एमाले-माओवादी एकता संयोजन समितिको बैठक जारी


काठमाडौँ — एमाले र माओ‌वादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा मंगलबार अपराह्न सुरु बैठक पार्टी एकता, संगठनात्मक स्वरुप र वैचारिक राजनीतिक विषय मिलाउन कार्यदल बनाउने विषयमा केन्द्रित छ ।

समितिमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् र माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।

चुनावपछि उक्त समितिको पहिलो बैठक बसेको हो । आइतबार एमाले अध्यक्ष ओली र मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालबीचको भेटवार्ताले एकता संयोजन समितिको बैठक तय गरेको थियो । शीर्ष नेताद्वयले पार्टी एकताका बारेमा संगठनात्मक स्वरुप र वैचारिक राजनीतिक विषय मिलाउन सानो कार्यदल बनाउने समझदारी गरेका थिए ।

पूर्वसमझदारीअनुसार दुवै पार्टीले सोमबार आन्तरिक छलफल समेत गरेका थिए । एमालेको आन्तरिक बैठकले माओवादी केन्द्रसँग एकता छिटो टुंग्याउनेमा जोड दिएको थियो ।

ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्ड जाँदैछन् । ओली त्यता जानुअघि नै एकतासम्बन्धी काममा केही प्रगति भइरहेको सन्देश दिन पनि एकता संयोजन समितिको बैठक बसेको हो । दुबै दलबीच नयाँ सरकार बनाउने बेलासम्म पार्टी एकताको विषय पनि टुंगो लगाउनुपर्ने समझदारी छ ।

दुई दलबीचको एकताका लागि अहिले सबैभन्दा बढी विवाद पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । माओवादीले अध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । एमालेको तर्फबाट दाहाललाई अध्यक्ष दिने कि नदिने भन्नेमा अझै स्पष्ट धारणा आएको छैन ।

यी दुई पार्टीले गत असोजमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धन बनाउँदै चुनावलगत्तै एकता गर्ने घोषणा गरेका थिए ।

कान्तिपुरडेली

२५ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको