परदेशिएका महिलाहरुलाई सन्देश


प्रिय चेली म तिमिलाई केही कुरा बताउन चाहन्छु । म तिम्रो माइती । माइती हो कि माइतीको खोल ओढेको कुनै ब्वासो हो मलाई पनि राम्ररी चिन । म जस्तै ९५ प्रतिशत तिम्रा माइतीहरु तिमीलाई गिद्धे नजर लगाइरहेका होलान् तिमिलाई नजर अन्दाज छैन । त्यसैले मलाई पनि चिन । हुनसक्छ, ती ९५ प्रतिशत भित्रको ब्वासो म पनि हुँ ।

ब्वासो नामको जनावरवाट बच्न बरु सजिलो छ । तर मान्छेको मुकुन्द ओढेका ब्वासोहरुवाट बच्न तिमिलाई मुस्किल छ । उसले तिमिलाई सजिलै फसाइदिन्छ । किनभने तिमी घरवास देखि टाढा छौ, परिवारको नियास्रो लागिरहेको वेला कोहि नजिक भएर मिठो मसिनो बोलिदेला । तिम्रो मन मैन जस्तो छ, सजिलै पग्लिन सक्छौ । आफुलाई चट्टान जस्तो वनाएर त्यस मसिनो कुराको भित्री रहस्य के हो नबुझि हुँदैन । स्वार्थी दुनियाँमा स्वार्थ नभएको मान्छे कोहि हुँदैन । कहिलेकाहीँ स्वार्थ मिल्न जान्छ, त्यो बेग्लै कुरा हो । कहिलेकाहीँ उसको स्वार्थको शिकार भइन्छ । आफु सजग नभई हुँदैन ।

यदि आफू सजग नहुने हो भने जब परिणाम बाहिर आउँछ तब त्यसको भागिदार तिमी एक्लै हुनेछौ । समाजले तिमिलाई अछुत सम्झिने छ । किनभने यो पुरुष प्रधान समाजले पुरुषलाई कहिलै दोषी देख्दैन । यो यहि समाज हो जहाँ बलात्कारीहरु खुलमखुल्ला छाती फुलाएर हिडिरहेका छन्, मानौँ पुरुषलाई सवैथोक गर्न स्वातन्त्र छ । त्यहि समाजमा बलात्कारमा परेका तिमी जस्ता छोरीहरु शिर निहुराएर हिड्नु परिरहेको छ ।

यहाँ कस्को दोष छ भनेर हेरिदैन । यहाँ हेरिन्छ कि केवल को पुरुष हो को महिला हो भनेर । मानौँ, महिला जेल भित्र थुनिएको ठुलै अपराधी हो, जसलाई सधैं साङ्लोले कसेर राखिएको हुन्छ । सामाजिक बन्धनले कसेर राखिएको हुन्छ । छोरी जताततै असुरक्षित छ । चुलोचौको, मेलापात, स्कुल, कलेज, अफिस जताततै असुरक्षितै असुरक्षित । अहिले तिमी देश भन्दा बाहिर छौ, त्यहाँ पनि तिमी असुरक्षितै छौ । जसलाई तिमी आफ्नो दाइ भन्छौ, श्रीमान भन्छौ, उसैवाट असुरक्षित छौ ।

तिमिलाई सानैदेखि यहि अभ्यास गराउदै आइएको छ । बेलुकी घर बाहिर घुम्न गयौ आमाले भन्नु भएकै होला कि, छोरी मान्छे अबेला बाहिर जानू हुँदैन । यदि तिमी मस्तिले हाँस्यौ भने पनि छोरी मान्छेले त्यसरी हाँस्नु हुदैन भनिन्छ । अनि छोरी कसरी बाच्नुपर्छ त ? केवल दासी भएर पुरुषको आदिपत्य सहेर । समाजले यहि सिकाएको छ ।

तर तिमिलाई मैले चाहिँ बहादुर छोरी मानेको छु । सामाजिक परम्पराका तमाम सिमा र बन्धनहरुलाई टोडेर, देशको सिमा नाघेर बिदेशमा आएर उत्पादनसंग जोडिएर पुरुष निर्भर महिलाको जिवनशैलीवाट माथी उठ्न जुन साहस गरेका छौ, त्यसलाई मैले स्यालुट ठोक्न चाहन्छु । महिलाहरू चुलोचौकोमै गृहिणी भएर जीवन बिताउनुपर्छ र पुरुषले मात्रै घर बाहिर गएर कमाउनुपर्छ भनेर उपदेश दिने समाजलाई दिएको यो चुनौती सामान्य होइन । यसमा तिमिले गर्व गर्नुपर्छ ।

यो आलेख लेखिरहदा मैले थुप्रै सामाजिक क्षेत्रका मानिसहरुलाई सोधेको थिएँ कि `कस्तो खालको महिलाहरु बिदेश आएको देख्नु भएको छ ?´ मैले ९५ प्रतिशत पाएको जवाफ जस्ताको तस्तै राखेको छु । `घरवार बिग्रेको, श्रीमानले छोडेको, डिभोर्स भइसकेको वा बिग्रेको केटी बिदेश आउने गर्छ ।´ मलाई यी जवाफहरु सुनेर अचम्म लाग्छ कि उनिहरु बिदेश आउनुको कारण उत्पादनसंग जोडिएको पुरुष आदिपत्यलाई टोडेर आफ्नै खुट्टामा उभिनको लागि बिदेश आएका हुन् भनेर कसैले सत्य बोलिदिएन । कम्तिमा पनि आफु बिदेशिएको कारण एउटा आर्थिक बाध्यता हो भनेर आम रुपमा कसैले बुझिदिएन । बरु जवाफमा पाइन्छ कि बिग्रेको केटी बिदेश आउँछ । यो जवाफ मलाई पचेन र यो मनको कुरा तिमीहरुलाई सुनाउन खोजेको हुँ ।

जजसले तिमिलाई बिग्रेको केटी भन्छ, उनिहरु कुनै सप्रेका मान्छेहरु भने होइनन् । कतिपयले मञ्चमा खादा लगाउदा सप्रेको जस्तो देखिन सक्छन् । तर उनिहरुवाटै मानव तस्कर भइरहेको पनि हुन सक्दछ । उनिहरुवाटै तिमी जस्ता छोरीचेलीहरुलाई यौन शोषण गरिरहेका पनि हुन सक्छन् । माया जालमा फसाएर दु:खले कमाएको पैसा लुटिरहेको पनि हुन सक्छन् । मैले यस्ता धेरै कहानी देखिसकेको छु । यदि कसैले तिमिलाई बिबाह गर्छु भनि प्रस्ताव गर्छ भने सिधै भनिदिनु कि छातीमा दम छ भने मेरो हात समातेर समाजलाई देखाएर सात फेर लगाउनु । सच्चा प्रेम गर्नेले तिमिसङ्ग सात फेर लगाउन तयार हुनेछ । यदि फेक हो भने अब देखि इमो, वाइट्स एप र म्यासेन्जरमा उप्रान्त दुख दिनेछैन । यदि समभोग मात्रै हो भनेपनि तिमी स्वातन्त्र छौ । मैले तिमी शोषित हुनु भएन मात्रै भन्न खोजेको हुँ ।

तिमी किन बिदेशमा आयौ ? यो प्रश्न आफुलाई सधैं सोधिरहनु पर्छ । जवसम्म यो प्रश्नको जवाफ ठिक ढंगले दिन सक्छौ तब तिमिलाई कसैले झुकाउन सक्ने छैन । यो समाजले के भन्छ ? त्यो सोच्दै नसोच्नु बेश । समाज तिम्रो पक्षमा कहिले पो थियो र ? यो समाजको एउटा मान्छेले तिमी पठान र बङ्गालीसङ्ग लहसिएको मात्रै देख्छ । जब कि उहि सज्जन मान्छेको म्यासेन्जर र इमो मात्रै चेक गरियो भने थाहा हुन्छ कि उ कतिको सज्जन छ । सबैभन्दा बढी अश्लील म्यासेज, फोटो र भिडियोहरु उनैवाट पठाईएको हुन्छ । उ त सज्जन हुँदै होइन, यति चाहिँ म पक्कै भन्न सक्छु । यदि उ सज्जन हो भने तिमिलाई तल्लो स्तरको वचनको बाण हान्ने थिएन । म त यति नै भन्छु, तिमिलाई धन्यवाद, कम्सेकम उसलाई भाउ त दिएनौ । भाउ नपाएपछि तिम्रो बेइज्जत गरेको हो भनि हल्का टिप्पणी गरिदिए पुग्छ । यसको लागि दिमाग खियाउन आबस्यक्ता छैन ।

लेखक पोष्टपाटीका सह सम्पादक हुनुहुन्छ ।

२०७५ श्रावण २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको