कोसेली बोकेर प्रकाण्डको घरमा प्रहरी: बहिनी भन्छिन जनयुद्धमा दाजुभाइ गुमायौँ, हामीले के पायौँ?


भदौ २४ कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको घरमा प्रहरीको टोली पुगेको छ । नेकपाको राजधानीका रुपमा चिनिएको कालिकोटको नरहरिनाथ गाँउपालिका–६ माल्कोटस्थित प्रकाण्डको घरमा जिल्ला प्रहरी कार्यालयय कालिकोटका प्रमूख डिएसपी विनोद शर्माको नेतृत्वको प्रहरी टोली पुगेको हो ।

माल्कोटस्थित प्रकाण्ड जन्मको घरमा बहिनी जैपुरा बिक र बुवा पहलबहादुर बिक बस्दै आएका छन् । डिएसपी शर्मासहितको प्रहरी टोलीले प्रकाण्डका बुवा र बहिनीसँग भेट गर्नुका साथै कोसेली पनि दियो, यो खबर आजको अन्नपूर्ण पोष्टमा बिस्न प्रसाद न्यौपानेले लेखेका छन।

जिल्ला प्रहरी प्रमुख डीएसपी शर्मासहितको प्रहरी टोली नरहरिनाथ गाँउपालिका–१ कोटवाडा हुँदै नेकपाका पोलिट्ब्युरो सदस्य एटम बिसीकी आमासँग भेट गर्दै कुमालगाँउ भएर प्रकाण्डको गाउँ माल्कोट र नेकपाका केन्द्रीयस्तरका कार्यक्रम हुने माल्कोटकै जंगलको समेत अनुगमन गरी फर्किएको छ ।

प्रहरीको टोली प्रकाण्डको घरमा कोसेलीसमेत बोकेर पुगेको हो । प्रहरीले लगेको कोसेली प्रकाण्डकी बहिनी जैपुरालाई दिइयो । परिवारका धेरै सदस्य जनयुद्धमै मारिएका तथा प्रकाण्डसमेत नबस्ने भएकाले यो घर रेखदेको जिम्मेवारी जैपुराकै काँधमा आएको छ।

प्रकाण्डकी बहिनीको प्रश्न: जनयुद्धमा दाजुभाइ गुमायौँ, हामीले के पायौँ ?

‘हामीले के पायौँ ? जनयुद्ध भयो, दुई दाजुभाइ गुमायौँ । अहिले दाजु प्रकाण्डलाई पनि ठाँउ ठाँउमा पक्राउ गरी हिरासतमा राखिरहेका छन्’, प्रहरी टोलीसँग कुराकानी गर्दै प्रकाण्डकी बहिनी जैपुरा बिकले भनिन्, तपाईँहरुले दाइलाई पक्राउ नगरिदिनुस् । भेट्टाए पनि नभेटेको रिपोर्ट गर्नुस । हामी उही पीडामा छौँ । दाजुभाइ सबै भएको भए माइत बस्नुपर्ने थिएन । अहिले माइत बसेर आमा बुवाको रेखदेख गर्नुपरेको छ ।’

जनयुद्धमा आफन्त गुमाएका सहिद परिवारहरुले केही नपाएको गुनासो पनि उनले गरिन् । ‘एक दुईजना सांसद बने, मन्त्री बने । हाम्रो न जीवन फेरियो, न अवस्था नै’, ‘भाइ बहिनीको बलिदानीको सम्मानका लागि झण्डा बोकेर हिँड्न बाध्य छौँ । बरु ज्यान गए जान्छ । दुई भाइ र एक बहिनी गुमिगए, बुवाले कहिलै सुख पाएनन् ।’

माओवादीको बुवा भनेर द्वन्द्वकालमा प्रहरीबाट कुटाई खानुु परेको पनि उनले गुनासो गरिन् । ‘बुवाले कुटाइ खाँदा उनको गल्ती छैन भनेर कसैले भनेनन्’, उनले दाजुको पटक पटकको गिरफ्तारीलाई संकेत गर्दै भनिन्, ‘एकै ठाँउको हिरासतमा दाइ भएको भए भेट्न जान हुन्थ्यो । कहिले काठमाडौँ, कहिले भोजपुर, कहिले दाङ, कहाँ गइसक्ने हो ?’

जनयुद्धको समयमा प्रकाण्डका भाइ कोपिला र युद्धा लडाईमै ज्यान गुमाएका हुन् बहिनी मानुषी शान्ति भएपछि घाँस काट्न जाँदा भीरबाट लडेर ज्यान गुमाएकी हुन् ।

२४ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको