र नेवा खल (लक्ष्मण ढंगोल)ले लख काट्थ्यो ‘तपाईले डुबाउँछ अब’ ।

उसलाई थाहा थियो कस्तै हतारमा पनि त्यो बाटो समातेपछि बाबुराम दाइको चियामा थकान नबिसाइ नहिंड्ने आदत जो थियो ।

‘सरको मूड के छ ?’ बाबुराम दाइलाई थाहा थियो कुन मूडमा हामी कस्तो चिया पिउँछौं । सादा कालो, मरिच हालेको, सादा सेतो, रंग गाढा, रंग हल्का, कम गुलियो, ज्यादा गुलियो आदिआदि । ‘काम बनेको दिन जुंगामा लाग्ने बाक्लो बनाइदिन्छु’ भन्नुहुन्थ्यो । ‘आज काम बिग्रियो’ बाबुराम दाई भन्नुहुन्थ्यो ‘त्यसो भए चिनी कम रंग कडा’ ।

‘म तपाईको ओपन टी हाउसमा दाब्दैछ’ जीवनशैली अर्को चिया अम्मली थियो । म ढिला भए पनि अगाडि पुगेरै बाबुराम दाईको आटीमा बसिसकेको हुन्थ्यो । बर्गाकार आटीमा कागजको बाक्सा च्यातेर बस्ने प्रबन्ध थियो, ठाउँ पाउने बस्यो नत्र उभिएरै बुत्यायो र बाटो लाग्यो ।

तीन वर्षको प्रवास बसाईपछि अठार महिनाअगाडि सखारै पुग्दा झस्यांग जस्तो भएर पुरानै शैलीमा बात मार्न थाल्नुभएका बाबुराम दाईको तस्वीर झल्झली आयो । ‘तपाईका दुई चारजना अझै आउने जाने गर्छन्’ चिया टोलीको सम्झना गनेर राख्ने बाबुराम दाइले खुसीको खबर साटेका थिए बहिनी (छोरी) अस्ट्रेलिया गएकी बारे । बाबुराम दाइका सानासाना छोरी र छोरा सिद्धार्थ वनस्थलीमा पढ्न शुरु गरेदेखि नै सोधीखोजी हुन्थ्यो । ‘लाठे भो नि सर’ छोराले पढाई र काम शुरु गरेपछि हौसिएर भन्थे बाबुराम दाइ ‘त्यसले अब चियासँग लडाई गर्नपर्दैन ।’

धूपमा पसिना बगाउँदै दाजुभाईलाई अंशबण्डा गरेजस्तो आधा फक्ल्याटो भएको पिर्कामा बसेपछि “खुनलाई खुनले’ गुनलाई गुनले र गर्मीलाई तातो चियाले काट्ने हो” भन्थे बाबुराम दाई।

यो दु:ख काट्न पनि दु:खै गर्ने हो भनेर ढाढस दिने बाबुराम दाइ दु:खसँग पौठेजोरी खेलेरै परलोक हुनुभो।

चिया लत हो कि कूलत ? बहस हुनसक्ला । के हो भन्ने मलाई अझै थाहा छैन । चिया सम्बन्धको सेतु पक्का हो चाँहि भन्नसक्छु । तत्व मिल्नपर्छ, सम्बन्ध र चिया जति गाढा भो उति वासना आउँछ । त्यसैले भाइसाथीसँग चिया पिउँदा अर्कै गाडापन महशुस हुन्छ । यसैले बाबुराम दाइको पनि सम्झना गाडा रह्यो ।

पहाडको घरमा डेक्चीमा उमालेको, त्यसपछि केट्लीमा उमालेको थाहा पाएदेखि चियाको लत लाग्यो । लत अर्थात् नियमित सेवन । हाम्रो समाजमा बोली नफुटे पनि चिया चाँहि चम्चाले भने पनि खुवाइन्छ । फाइदा बेफाइदा दैब जाने !, ‘चिया त हो’ भनिन्छ र खुवाइन्छ । हातले स्टीलको गिलास समाउनसक्ने भएदेखि आजपर्यन्त चियासँगको साइनो उस्तै छ । र, यो साइनोमा सबैभन्दा धेरै पटक भेट भएका पात्र हुन् बाबुराम दाइ । त्यही साइनो छुट्यो ।

किशोरवयमा म चियाको दास झैं थिएँ । भन्नेले ‘तँ चियाको पारखी छस्’ भन्थे, तर खासमा चिया मेरो मालिकबराबर थियो । यसैले चियाको पछि लागेर मात्र मैले काठमाण्डौका कयौं चोक र गल्ली मज्जाले चहारेको छु । यसैले काठमाण्डौका प्रायः वस्तीमा चिया पिउने साधारण तर विशेष पसल थियो । स्नातकोत्तर बागबजारकै माइलस्टोनमा ट्यूसन पढाउने क्रममा जुरेको हो बाबुराम दाइको साधारण तर विशेष चिया पसल । चौध वर्षदेखिको साक्षात्कार र सम्बन्ध अब रहेन ।

मट्टितेलबाट चल्ने एउटा ठूलो स्टोभ, तीनवटा दिउरी, दूध उमाल्ने ठूलो डेक्ची । दायाँ डाल्डा घ्यूको खाली ढ्वांग थियो पाकेको पत्ती खसाल्ने । कालो चियाका लागि अलग्गै भाँडा जुन देब्रेपटिको सानो बाक्साभित्र हुन्थ्यो । बाक्साभित्र मरिचको धुलो, केही गोडा कागती, सूर्य चुरोको एकाध बट्टा र चिनी चियापत्तीको जोगाड रहन्थ्यो । हुस्सु, तुसारो र पानीको बेला ठूलो छाताको ओत । यत्ति हो बाबुराम दाइको चिया पसलको आवरण । यही आवरण हामी भुईमान्छेहरुको सुख र दुःख बिसाउने चौतारी जस्तै थियो ।

‘सर ! यो नाम फेर्न मिल्दैन भन्या ?’ बाबुराम दाइलाई उच्च तहका राजनीतिक नेतासँग नाम जोडेर मान्छेले खिस्याउँदा झोंक चल्थ्यो ।

‘नाम चलेको मान्छेसँग नाम मिल्नु पनि कम्ता सास्ती हुँदैन’ देब्रे कानमा सिउरिएको चुरोटलाई बलिरहेको स्टोभमा कागज जोडेर सल्काएपछि शुरु हुन्थ्यो फलानो र ढिस्कानोको बात । बोल्नका लागि उनको आफ्नै शैली र थेगो थिए । मिठा थिए ।

एउटा सग्लो र एउटा आधा भाँचिएको पिरा (पिर्का) थियो बस्नका लागि । भित्तामा अड्याइएको पानीको ठूलो जार र सँगै थियो बालुवा भरेर राखिएको एउटा बोरा । ती बोरा र पिरा पनि ग्राहकको चित्त बुझाउने ठूला सर्जाम थिए बाबुराम दाइका । विद्यार्थी कार्यालय पस्ने ढोकाको छेउमा शिशाका दर्जनौं गिलासहरुमा बाबुराम दाइले निकाल्ने संघर्षको धून हुन्थ्यो, जीजीविषाका भाका मिसिएका ।
सबै बिरानो भए होलान् ।

धेरै भाइसाथीले चिया दुव्र्यसनी भने, हाँसेर सहियो । यसो भन्ने पनि तिनै थिए जोसँग कुम जोडेर चियाको चुस्की लिन्थ्यौं ।

बिरामी भएर अस्पताल जाँदा पनि डाक्टर भन्नेहरुले चिया कम गर्नुस् त भने तर चिया छाड्नुस् चाँहि भन्न सकेनन् । तीन महिना अस्पताल बसाईपछि फर्केर एकाबिहानै दैलोमा चियाको गुणगान गाउन आउँदा खिन्न भएको बाबुराम दाइको मन नै चिया सम्बन्धको सग्लो तस्वीर लाग्थ्यो । तस्वीर तस्वीरै हो, दुःख हेर्न पनि र सुख हेर्न पनि हाम्रा लागि बाबुराम दाइ सेतु थिए ।

झण्डै दश वर्ष काठमाण्डौको धुवाँमा, धुलोमा, धूपमा, झरीमा, हुस्सुमा, ठण्डीमा सबै याम र मौसममा आँत बिसाउने ठाउँ थियो त्यो । काठमाण्डौमा भएको दिन सकेसम्म दिन नबिराई चिया पिउन पुगिने ठाउँ । ओपन टी हाउस अर्थात् बाबुराम दाईको चिया पसल ।

खराब सम्बन्ध र चियाको नाता त्यति हुन्न, भए नि मिठो हुन्न । यसैले सम्बन्धकै लागि, भाइचारा जोगाउनै औ मन राख्नै पनि चियामा नाइनास्ती गरिएन ।

‘भर्खरै पिएको हूँ, भनिहाल्नु भो !’ भन्दै खुसीसाथ अरु धेरै कप पिइयो । यही स्वभावले गर्दा एउटै थलोमा बसेर दर्जनभन्दा बढी कप चिया बुत्याइयो ।

‘चिया पिएरै मर्ने भए सर त उहिल्यै सिल्टिम्मुर हुनपर्ने है ?’ बाबुराम दाइको यो प्रश्नमा ‘आजलाई चिया धेरै भो है’ भन्ने सन्देश हुन्थ्यो ।

म चियाको दुव्र्यसनी चिया पिएरै मरिन । एक दशक चिया र बातले साथ दिने बाबुराम दाइ परलोक हुनुभो । म बाबुराम दाइको आत्माको शान्तीको कामना मात्र गर्नसक्छु ।

खासमा दिनको उल्टो रात होइन। महिलाको उल्टो पुरुष होइन। दिन र रात पूरक हुन्। महिला र पुरुष पनि त्यस्तै पूरक हो। बाबुराम दाइको पूरक भएर भाउजुले निभाएको साथ, बराबर काडेको पसिना, बराबर सहेको आँधी र असिनाको अर्को भाग हुनसक्छ।

भाउजु र छोराछोरीलाई यो वियोग सहेर जीवनसँग संघर्ष गर्न सफलता मिलोस् ।

२३ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको