बादलको वास्तु आया राम गया राम हुने कि


“सबै पहेंला धातु सुन हुँदैन । नाम र आवरणले क्रान्तिकारी, परिवर्तनकारी ठहर हुने भए गुण र व्यवहारको कसीमा परीक्षण गर्नै पर्दैनथ्यो । दर्शक परिणामसँग सम्बन्ध राख्छ कसले कति बल खेलायो र कुदायो भन्नेले अर्थ राख्दैन । को कति ह्याण्डसम, को कति स्वच्छ, को कति कुटील, को कति अन्तर्मुखी अलग कुरा हो, सत्ताको केन्द्रमा पुगेर गोल हान्न नसकेपछि वास्तुलाई गाली गरेर हिंड्न पाईंदैन ।”

बाह्य उर्जा, आन्तरिक मनोबल र तत्अनुकूल गति र तयारी । विषय फरकफरक भए पनि रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय सम्हालेलगत्तैको पहिलो ‘इनिंग्स’मा माथिको चारै गुण देखाएकै हुन् । धेरैलाई लाग्यो सरकारको लोकलाज राख्न कहिले जनार्दन त कहिले बादलहरु फरकफरक अनुहारमा उदाइरहन्छन् । सबैले भने, ‘पात्र असल भए सरकारमा भएका एकजना नै सही सकारात्मक परिवर्तन असम्भव छैन’ । अहिलेका लागि रुख सोझो हो कि बाङ्गो ? भन्ने प्रश्नमा पछि बहस गरौंला । तर रुख काट्न आरा र करौंतीको चौतर्फी खेती शुरु भएको दृष्य चाँहि सपाट छ ।

‘फ्ल्यासब्याक’मा जाऔं । यसअघिको सरकारमा रक्षामन्त्रीको रुपमा रहँदा प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणका एकजना केन्द्रीय पात्र पनि हुन् बादल । तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षामन्त्री बादलसमेतलाई राष्ट्रपति रामवरण यादवले कैंची लगाइदिएको सम्झनेलाई बादल र अहिलेको गर्मी अनौठो नलाग्ला । कटवालको कठालो समाउँदा आफैं सडकमा आइपुगेको त्यो बेलाको दृष्य यहाँ उल्लेख गर्नपर्दा म पनि किञ्चित खुसी छैन । तर, यो पाली पनि बादल भवितव्यको शिकार त हुँदैनन् ? मार्केटमा यही विषय अहिले बिकाउ छ । राज्यसंयन्त्रको जटिल रोगको उपचार गर्न र बेथितिको भकारो सोहोर्न सक्ने भनेर प्रधानमन्त्रीले विश्वास गरेर छानेको अनुहार सरकारको ‘इन्टर्भल’ नै नभई ‘स्टम्प आउट’ हुनसक्ने हल्ला ? हल्ला दमदार छ ।

तीनवटा मुख्य सन्दर्भ छन् । पहिलो, सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्री केपी ओली र गृहमन्त्री ‘बादल’बीच हार्दिकतामा चिरा पर्दै गएको छ । यसलाई पुष्टि गर्न राजनीतिक पण्डितहरु प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधेको स्पष्टीकरणको हवाला दिइरहेका छन् । सरकारका विपक्षीहरुले थपडी बजाउने तर्क के हो भने गृहमन्त्रीकै निजी सचिवालयका सारथीहरुले जानकारी गराई वा नगराई ‘अख्तियार’को दुरुपयोग गरी केही ‘काण्ड’ मच्चाएको र त्यसलाई प्रधानमन्त्रीले ‘सिरियसली’ लिएकाले सम्बन्धमा ‘दरार’ छ । त्यो ‘दरार’ मा प्रधानमन्त्री आफैंले सार्वजनिक अन्तर्वार्तामा ‘चेन अफ कमाण्डमा विश्वास गर्दा धोका पाएको’ आशयको अभिव्यक्ति दिंदा भने दालमा केही पक्कै कालो छ भन्ने अनुमान सबैले सहजै लगाउन सक्ने भइहाले । धुम्बाराही, पेरिसडाँडा र सिंहदरबारको वास्तु नमिलेको हो वा बादलको वास्तु बिग्रिएको हो, हुँदा हुँदा बादल नै सङ्गठित निशानामा पर्न थालेका छन् ।

यो त आजभोलीको कुरा हो । एकपटक तीनमहिना अगाडि फर्कों । त्यतिबेला चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले रहस्यमयी टिप्पणी गरेका थिए । उनले दावीका साथ भनेका थिए ‘राजसंस्था फर्काउने अन्तिम कसरत भइरहेको छ ।’ सरकारको गृहमन्त्रीले दावी र दृढताका साथ भनेको गम्भीर कुरा सामान्य हुने कुरै भएन । उनले त अझ अगाडि बढेर दावीसमेत गरेका थिए, ‘राजसंस्था फर्काउने अन्तिम कसरतमा नेपाली काङ्ग्रेसका केही उच्च नेता र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि संलग्न छ ।’ दुबै दावी खासमा आरोप मात्र हुन् वा सत्य नै त्यही हो ? गृहमन्त्रीले तीन महिनासम्म पुष्टि गर्न नसकेर आफूलाई कमजोर प्रमाणित चाँहि गरेकै हुन् । बादललाई पनि थाहा छ, मृगले जल छर्किएर सिंहलाई राजा बनाउने चलन दुनियामा छैन । आफ्नो क्षमता र योग्यताको बलमा आफूलाई प्रमाणित गर्न नसक्दासम्म रामबहादुर थापाले पनि ‘बादल’लाई प्रमाणित गर्न गाह्रो हुन्छ । नत्र स्वभाविक छ वास्तु त बिग्रन्छ नै ।

दोस्रो, देशमा दुई तिहाईको सरकार नेकपा (नेकपा) को छ । तर सरकारभित्र पनि एमाले र माओवादी केन्द्रका ‘बाइप्रोडक्ट’ले काम गरिरहेको देखिन्छ । पूर्व एमालेको भाषामा पूर्वमाओवादी केन्द्रले काम गर्न नसकेको र पूर्वमाओवादी केन्द्रको भाषामा पूर्व एमालेले सम्हाल्न नसकेको जस्ता टिप्पणी अब एक कान दुइृ कान हुँदै मैदान हुन थालेका छन् । यही असहयोगको घानमा आशालाग्दा भनिएका गृहमन्त्री छन् । सामाजिक सुरक्षाको आवरणमा साँधिएको निशानाबाहेक पूर्व र बहालवालाको नियतिमा गृहमन्त्री अब पनि ‘बोल्ड’ हुन नसक्ने हो भने चारैतिरको प्रहारबाट बादललाई ‘न्यूड’ बनाइदिन सक्ने सम्भावना चिया चर्चामा पुग्नु पनि ठूलै कुरा हो । त्यतिबेला लोकले ‘सरकारमा गए पनि बादलको जस्तो वास्तु बोकेर नजानु’ भन्ने दिन आउन सक्नेछ ।

अर्को के भने, सुन प्रकरणको कालो र ठूलो माछो गोरे समातिएर पनि भेटिएन । हौवा पिटिएका ठूला माछाहरु तस्करीको समुद्रमै छाडेर रामबहादुर थापा बादलले तस्करीविरुद्धको लडाईलाई स्थगित गरेसरहका दृष्य छन् । कारागारमा रहेका गोरेले भित्तामा टाउको ठोक्नु, अदालतले बाजेको सेकुवा सञ्चालनको आदेश दिनु र अर्को २४ घन्टामा विमानस्थलबाट साँढे दुुई केजी सुन समातिनु । अजब छ । तस्करीको ट्रान्जिटको ‘नेक्सस’सम्म अब बादल पुग्छन् भनेर पत्याउनु र ठट्टा गर्नु पनि एकै भइसकेको छ । संगठित अपराधको वास्तु बलियो भएको बेलामा निम्छरा गृहमन्त्रीको वास्तुको के हिसाब !

सिण्डिकेटको भकारो सोहोर्न बादलले देखाएको अग्रसरताको जयजयकार अरुले जस्तै मैले पनि गरें । सम्बन्धित विभागीय मन्त्रीले ‘टाङ अड्याउँदा’ पनि गृहमन्त्रीको गति र उडान देखेर सर्वसाधारणमा आशाको सञ्चार भयो । ‘बादल गर्जियो, अब पानी पर्छ र फोहोर बगाउँछ’ भन्ने धेरै थिए । दिन कुर्न मात्र बाँकि छ, बैंक खाता रोक्का गरिएका सिण्डिकेटधारीहरुले तिर्नपर्ने वक्यौता करोडौं नाघिसकेको छ । विमादेखि अस्पतालसम्म, दुर्घटनाका पीडितदेखि व्यावसायिक सट्टाबाजसम्म उनीहरु ऋृणी छन् । स्वभाविक छ, उनीहरु पैसा झार्न टसको मस छैनन् । पन्ध्र हजार रोजगारीको भूत उसैगरी तर्साइरहेको छ । नचिनेको अदालत भए पो, कुन दिन झ्याप्प आदेश आउला र बादलको वास्तु बिगार्ला भन्ने पीर मात्र हो ।

सिण्डिकेटसँगै कमजोर काम गर्ने, कामै नगर्ने, समयमा काम नगर्ने र कामचोर काम गर्ने ठेकेदारको काण्ड आयो । सम्भवतः सबै जिल्ला प्रशासन कार्यालयले कालोसूची गृहमन्त्रालय हुँदै गृहमन्त्रीसम्म पुर्याए नै होलान् । यी माओवादीका, यी एमालेका, यी काङ्गेसका ठेकेदार भनेर मतमतमा उमेदवारको नाम जसरी छ्याप्छ्याप्ती सूची निकालिएको पनि देखेकै हो । तर यहाँ पनि वास्तु बिग्रियो । को को ठेकेदारको कठालो समातियो थाहा भएन । म दावी त गर्दिन तर सम्भवतः गृहमन्त्रीलाई पनि थाहा छैन कुन ठेकेदारको कठालो समातियो, कति कानुनको नियन्त्रणमा छन्, कति काम दुरुस्त गतिमा भयो । बिचरा ! कुर्सीमा नेतागण बसे पनि देश चाँहि ठेकेदारहरुले चलाउने नियतिमा कसरी बलियो हुन्छ बादलको वास्तु ? देशलाई ठेकेदारी प्रथामा जस्तै असरल्ल चलाउन बाध्य पार्ने ठेकेदारविरुद्ध बादलको गर्जन फगत ‘म्याँउँऽऽऽ’ मा मात्र सीमित भयो । राष्ट्रव्यापी, राजनीतिक दलव्यापी, स्थानीय निकायव्यापी सङ्गठित अपराधको दर्जा पाएको ठेकेदारी र लुटविरुद्ध जनताले छापामार शैलीमा केही हुने आशा देखे । तुहियो । यहाँ त बादलको मात्र होइन देशकै वास्तु बिग्रियो ।

एउटा चल्तीको शब्द छ ‘मिसिनरी’ । धार्मिक स्वार्थको व्यापार गर्नु मात्र मिसिनरी होइन रहेछ । अर्थात्, यो धर्मको विषयमा मात्र लागू नहुने रहेछ । मिसिनरी व्यापारमा, जातमा, राजनीतिमा, कानुनमा, पत्रकारितामा जता पनि लागू हुने रहेछ । आफ्नो लुटको स्वर्ग वा स्वार्थको रक्षाका खातिर दीर्घकालिक, सङगठित र योजनावद्ध तयारी मिसिनरीको गुण हो । अर्थ मन्त्रालयको बैदेशिक लगानी अनुगमन शाखाको आँखासम्म, सम्पत्ती शुद्धीकरणको ढोकासम्म नपुगेका केही मालिकहरु स्वतन्त्रताको रक्षाको नाममा नाङ्गिन फेरि शुरु भएको छ । मुलुकी संहिताको परीक्षणको नाममा वा ‘मुलुकी संहिताले बाँधेको बन्धनको सीमा हेर्नकै लागि’ ठूला संचारगृहका मालिकहरु बादलको नाडी छाम्न थालेका छन् । उनीहरुलाई थाहा छ प्रधानमन्त्रीले सार्वजनिक रुपमै गृहमन्त्रीसँग असन्तुष्टी राखेको अभिव्यक्ति दिएपछि अनाडीमा हान्ने बेला यही हो । हानिदिए । आचारसंहिताको पाठ जसले पढाउँछन् उनीहरु नै बर्दी फुकाल्न र बर्दी लगाइदिने हैसियतका भए । ‘समवेदना’ शब्दलाई लिएर एउटा अनलाइनका संचारकर्मी पृथिछक बुढामगरकै नाम टाउकोमा लेखेर ध्यानाकर्षणको ताकेता र सूचना अमल गर्ने प्रेस काउन्सिल बडाको बेथितिविरुद्ध बोल्ने हुत्ती राख्छ कि राख्दैन त्यो पनि हेर्न बाँकि छ ।

सबै पहेंला धातु सुन हुँदैन । सुनारले गालेर, पगालेर, घोटेर, काटेर, ठोकेर मात्र असली सुनको परख गर्छ । जलप लगाइएका धातु फालिएको त देखेकै छौं । नाम र आवरणमा क्रान्तिकारी भनिंदैमा सबै क्रान्तिकारी, सबै परिवर्तनकारी ठहर हुने भए गुण र व्यवहारको कसीमा परीक्षण गर्नै पर्दैनथ्यो । गुण चिन्न पनि मैदानमा कला हेर्नै पर्यो । जति कला भए पनि विश्वकप नजित्ने मेस्सीजस्तो भनेर किन श्रापित हुनु ? मन चाँहि अर्जेन्टिनाले जितेको खेल चाँहि जर्मनीले जित्यो भन्नुको के अर्थ । दर्शक परिणामसँग सम्बन्ध राख्छ कसले कति बल खेलायो र कुदायो भन्नेले के अर्थ राख्छ ? यहाँ पनि यस्तै हो । को कति ह्याण्डसम, को कति स्वच्छ, को कति कुटील, को कति अन्तर्मुखी अलग कुरा हो, सत्ताको केन्द्रमा पुगेर गोल हान्न नसके वास्तुलाई गाली गरेर हिंड्न मज्जाले पाइन्छ ।

यति भन्दाभन्दै जानीजानी फलामको च्यूरा चपाउन सरकार र नेकपाका अध्यक्षद्वय तयार छन् भनेर पत्याउन चाँहि सजिलो छैन। किनकि, बादललाई कमजोर देखेर सरकार र पार्टीले आफू बलियो देख्ने विरोधाभाषको खेती गर्छ भनेर पत्याउन हुँदैन। बादलले व्यक्तिगत नीति होइन राज्यको र सारतः पार्टीकै नीति क्रियान्वयन गर्ने हुन् । निश्कर्ष चाँहि ‘रेलिगेसन’मा नपरे पनि जनताको नजरमा ‘उही कान चिरेका’बाट ‘सेफ जोन’मा पुग्न बादलले बेल्नुपर्ने पापड चाँहि कम छैन । अन्यथा आया राम गया राम…।

२३ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको