साउन २४, दाङ । राप्ती अञ्चलको प्रवेशद्वारको रुपमा रहेको देउखुरीको भालुवाङ पुल्चोक बजारमा सडक भत्किदै जान थालेपछि सडकको अबस्था बेहाल बनेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ भित्रपर्ने भालुवाङ बजार क्षेत्रमै रहेको सडक ठाउँ–ठाउँमा भत्किएको धेरै समय बितिसक्दा पनि सम्बन्धित सरोकारवालाले मर्मत गर्न ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।
सडक भत्किएको धेरै समय बित्दै जाँदा पनि मर्मत नभएपछि बजार क्षेत्रमा बर्षा परेको समयमा खाल्डाहरुमा पानी जम्ने तथा घाम लाग्दा धुलो उड्ने गरेको छ ।
भत्किएको सडक मर्मत नगर्नाले पनि सडक थप जीर्ण भई भात्किदै जाने गरेको छ । राप्ती अञ्चलको गौरबका रुपमा रहेको भालुवाङ बजारमा आउजाउ गर्ने ब्यक्तिहरुले उक्त बजारको हालत यस्तो हुँदा अन्य क्षेत्रको अवस्था कस्तो होला ? भनी प्रश्न गर्ने गरेका छन् ।
भालुवाङ बजार क्षेत्रमा रहेको कालोपत्रे सडक भत्किएसँगै सवारी साधनहरुलाई आवतजावत गर्न जोखिम बढ्नुका साथै बजार क्षेत्रको सुन्दरता समेत हराउँदै जान थालेको छ । सडक भत्किएका ठाउँमा पैदल हिंडन समेत समस्या पर्ने गरेको छ ।
खाल्डाखुल्डी भएको स्थानमा सवारी साधनहरु तर्काएर हिंडदा पैदल हिड्नेहरुलाई पनि जोखिम बढेको हो । बजार क्षेत्रमा सडक भत्किएपछि हिड्ने पैदल यात्रीको साथै मोटरसाइकल चालकहरु निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय सिता केसीले बताएकी छिन् ।
सडक बिग्रन– भत्कन थालेको बर्षौं नाघिसक्यो’ जिसीले भनिन्, ‘भत्किएको लामो समय हुँदा समेत ध्यान नदिनु दु:खद भएको बताइन् । बजारक्षेत्र जिल्लाको लागि ऐना जस्तै भएको कारण भत्किएका पक्की सडकहरु मर्मतमा सम्बन्धित पक्षको ध्यान जान जरुरी रहेको उनको भनाई छ ।
बजार क्षेत्रमा भत्किएको सडक मर्मतका लागि सडक डिभिजन कार्यालय दाङ तथा राप्ती गाउँपालिकालाई जानकारी गराएपनि सम्बन्धित निकायको ध्यान नगएको राप्ती उद्योग बाणिज्य संघ भालुवाङका कार्यालय प्रमुख सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।
यस्तै पूर्व–पश्चिम राजमार्गको लमही—भालुवाङ सडक खण्डमा पनि ठुला ठुला खाडल परेपछि सवारी साधनहरुलाई निकै सास्ती खेप्नु परेको छ । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने मुख्य राजमार्ग समयमा मर्मत नगर्दा यति बेला बाटोमा हिड्ने पैदलयात्रीलाई समेत सास्ती खेप्नु परेको स्थानीय रामप्रसाद चौधरीले बताएका छन् ।
सवैभन्दा बढी खाडल लालमटिया, बराखुटी, मसुरीया, मौरीघाट, नर्ती, सुन्डबरी, लमही लगायतका क्षेत्रमा सवैभन्दा ठुला ठुला खाडल परेका छन् । त्यस्तै भालुवाङ देखि कालाकाटे हुँदै कपिलवस्तुको धानखोलासम्म पनि सडकको अवस्था उस्तै रहेको छ ।
खाडल परेका ठाउँमा टालटुल पार्नका लागि थुपारिएको गिट्टी र माटोले गर्दा सडक कुनै खोलाको बगर हो की भन्ने जस्तो लाग्न थालेको छ । सडकको यस्तो दुरावस्थाले गर्दा कैयौ पटक सवारी दुर्घटना भएर जनधनको क्षती समेत भएको ।
आइतवार मात्रै राप्ती गाउँपालिका कार्यालय नजिकै मसुरीयामा खाल्डोबाट जोगिन खोज्दा दुई वटा मालवाहक ट्रकहरु सडकका दुई किनारामा भासिन पुग्दा सोही दिन करिव १ घण्टा गाडीहरु लाम लागेका थिए ।
सडक डिभिजन कार्यालय दाङले खाल्डा टालटुल पारेपनि नियमित वर्षाका कारण सडकको अवस्था झन्पछि झन् विग्रिदै जान थालेको छ । समयमै सडक मर्मत गरिएन भने कुनै दिन ठुलो दुर्घटना हुने देखिन्छ ।
यता सडक मर्मतमा ध्यान नजाँदा सवारीका साधनहरु दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको चालकहरुको भनाई छ । सडकका विभिन्न ठाउँमा खाल्डा खुल्डी छन् । गाडी चलाउन पनि निकै समस्या रहेको छ ।
कहिलेसम्म यो समस्या खेप्नु पर्ने हो ? थाहा छैन । एक चालकले गुनासो गरेका छन् । यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझन् खोज्दा कार्यालयको फोन नम्बर ०८२–५६०२०३ र प्रमुखको मोबाइल नम्बरमा दुई दिनसम्म फोन गर्दा समेत फोन उठेन ।
प्रतिक्रिया दिनुहोस