साउन २४ कालिकोट। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि उनको गृहजिल्ला कालिकोटमा विरोध सुरु भएको छ ।
नरहरिनाथ गाँउपालिका माल्कोटमा जन्मो नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि जिल्लाका स्थानीय नागरिक, सत्तरुढ र प्रतिपक्षी दलका नेता र तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय सरकारका प्रमूखहरुलेसमेत विरोध जनाएका हुन् ।
पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवाल र तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले सामाजिक सञल फेसबुकमार्फत प्रकाण्डको पक्राउको विरोध गरेका हुन् ।
तीनैजना तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाँउपालिकामा विजयी भएका हुन् । पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले प्रकाण्डको फोटो राखेर कडा प्रतिक्रिया दिएका छन् । ‘दुला भित्रको सर्पसँग जिस्किँदा राम्रो प्रतिक्रिया कुनै कालखण्डमा देखिएकै छैन’, उनले लेखेका छन्, ‘विनाशर्त रिहा गरेकै राम्रो ।’
तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले दमनले विस्फोट हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनी पनि नेकपा माओवादी केन्द्रबाटै नगर प्रमुखमा बिजयी भएका हुन् ।
यस्तै पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले पनि आफ्नो यो यो कामले सरकारबारे राम्रो संकेत नदिएको बताएका छन् । ‘यो राम्रो संकेत होइन, बिनाशर्त रिहा गरियोस ।’
उनले पनि प्रकाण्डलाई पक्राउ गरेर सरकारले राम्रो काम नगरेको प्रतिक्रिया दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कालिकोटमा सहसचिव दमनबहादुर शाही र सत्तापक्षकै नेकपा कालिकोटका नेता दुर्गाप्रसाद काफ्ले लगायतका अन्य नेताले पनि प्रकाण्ड पत्राउको विरोध जनाएका छन् ।
नेपाली कांग्रेस कालिकोटका सहसचिव शाहीले सरकारको शक्ति यी नेताको गिरफ्तारीसित झुक्नुनै हो भनेका छन् । यस्तै सत्ताधारी नेकपा कालिकोटका नेता दुर्गाप्रसाद काफ्लेले प्रकाण्ड कुनै नाम मात्रै नभइ यो दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको प्रतीक भएको बताएका छन् ।
दुई भाइ र एउटी बहिनी गुमाएर पनि निरन्तर राजनीतिमा सक्रिय प्रकाण्डको गिरफ्तारीविरुद्ध जिल्लाका नेता एकै ठाउँ उभिएका हुन् । ‘जसको बलिदानीले गणतन्त्र आयो, उनैलाई हत्कडी भिराउनु न्यायोचित होइन’, नेताहरुले भनेका छन्, ‘सरकारले बिनासर्त रिहा गर्नुपर्छ ।’
अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस