साउन २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ ।
बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो । बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।
त्यस्तै, बैठकले केही समयअघि पारित गरिसकिएको विधान र नियमावलीलाई थप व्यवस्थित ढंगले संगठन सञ्चालन गर्नका लागि त्यसका विभन्नि विनियमहरु, निर्देशिकाहरु, आचारसंहिताहरु निर्माण गर्ने प्रयोजनका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ ।
कार्यदलमा नेताहरु सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । यसअघि पार्टी एकतालगत्तै विधान र नियमावली पारित भैसकेको छ ।
बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय समेत गरेको छ भने साउन मसान्तभित्रमा राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस