एकताको विमानमा कलहको मुसा


मुसाले भित्र पस्ने बाटो फेला पारेपछि उपद्रो गर्छ। जमीनको ठूलो सतह ओडार बनाएर ताण्डव नाँच्छ। राजनीतिको खेतमा पनि यो नियम लागू हुन्छ। दूलो टाल्न मुसाको ओखती ? कि, खोक्रो विचारमाथि ठोस् विचारकोको प्रवाह ? नत्र जमीनमा धाँजा फाट्छ फाट्छ। सतहमा ज्वाला देखिएको छैन भनेर वेवास्ता गर्दा एकैपटक खरानी मात्र हात पर्न पनि सक्छ ।

२७ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको दिन संसद्मा नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले एउटा उर्दू ‘शेर’ सुनाएका थिए । ‘शेर’ यसप्रकार छ ः

‘तारीख की इन राहों में जब्र ही होते देखा है
लम्हों नें खता की थी सदियों नें सजा पाइ ।’

इतिहासमा केही त्यस्ता सन्दर्भ भेटिन्छन् जहाँ एउटा सानो गल्तीले अर्को सयौं वर्षसम्म पछुताउनुपर्ने हुन्छ । भलै गिरीले उक्त ‘शेर’ तोडमरोड गरेर सुनाएका थिए, तर नेपाली राजनीतिमा नेताहरुले पटकपटक ख्यालख्याल गर्दा त्यसले इतिहासमा पारेको प्रभावको आयाममा उक्त शेर निःसन्देह प्रभावी थियो । खासमा मुजफ्फर रज्मीको उक्त ‘शेर’ यस्तो रहेछ ः
‘ये जब्र भी देखा है तारीख की नजरों ने
लम्हो नें खता की थी सदियों नें सजा पाइ ।’

प्रदीप गिरीले उठान गरेको सन्दर्भ फेरि एकपटक सरकारवादी नेकपाको हकमा लागू भएको छ । एउटा गल्तीको सजाय पूरा भएको छैन अर्को गल्तीको ‘रिहर्सल’ भइरहेको अनुमानले बजार तातेको छ ।

निर्वाचनबाट आएको दुईतिहाई बहूमतको नेतृत्व गरिरहेको देशको शक्तिशाली कम्यूनिष्ट पार्टीमा आएको भुइचालो हठात् हो वा नियोजित ? यो पार्टी वा सरकार बलियो बनाउने असल उद्देश्यले भइरहेको हो वा नियत नै खराब ? अहिलेको ‘गर्मी’ अर्को महाधिवेशनको निशाना हो वा लोभीपापी खेल ? प्रश्न यही हो ।

नेताहरुको आफ्नै–आफ्नै सहनाई बजिरहेको छ । पक्ष र विपक्षमा ढोल पिट्ने क्रम जारी छ । हार्दिकता र सौहार्दता हुँडलिएर घृणा उमारिंदैछ । विश्वासको अभावमा सिंगो पार्टी सिंगो र ढिक्का देखिंदैन । एकले अर्कोलाई जाल र षड्यन्त्रको धराप थाप्न हानथाप छ । गाइजात्रा त सकियो तर गाइजात्रा जारी छ । दन्तबजान जारी छ । वर्षौदेखि पेटमा जमेर बिकार बनेर बसेको हरियो लेऊ पनि सतहमा पोखिन थालेको छ । पाँच महिनामै यत्रो झट्का ? भयभित कार्यकर्ताको निन्याउरा अनुहारमा उर्जा कम छ । गलत निर्णय एक पलमा हुन्छ तर त्यसले भविश्य पोल्छ भनेको यही हो ।

यसअघिको सन्दर्भ आजको मितिमा पनि हूबहू देखिनु पीडादायी हुन्छ । विगत भन्छ, ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमाओवादीसँगको ९ बुँदे सहमति अभिषाप भो । सहमतिका सुत्रधार मानिने बामदेव गौतमले भनेका थिए, ‘हामीले (एमालेले) सहमति टिकाएनौं ।’ गौतमले घुमाएर भने पनि सिधा कुरा चाँहि एकीकृत माओवादीलाई नेपाली काङ्ग्रेससँग ७ बुँदे सहमति गरेर आफ्नै सरकार गिराईदिने वातावरण एमालेले बनाइदिएको थियो । पार्टीको स्थायी कमिटीमै अल्पमतमा पर्ने छायाँछवी देखिएपछि प्रधानमन्त्री ओलीले राजीनामाको सहज बाटो समाते र हिंडे । अविश्वास प्रस्ताव पेश भएको पाँच दिनपछि बसेको एमाले स्थायी कमिटीको वैठकमा जुंगामा ताऊ लाउनेहरुको मुहारचित्र बजारमा आएकै थियो । त्यतिबेला सरकारविरुद्ध संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावको बचाऊ आफ्नै पार्टीले पनि नगरेपछि बाटो लाग्नुको विकल्प ओलीसँग थिएन । हिंडे । अर्थात् राजनीतिमा शत्रुता र मित्रताको रेखा हुँदैन । धोका र कपट निस्कने दूलोको चिन्न पनि सहज हुँदैन । अङ्गालो मारेरै छुरी धस्न सबैभन्दा सजिलो इलम हो राजनीति । हामीले देख्यौं नेपालका प्रधानमन्त्रीले राजीनामाको औपचारिक घोषणा गर्नुभन्दा १ घन्टा ३५ मिनेट अगाडि नै भारतीय टेलिभिजनहरुले गरेको ‘ब्रेक’ ।

दुई वर्षमा पार्टीको संरचना र स्वरुपमा परिवर्तन आइसकेको छ । सिद्धान्त, संरचना र नेतृत्वमा समीकरण बनिसकेको छ । नेतृत्वको टाउकोबाट शुरु भएको एकता जिल्ला तहको कट्टीसम्म पुग्नै बाँकि छ तर नेताहरु धोती खोलेरै देखाइदिने तहमा पुगिसकेका छन् । पर्दा खुलिसकेको छैन तर पात्रहरु सार्वजनिक भइसकेका छन् । पर्दाअगाडि उनै केपी ओली पक्षधर भनिएका र माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, घनश्याम भुषाल, योगेश भट्टराई इत्यादी छन् । यो घानमा माओवादी समूहबाट नारायणकाजी श्रेष्ठ र पुरानो बैद्य टोलीको पनि प्रतिनिधित्व छ ।

पाँच महिनाअघि नेपालको कम्यूनिष्ट आन्दोलनको सर्वाधिक ठूलो पार्टी एकता भयो । त्यो ऐतिहासिक सन्दर्भसँगै अवसरको आकाश र चुनौतीको बादलका चर्चा भए । आशाको आकाशमा आतशबाजी नहुनुको पछाडि तुवाँलोको ताप एउटा कारण थियो । तर त्यो तुँवालो कतिसम्म अनिश्चित भयो भने कोही नेता बिदेश गयो कि फर्केर आउँदा अनर्थ होला भन्ने पीर ! असोज ५ गते माधवकुमार नेपाल बिदेशमा थिए, पार्टीले प्रदेशका हताकर्ता तोक्यो । प्रदेशका २८ जना पदाधिकारीमा ४ जना मात्र हात परेपछि नेपाल समूह मुर्मुरियो । नेपाल पनि के कम दुबै अध्यक्ष देशबाहिर भएको बेलामा ४५ जना स्थायी समिति सदस्यमध्ये २३ जना बोलाएर चियापान गराइदिए (ताली बजाउनुअघि विचार गर्नुहोला, २३ जनामा सबै पार्टी र सरकारसँग असन्तुष्ट छैनन) । नेता नेपालको चीन भ्रमण निकट छ । के थाहा अर्को उपद्रो आउँछ कि ! ठूलो पार्टीमा एकजना ठूलो नेता सधैं बाहिर भइरहने र सबैले पालैपालो सरकारविरोधी मोर्चा बनाउने हो भने त्यो पनि त राम्रै हुनसक्छ सिक्न ।

हो, पुरानो एमालेभित्र संस्थागत गुटको राजनीतिको यो दृष्य दोहोरिएको मात्र हो । नेपाल, गौतम, खनाल सबका आफ्नै टुकडी र मण्डली छन् जो अहिले पार्टीभित्रै प्रतिपक्ष बनाइएको गुनासो गर्छन् । नेतृत्वमा जो भए पनि हिलो छ्यापाछ्याप हुने र गर्ने यिनै स्थायी समूह हुन् । अस्ती पनि, हिजो पनि, आज पनि । ‘एक पार्टी’को प्रवचन दिएर गुटमा रमाउने बिसङ्गत अभ्यासबाट सत्तरी वर्ष हाराहारी उमेरकाहरुले त सिक्दैनन् अरुका के कुरा ! दुई तिहाईको सरकारको प्रभावकारिता नदेखिएको र पार्टीमा दुई अध्यक्षको हैकम चलेको भन्दै शुरु भयो पक्षधर जोरजाम गर्ने अभियान । र, प्रकट भयो इन्द्रेणी फुडल्याण्डमा चियापानको नाममा । पार्टीको भागबण्डामा चित्त नबुझेपछि अंशियारको रुपमा माधवकुमार नेपाल ताते । प्रदेश इञ्चार्जमा बराबरी हिस्सा पाए पनि पदाधिकारी कम भएकोमा नेपालको कन्सिरी तातेको अन्तर्वार्ताहरुमा प्रष्ट देखिन्छ । ‘असहमति पार्टीमा राखेको छु’ भन्ने तर छलफल होटलका टेबलमा गर्ने ? बहसको यो अभ्यास नयाँ पुस्ताले सिक्दा हुन्छ । ‘सचिवालय विधिबाहिर गयो’ भन्दै गर्दा पार्टी कार्यालयबाट रेस्टुरेन्ट छिरेको अभियान पनि नौलै हो । नत्र दृष्यमा ‘नेपालले गुट चलाए’ भन्ने झलनाथ खनाल ‘पार्टी वरियतामा झेल गरेको’ रिस फेर्न किन पुग्थे त्यहाँ ? सांसद बनाउन अरुची देखाएको र अपेक्षित अवसरको ढोका नखुल्ने देखेपछि बामदेव जागे । उनले त विधानसम्मत तरिकाले चियापान डाकिएको बताएर सरकारविरोधी पार्टीको मोर्चालाई बैधानिकतै दिन भ्याए ।

चियापानमा उभिएर सचिवालयले गलत काम गर्यो भन्नेहरु नै सचिवालयका शक्तिशाली सदस्य होइनन् ? होइन भने असन्तुष्टी र असहमतिका बुँदालाई तत् तत् कमिटीमा छलफल चलाए हुन्न ? दशजना नेताले बिदेश मोह त्यागेर घुँडा धसेर एकतामा भागबण्डा खोजे हुन्न ? नेपाली नेता नगएर न कुनै बिदेश डुब्छ न कुनै आयोजक। फेरि के को ल्यांगल्यांग ?

अहिले नै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएर प्रचण्डले आफ्नै खुट्टामा बञ्चरो हान्दैनन् । र, प्रचण्डले कपट गर्दैनन् भन्ने स्थितिसम्म प्रधानमन्त्री ओली डेग चल्दैनन् । त्यतिन्जेलसम्म माओवादी केन्द्रबाट गएको तीन गुट र एमालेको स्थायी चार गुटबाटै नेकपा नामको पार्टी चल्छ ।
ताजा विवादको अन्तर्यमा संरक्षणवाद, लालच, मोहले घर गरेको प्रधानमन्त्री ओलीको प्रतिक्रियाको पाटो पनि खोजीको विषय हुनसक्छ।

छुचुन्द्रोले भित्र पस्ने बाटो फेला पारेपछि उपद्रो गर्छ। टाउको छिराउने दूलो त एउटै हुन्छ तर भित्र ओडार बनाउन भ्याउँछ। र, जमीनको ठूलो सतह ओडार बनाएर ताण्डव नाँच्छ। राजनीतिको खेतमा पनि यो नियम लागू हुन्छ। दूलो मात्र टाल्नु समाधान होइन। विचारको जमीन भित्रभित्र खोक्रो हुँदै गएको छ भने दुईवटा विकल्प हुन्छन्। पहिलो मुसाको ओखती र, दोस्रो खोक्रो विचारमाथि ठोस् विचारकोको प्रवाह। नत्र कुनै पनि दिन जमीनमा धाँजा फाट्छ फाट्छ। याद चाँहि राख्दा हुन्छ राजनीतिको पर्यावरणलाई सन्तुलनमा राख्न मुसा र छुचुन्द्रा पनि उत्तिकै आवश्यक र सहायक छन्। त्यसैले बाली विनाश हुनुअगाडि उनीहरुको उचित व्यवस्थापन आवश्यक हुन्छ। नेकपाको हकमा पनि यो ठ्याक्कै लागू हुन्छ। आगो भित्रभित्र लागेकै छ, फुसफुस धुवाँ बाहिर आउन थालेकै छ। सतहमा ज्वाला देखिएको छैन भनेर वेवास्ता गर्दा एकैपटक खरानी मात्र हात पर्न पनि सक्छ।

माथि जे लेखिएको होस्, माधवकुमार नेपालको निशाना जता भए पनि सरकारलाई परिणाममूखी र ठोस् हुन यो गतिलो धक्का हो । प्रतीपक्षी दलको रुपमा ‘नेपाली काङ्ग्रेस पनि छ’ भन्नपर्ने अवस्था छ । सार्वजनिक सरोकारका मुद्दामा ऊ निर्बल छ । तर प्रधानमन्त्री ओलीले काङ्ग्रेसभन्दा शक्तिशाली पार्टी प्रतिपक्ष पाएका छन् । सरकार र पार्टीलाई खबरदारी गर्ने यो पक्ष स्थायी सरकार र स्थायी एकता दुबैका लागि सकारात्मक हुनसक्छ । ठूलो पार्टीको छलफल सम्बन्धित कमिटीमा भए एउटा समाचार हुन्थ्यो, सडकमा पोखिएकाले दुईचार दिनको रमिता जायज छ । यही तीललाई पहाड बनाउने कि नबनाउने त्यो चाँहि नेतृत्वको हातमा छ । तर पार्टीभित्र संवादहीनताले निम्त्याउने परिणाम मनकारी हुँदैन । पार्टीभित्र निषेध मौलाए दुईजना चालकले चलाएको जेटमा प्वाल पर्दैन कसले भन्छ ? एकताको जेट समृद्धिको दिशामा उड्न सघन संवादका जरुरी हुन्छ । नत्र दुर्गतीको पहाडमा जाँदैन भन्ने कोही छ ?

अन्त्यमा, मुजफ्फर रज्मीकै एउटा ‘शेर’बाट बीट मार्छुः
करीब आओ तो शायद समझ में आ जाए
कि फासले तो गलत–फहमियाँ बढाते हैं ।

२२ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको