उनलाई भेटेकै थिएन । कुराकानी चाहिँ हुन्थ्यो ह्वाट्स एपमा । त्यो पनि खासै लामो समय भएको होइन, हदै भए दुई हप्ता । म दर्शनमा चासो राख्थे । उ इतिहासमा दखल राख्थी ।
उनका तर्कहरु स्पात जस्तै धारिला लाग्थे भने ओखर जस्तो कडा । इतिहासको उदाहरण दिएर बर्तमानलाई फनक्कै जोडेर एउटा सुन्दर वाक्यांस तयार पारिहाल्थे । जसलाई नकार्न मन लाग्दैनथ्यो र आत्मसमर्पण गर्न बाध्य तुल्याउथे । तब बिश्वास नलागेर उनको तस्विर हेर्न मन लागिहाल्थ्यो ।
हावाले उडाउला जस्तो मसिनो ज्यानको मान्छे समुन्द्रको किनारमा खिचेको फोटो ह्वाट्स एपको प्रोफाइल पिक्चर राखेकी थिइन् । तब आफैलाई सोध्थे कि के मलाई टक्कर दिने यिनै सानू केटी हुन् ? हो, उनै थिइन् कुनै भ्रम थिएन ।
एकदिन भेटे एउटा सपिङ मलको फुड कर्टमा । सेतो कोट र कालो पायन्ट लगाएकी गहुँगोरी मङ्गोल बंशजको केटी । ज्यान सानै छ । उमेर कति हो सोधिन । हेर्दा उन्नाइस-बीस बर्षको जस्तै लाग्थी । केटीलाई उमेर सोध्ने बानी छैन । सोधे पनि सिधा जवाफ आउदैन । यो मलाई थाहा छ ।
हाम्रो ग्याङ आभाराको ग्याङ होइन, न त फाल्तुहरुको समूह नै हो । माइलौ टाढा रहेपनि चिन्तित थियौं आफ्नो मुलुकको भबिस्य प्रति । आआफ्नो धारणा बनाउछौँ । बादबिबाद र तर्क गरिहाल्छौँ । सबैभन्दा खतरनाक तर्क उनैको लाग्थ्यो । तर्क गर्दा `फलानो महान ब्यक्तिले यसो भनेका थिए´ भनेर कुरा शुरु गरिहाल्थे ।
तब उनलाई हेरिरहन मन लाग्थ्यो । राम्रो लागेर होइन, नराम्रो त हुँदै होइन । उनको भौतिक अस्तित्वलाई भनु भने त्यहाँ खोट लगाउने ठाउँ छैन । उनको तर्कको शैली र बिचार सुन्दर छ । अनि मुखैमा ताकेर हेर्न मन लागिहाल्ने । हेरेको मन परेरै हो । रहस्यमय लागेरै हो । लुकाउनु छिपाउनु के नै छ र…!
कहिलेकाही उनका खतरनाक खालका तर्कहरु सुनेर डर पनि नलागेको होइन कि कतै यसले किक त हान्दैन ? सम्हालिन्थे र उनलाई हेर्न पुग्थे । हदै भए ४५ केजिको होली । के हान्ली किक… ! मनमनै जिस्काउथे कि यो फुच्चिले आफ्नो शरिरको वजन भन्दा बढी हाक दिइरहेको छ ।
साथी भयौं, सायद धेरै नजिकका । साथी भन्दा पनि नजिक । प्रेम प्रेमिका जस्तो । उनी थिइ पाप रहित मनका । खुल्ला । एकदमै उदार मनका । कहिलै दुखी हुँदिन जस्तो । हासिरहने । लाग्थ्यो, उमेरै हास्ने उमेर हो ।
मलाई कान्छा भनि बोलाउछे । पहिले त कान्छा भन्दा हेपे झैँ लागेथ्यो । होइन रहेछ, मायाले बोलाएको अरे ।
एकदिन बिहान `ए अर्ख्वाल्या उठिनस ? सुतेको पनि पाँच घन्टा भइसक्यो´ भनेर अफिसवाटै वाट्स एपमा म्यासेज पठाएकी थिइ । ख्वाल्या पनि उनको मायाको शब्द थियो । उनले मलाई थुप्रै नामहरु राखिदिएकी थिइ । जस्तै: कान्छो, अर्ख्वाल्या, चोर आदि ।
केही महिना अगाडी उनको बुवाको देहान्त भएको रहेछ । कसरी देहान्त भयो थाहा थिएन र सोधेको पनि थिएन । कुरैकुरामा मैले उनलाई सोधेँ `बुवाको डेथ कसरी भयो ?´
केहि मिनेट हराई । म्यासेजको रिप्लाई आएन । लाग्यो, सायद जागिरमा बिजि होली ।
लगभग एघार मिनेटमा दस मिनेट लामो म्यासेज आयो । एउटा दुर्घटनामा बुवाको डेथ भएको रहेछ । दुर्घटना हुनु दुई दिन अगाडी मात्रै बुवासङ्ग अन्तिम पटक बोलेको भन्थी फोनमा । बुवाले अन्तिम क्षणमा उनलाई के के भने ? भन्दै जाने क्रममा उनका गलाहरु एकाएक अबरुद्ध भए ।
सधैं हासिमजाक गरिरहने यो औधी मायालु केटीको आँखामा आँसु ? मलाई सह्य हुने कुरै भएन । उस प्रतिको प्रेम जागेर आयो । यतावाट रोएको स्टिकर पठाएँ । जवाफ आएन । भुल्न खोजिरहेको क्षणलाई बल्झाएको कुरा प्रति माफी मागे । जवाफ आएन । फोन गरे, उठेन । म चिन्तित भएँ ।
हराएको आधा घन्टापछी म्यासेज आयो । बुवाले सपनामा आएर नरुनु भनेर सम्झाएर गएथे रे । उनले सुनाए । `बुवा आमाको नाममा म केही उदाहरणीय काम गर्न चाहन्छु ।´
उनको संकल्प थियो, `मलाई थाहा छ, यो गाह्रो हुनेछ, तर म गर्छु । के गर्छु यो म भन्दिन तर गर्न त गर्छु । पक्कै गर्छु ।´ छोरी होस् यस्तो होस् । सन्तान हुनुको कर्तव्य सिकाएर गई ।
फेरि आधा घण्टापछी ठट्यौली मिश्रित म्यासेज आयो `ए चोर खाना खाइस ?´
जब उनले मलाई चोर, कान्छा भन्थी तब म हुरुक्कै हुन्थे । यो शब्दहरु सुन्न म हमेशा लालायित हुन्थे ।
खिसिक्क हासे उनको म्यासेज पढेर । गजवले हास्न पनि जान्थी, रुन पनि जान्थी, बोल्न पनि जान्थी । ढुंगा जस्तो कठोर र नौनी जस्तो कमोल पनि हुन जान्थी । उनी भित्र इन्द्रेणीका सातै रंगहरु थिए । तब उनलाई देख्न उस्कट चाहना बढेर आयो र भने `एई, मलाई तुरुन्तै तिम्रो फोटो पठाउ त ।´
अफिस हावरमा खिचेका दुईटा सेल्फी खिचेर पठाउदै लेखेकी थिइ, `यो मोवाइलले राम्रो फोटो आउँदैन ।´
फोटो हेरे । सेतो सर्टमा खिचेको थियो । आधा मात्रैको सेल्फी फोटो । साच्ची ती औधी मायालु केटी थिइ । उ थिइ बुलबुल । मेरो पात्र । त्यसैले उनैलाई मैले पात्र चुने ।
लेखक: पृथीछक बुढा
प्रतिक्रिया दिनुहोस