गायिका अन्जु पन्तले एकीकृत बस्ती बनाउने


मंसिर २३, मोर, पर्सा । अन्जु पन्त फाउन्डेसनले जिल्लाको पटेर्वासुगौली गाउँपालिका ४ स्थित मोर टोलमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ ।

गायिका अन्जु पन्त पर्साको पटेर्वासुगौली गाउँपालिकाको मोर बस्तीका बासिन्दासँग छलफल गर्दै । उनले यहाँ एकीकृत बस्ती निर्माण गर्ने भएकी छन्, यो खबर हामीले कान्तिपुर दैनिक बाट लिएका हौ ।

गत वर्ष भदौ २७ गते राति टोल पूर्वको भलुवाई खोलाको भेल गाउँ पसेर ध्वस्त बनाएको थियो । स्थानीयको पीडा बुझ्न यसै साता मोर टोल पुगेको गायिका पन्त सहित फाउन्डेसनका पदाधिकारीहरूको टोलीले यहाँ एकीकृत बस्ती निर्माणको निर्णय गरेको हो ।

गत वर्षकै बाढीपीडित मोरबासीले हालसम्म भत्किएका आफ्ना घरहरू ठड्याउन सकेका छैनन् । चरम गरिबीको पीडा भोग्दै गरेका उनीहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिबाट पाउने प्रतिपरिवार २५ हजार राहत रकम अझै पाउन सकेका छैनन् ।

फाउन्डेसनकी अध्यक्ष गायिका पन्तले मोर बस्तीबासीको पीडा कहालीलाग्दो रहेको बताइन् । सिंगो टोलमा एउटा पक्की घर रहेको र गत वर्षको बाढीमा सबै टोलबासीले त्यही पक्की घरको छतमा बसेर ज्यान जोगाएको कुरा सुन्दा आफू मर्माहत भएको उनले बताइन् ।

आफ्नो फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माण गर्ने गत वर्षदेखि नै सोंच रहेकोमा आफूले यही टोल छनोट गरेको उनले बताइन् । स्वदेश तथा विदेशमा रहेका आफ्ना कतिपय प्रशंसक तथा शुभचिन्तकहरूले नेपालको कुनै एउटा गाउँमा यस्तो बस्ती निर्माण गर्न सुझाव दिएको र त्यसका लागि आफूहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकाले बस्ती निर्माणका लागि आवश्यक रकम क्रमश: जुट्दै जानेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

‘बस्ती निर्माणका लागि चाहिने आवश्यक रकमबारे प्रारम्भिक सर्वेक्षण थालिसकेका छौं, चाँडैनै केकति रकम लाग्ने हो भनी यकिन हुनेछ,’ उनले भनिन्, ‘त्यतिन्जेल कागजी तथा औपचारिक प्रक्रियाहरू पनि पूरा हुँदै गर्नेछन् ।’ स्थानीय प्रभु मुखिया बिनले गायिका पन्तले आफूहरूका लागि पक्की घरसहितको बस्ती बनाइदिने चासो देखाएर अघि सरेपछि खुसीको सीमा नरहेको बताए ।

गतवर्ष स्थानीय तह तथा संघीय तथा प्रादेशिक संसदको चुनावताका विभिन्न दलका नेताहरूगाउँमा आएर अनेक आश्वासन र प्रलोभन देखाएर गए पनि चुनावपछि उनीहरू हराए पनि गाउँमा कहिल्यै पाइला नटेकेकी गायिकाले आफूहरूको पीडा बुझेर बस्ती नै निर्माणका लागि अघि सर्नु ठूलो पुण्यको काम रहेको उनले बताए ।

अर्की स्थानीय कोशिला देवीले डेढ वर्षदेखि कष्टप्रद जीवन गुजारा गरिरहेकोमा अब पक्की घर पाउने भएपछि अन्यन्त खुसी लागेको बताइन् । ‘अब हामीले पक्की घरमा बस्न पाउने र खोला घरमा पस्ला भन्ने चिन्ता रहेन,’ उनले भनिन्, ‘बस्ती निर्माण गर्न हामी आफैं श्रमदान गर्नेछौं ।’ सदरमुकाम वीरगन्जबाट करिब २५ किमि उत्तर पश्चिम टाढा रहेको यो गाउँमा ८१ घरधुरी छ ।

करिब ४ सय जनसंख्या रहेको गाउँमा बिन, पासवान, तत्मा, थारू, मुस्लिम आदिको बसोबास छ । कृषि मजदुरी स्थानीयको मुख्य पेसा हो । खेतीपातीको मौसममा कृषि मजदुरका रूपमा काम पाए पनि त्यसबाहेकको वर्षभरिको समय उनीहरू बेरोजगार हुन्छन् । फुसको छाप्रोबाहेक केही स्थानीयसँग खेत छ तर त्यही खेत पनि गतवर्षको बाढीले बगरमा परिणत गरिदिएको छ ।

फाउन्डेसनले एकीकृत बस्ती निर्माण गरे यो जिल्लाको पहिलो एकीकृत बस्ती हुनेछ । त्यसले मोर टोललाई पर्यटनस्थलका रूपमा विकास गर्ने, जिल्लाका अन्य सामाजिक संघसंस्थाले मोरबासीको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने सम्भावना पनि रहेको छ ।

सामाजिक अभियन्ता प्रकाश थारू गत वर्षको वर्षा र बाढीले सबैभन्दा बढी प्रभावित भएको जिल्लाको यो गाउँमा सुरुमा नेपाल उद्योग वाणिज्य महासंघले एकीकृत बस्ती निर्माणको चासो देखाएको बताए । तर विविध कारणले महासंघ हाल पछि हटेको अवस्थामा अन्जु पन्त फाउन्डेसन यो अभियानका लागि अघि सर्नु सकारात्मक रहेको उनले बताए ।

गतवर्ष महासंघले रुचि देखाउँदा स्थानीयले ऋणकर्जा गरेर गाउँको दक्षिणतर्फ १५ कठ्ठा जग्गा खरिद गरिसकेको उनले बताए । बस्ती निर्माणका लागि खरिद गरिएको जग्गामा बाढी पस्ने सम्भावना छैन । सडकको दुबैतर्फ गरी १० र ५ गरी १५ कठ्ठा जग्गा खरिद गरेका स्थानीयको संयुक्त लालपुर्जा रहेकाले अब बस्ती निर्माणका लागि फाउन्डेसनले जग्गा खरिद गर्न रकम समेत खर्च गर्नु नपर्ने थारू बताउँछन् ।

तस्बिर:पर्सा जिल्लाको सुगौली पटेरवामा बलांकेट वितरण गर्दै

२३ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको