जातले ढलेको दिलवहादुर रम्तेल


अमिल्दो उमेर । अनमेल क्लास । जातको बन्धन । त्यो कोणले हामी दौंतरी थिएनौ । र, पनि हामी मनमिल्दो साथी थियौं । मोजाको फुटबलले हाम्रो दौंतरी जोडेको थियो । उमेर,जात र वर्ग नमिलेपनि गाउँकै ब्रम्हचारिणी निमावि (गोरखा, पान्दुङ–२) ले दिल (रम्तेल ) तिम्रो र मेरो भेट गराईदिएकोथियो । पछि त्यहि स्कुल नै हाम्रो बिछोडको थलो बनिदियो ।

म कहिल्यै बिर्सन सक्दिन, त्यो कालो दिन जसले हाम्रो मित्रताको धागो चुँडाईदिएकोथियो ।

अझै मन कटक्क दुख्छ ,त्यो दिन सम्झँदा जुन दिन हामी अनाहकमै कक्षा छाडेर रमिता हेर्न स्कुलको हाता नाघेकाथियौं । नजाने पनि कुनै कारण थिएन । अरु सबै साथीहरु पनि त गएकै थिए । पहिलो पल्ट पुलिसले मान्छे समातेको समाचार हाम्रो कानमा आईपुग्यो । सूर्य ज्योति मा.वि.का प्रअ वीर बहादुर गुरुङ्गलाई माओवादीको आरोपमा प्रहरीले पक्राउ गरेको सुन्यौं । हुल बाँधेर मान्छे गए प्रहरीले छादिदिन्छन् भनेपछि हामी पनि त्यता लाग्यौं ।

त्यहाँ पुग्दा अजिवको रमिता थियो । प्रहरीले बीर सरलाई घिसार्दै लगिरहेकाथिए, अभिभावक र विद्यार्थी ढुङ्गामुढा गर्दै पछिपछि लागिरहेकाथिए । दिल याद छ, तिमी र म पनि त्यो भीडमा मिसियौं जहाँको वातावरण निकै तनावपूर्ण थियो ।

ढ्याम्म ! ढ्याम्म !!

मेरो कोख चसक्क चस्क्यो । तातो महसुस भो । च्याप्प छामे । त्यहाँबाट भलभल खुन बगिरहेकोथियो । प्रहरीले चलाएको गोलीले मेरो कोख छेडेर गएको रहेछ । यसो हेरेको माथिल्लो गरामा तिमी लडेर छटपटाईरहेकाथियौं । पीडाले असह्य भैरहेकोथियो । तर साथी म तिमीलाई भेट्न हुर्रिदै माथिल्लो गरा उक्लिन असफल प्रयास गर्दाे रहेछु । कसैको नजर लागेछ क्यार ! त्यतिबेला गोलीले पनि हामी दुई दौंतरीलाई नै छानीछानी खोजे झैं लाग्यो ।

प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि मान्छेको भागामभाग चलिरहेकोथियो । सबै चिच्याईरहेको सुनिन्थ्यो । एकछिनमा गाउँलेसंग बुवा आउनु भो र मलाई उठाएर लग्नु भो । दिल तिमी नछुने जात भएकै कारण कसैले हात लगाउन खोजेनन । दलितलाई छोए जातच्यूत होइन्छ भन्ने सामाजिक कुरिती मान्छे मान्छेको दिमागमा थियो । त्यसैले त्यस्तो बिपत्तिको बेलामापनि कसैले तिमीलाई उठाएनन । मैले हेरिरहे मात्र गर्न केहि सकिन । सामाजिक चिन्तनले मान्छे कसरी कथपुतली हुँदारहेछन् भन्ने मैले पहिलोपटक प्रत्यक्ष भोगेको त्यहिं हो ।

नजिकै बाहुन समुदाय बस्ने बस्ती भएकोले मेरो अवस्थाबारे घरमा तत्काल खबर पुग्यो । मलाई उठाउन सबै क्षणभरमै आईपुगे । तर दिल तिम्रो बस्ती अलिक पर भएको र बुवा खेतमा जोत्न जानु भएकोले ढिला आईपुग्नु भो । त्यसमाथि समाचार पुर्याउने मान्छेपनि ढिला गए ।

हामीलाई साढे दुई बजेतीर गोली लागेकोथियो । मलाई हतार हतार अस्पताल दौडाईयो । साढे तीन बजे गोरखा सदरमुकाम पुगिसकेकाथियौं । त्यहाँबाट पाँच बजेभित्र हेलिकप्टर काठमाण्ठौ आईपुग्यो।

काठमाण्डौ ओर्लिदा सुने तिम्रो बुवाले आफन्त जम्मा गरेर आउँदा तिमी त्यहि गरामा लडिरहेकाथियौ रे । गोलीको पीडा कस्तो हुन्छ त्यो मैले भोगिरहेकोथिए । तर तिमीले समाजले दिएको थप पीडा पनि संगसंगैं पचाउने प्रयत्न गरिरहेकाथियौं । म कल्पना मात्र गर्नसक्छु, त्यत्रोे प्रतिरोधक क्षमता तिमीले कहाँबाट प्राप्त गरेकाहौंला ?

प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि मान्छेको भागामभाग चलिरहेकोथियो । एकछिनमा गाउँलेसंग बुवा आउनु भो र मलाई उठाएर लग्नु भो । दलितलाई छोए जातच्यूत होइन्छ भन्ने सामाजिक कुरिती मान्छे मान्छेको दिमागमा थियो । त्यसैले त्यस्तो बिपत्तिको बेलामापनि कसैले तिमीलाई उठाएनन । मैले हेरिरहे मात्र गर्न केहि सकिन ।

पाँच बजे म काठमाण्डौ ओर्लिसकेकोथिए । तिमीलाई त्यहाँबाट भर्खर उठाउने तरखर भैरहेकोथियो । सुनेर मन कटक्क खायो । यता मेरो उपचार चलिरहेकोथियो उता तिमी पीडाले छट्पटिईरहेकाथियौ । तिम्रो सुर्ताले म हरपल तिम्रो बारे सोधिरहेकोथिए । राती नौ बजे दुःखद खबर सुन्नु पर्यो । उपचारकै क्रममा गोरखा जिल्ला अस्पतालमा तिमीले हामीलाई छाडेर गएछौं । मलाई एक्लो बनाई गएछौ । म स्तब्ध थिंए ।

जातले लग्यो

मलाई अझै सम्म मन भित्र गड्ने कुरा यहि हो – कथित उच्च जात भएकै कारण मेरो ज्यान जोगियो । बाल्यकालको मिल्ने साथी जातकै कारण समयमा उपचार नपाएर मर्नु पर्यो । यसले मलाई अहिलेसम्म पोलिरहन्छ । यो समाजले तिमीलाई जनयुद्धको प्रथम सहिद बनाइदियो र मलाई प्रथम घाइतेको ठप्पा लगाईदियो ।

२०५२ साल फागुण २ गते माओवादीले जनयुद्ध गरेको १२ दिनपछि हामी दुई दौंतरीले गोली खायौं । नाबालक हामीलाई के थाहा तर हामी देशको राजनीति उथलपुथल पार्ने सशस्त्र संघर्षको अभिन्न अंग बनि ईतिहासमा दर्ज भयौं । दश बर्षीय बालक तिमी सशस्त्र संघर्षको पहिलो शहिदमा दरियौ । म पहिलो घाईतेको खिताब बोकेर बाँचिरहेकोछु । तिमीले कसरी सोंच्छौ तर मलाई चाहिं कहिलेकाहिं यो उपाधिले गिज्याए झैं लाग्दछ ।

तिमी त गयौ । म उपचारपछि स्कुलमा फर्किएपनि घाउको आलो सन्चो नभएर त्यहाँबाट पीप निस्कन्थ्यो । साथीहरुले ‘रामे अब मर्छ ‘ भन्दै जिस्काउँथे । आजभोली समाजले ‘जिउँदो शहीद’ भनेर गिज्याउँछन् । यसो गम्दा ईतिहास दोहोरिए जस्तो पनि लाग्दछ । हिंजो आततायी राणाशासनको विरोधमा उत्रिएका चार शहिदहरु नेवार भएका कारण मृत्युदण्ड काविल भए । बाहुन भएका कारण रामहरि शर्माहरुलाई ज्यान बख्स दिईयो र जिउँदो शहिद कहलाउन योग्य ठानियो । यो चिन्तनको भारीले मलाई अहिलेपनि थिचिरहेको जस्तो लाग्दछ ।

क्रान्ति कि भ्रान्ति

माओवादीको दश बर्षे जनयुद्धले सत्ताको संरचना बदलिएकोछ । गणतन्त्र आएकोछ । पात्र फेरिएकाछन् । जनयुद्धका नाईकेहरु सत्तासीन छन् । तर के संरचना बदलिएको छ त ? यो सत्ता निर्माणमा मेरो अभिन्न मित्र दिल रम्तेलको बलिदानी छिपेकोछ । मेरो खुनको बलिन्द्रधाराले सिंचन गरेकोछ ।

साथी गोलीले जर्जर बनाएको मेरो ज्यान अझै निको भइसकेकोछैन । बिसेक होला भन्ने पनि लाग्दैन । नियमति औषधि खाएर जिवनयात्रा घिसारिरहेकोछु । म बारम्बार गम्छु र बर्बराउँछु – हाम्रो सामाजिक संरचनाले तिम्रो बध गर्यो त्यहि संरचनाले मलाई उद्दार गर्यो ।तर म बाँचेर जे देखिरहेकोछु, जे भोगिरहेकोछु । कहिलेकाहीँ त लाग्छ बरु तिमीसंगै मरेर गएकोभए यत्रो सास्ती त भोग्नु पर्दैनथ्यो । म तिम्रो घर हेर्छु । हामी पढेको खेलेको चौर चहार्छु । समाज नियाल्छु । अहँ केहि बदलाव छैन । ब्यवस्था बदलिएकोछ, संरचना जहिंको तहिं छ जहाँ तिमीले छाडेर गएकाथियौ ।

देशमा यत्रो परिवर्तन ल्याउन बलिदानी दिएको तिम्रो त्यागको कदर छैन । अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनुहुन्छ । सरीमाया काकी अझै एक गाग्री पानी थाप्न उकालो ओरालो गर्नुहुन्छ । यो सबै देख्दा तिमीलाई पनि समाजले गिज्याएजस्तो लाग्छ होला है ?

समाजले के भन्ला भन्ने प्रवाह नगरी हामी संगै खेल्थ्यौं, संगै खान्थ्यौं । मलाई अझै याद छ जब हामी खेलेर मेरो घर आई पानी खान्थ्यौं, आमाले तिमीलाई अम्खोरा छुन दिनुहुन्नथ्यो तर म तिमीलाई लुकाएर दिन्थे । तिमीले छाडेर गएको दुई दशकपछि पनि यो चिन्तनमा तात्विक परिवर्तन भएको म देख्दिन ।

जनयुद्धको १० वर्षे अन्तरालमा हाम्रो जस्तो हजारौ परिवारको काँधमा पीडा थपियो । तिमी जस्ता हजारौं मरे, म जस्ता हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफको प्रतिक्षामा छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । तर तिम्रो सम्मानको लागि र हामीले पाउनुपर्ने न्यायको लागि म सदैव लड्ने प्रणमा छु । निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैं सम्झिन्छु । त्यहि निष्कलंक, निर्दाेष र उत्प्रेरक चेहराले मलाई बाँच्ने आधार दिएको छ । मित्र म तिमीलाई वध गर्ने साँस्कृतिक सत्ताको मनोबल तोड्न पनि दु:खपर्यत्न यो मर्त्यलोकमा प्रतिरोधको जिन्दगी बाँच्न अभिशप्त छु ।

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको