बंगलादेशमा नेपाली ‘नौगेडी’


दक्षीण एसियाली देशहरुको साझा समस्याको रुपमा रहेको छुवाछुत प्रथा र चेलीबेटी बेचबिखनको विषयवस्तुमा आधारित नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभलमा मञ्चन हुने भएको छ ।

आगामी मंगलबारदेखि असोज २८ गतेसम्म भूमिज थिएटरले बंगलादेशको पञ्चगढमा आयोजना गर्ने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ले भाग लिनलागेको हो ।

नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् । नाटक आदि इत्यादिको ब्यानरमा प्रस्तुत हुनेछ । नौगेडी असोज २६ गते अक्टुबर १२ तारिखमा मञ्चन हुनेछ ।

नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, रीता थापा, जयराम तिमल्सिना,आइपी आचार्य, अनन्तप्रकाश श्रेष्ठ, मञ्जु गिरी, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, भीष्म जोशी, जेबी डिसी, केदार बोहोरालगायतले अभिनय गरेका छन् ।

महोत्सवमा नेपालसंगै भारत, बंगलादेश, भुटानलगायत विभिन्न देशका नाटक मञ्चन हुनेछन् ।

यसअघि आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको ‘पानीघट्ट’नाटक भारतको कोलकातामा मञ्चन गरेको थियो । नेपाली जनजीवनको पाटो समेटिएको ‘पानीघट्ट’लाई कोलकातामा दर्शक र विभिन्न देशका सहभागिले रुचाएका थिए ।

आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाले गत फागुनमा भारतको कोलकातामा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागि बंगलादेशका नाट्य टीमको सिफारिसमा नेपाली नाट्य समूहलाई बंगलादेशमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको बताए ।

‘पानीघट्टबाट प्रभावित बंगलादेशी टोलीले हाम्रो नाम महोत्सवका लागि सिफारिस गरेछ, नाटकका निर्देशक लम्सालले भने ‘यो पटक सन्दर्भ नेपाली समाजको भए पनि दक्षीण एसियाको साझा मुद्दाको प्रतिनिधित्व हुने गरी नयाँ नाटक ‘नौगेडी’ तयार पारेका हौं ।’

‘नौगेडी’ नुवाकोटको प्रशिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा तयार गरिएको हो’, लम्सालले भने -‘यसमा समाजमा विद्यमान छुवाछुत प्रथा र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजिएको छ ।’

‘नौगेडी’ पहिलोपटक बंगलादेशमा प्रदर्शन हुनलागेको हो।

२३ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको