पार्टी एकताका लागि एमाले–माओवादीमा छलफल शुरु :दोस्रो बरियताका नेतालाई मिलाउन सकस


काठमाण्डौं : अब पार्टी एकता नहुने हो कि भन्ने आशंका बढिरहेका बेला नेकपा एमाले र नेकपा माओवादीले आइतबारदेखि एकताका लागि छलफल र वहस तीब्र बनाउन थालेका छन् ।

पार्टी एकताका लागि आइतबारदेखि नै दुबै पार्टीका शीर्ष नेताहरु सक्रिय देखिन थालेका छन् । आज (सोमबार) नेकपा एमालेले पार्टी एकता र सरकार गठनका विषयमा छलफल गर्न स्थायी कमिटीको वैठक बोलाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि पार्टी एकताबारे शीर्ष नेतामाझ आज नै छलफलको तयारी गरेको छ ।

वाम एकतालाई कसैले रोक्न नसक्ने दावी गर्दै आएको एमालेले आज दिउँसो २ बजे सरकार गठनको समीकरणका विषयमा ओली निवास बालकोटमा नेताहरुसँग परामर्श गर्ने जनाएको छ । दुवै पार्टीको आन्तरिक बैठक बसी तत्काल एकता प्रक्रिया टुङ्ग्याउने सहमति अनुसार नै आज एमाले स्थायी सममिति बैठक बस्न लागेको हो एमालेका नेता राजन भट्टराई बताउँछन् । यस्तै माओवादी केन्द्रको पनि आन्तरिक छलफल आज नै हुने र बैठकमा पार्टी एकताबारे छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार भएको छलफलमा कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति पनि भएको छ । मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी गरिएको नेता भटराईले जानकारी दिएका छन् ।

चुनाव सकिएको लामो समयसम्म पार्टी एकताको ठोस पहल अगाडि बढ्न नसकेपछि पार्टीकै नेता–कार्यकर्ता र सर्वसाधरणमा समेत निरासा देखिन थालेका कारण पार्टी एकता र सरकार गठन प्रक्रियालाई अगाडि बढाइएको उनी बताउँछन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको समबन्ध चिसिएको आशंका बढिरहेका बेला यी दुई पार्टीका अध्यक्षले आइतबार भेटघाट गरी विकसित राजनीतिक घटनाक्रमका बारेमा चर्चा र छलफल समेत गरेका छन् । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार थाइल्याण्ड जाने कार्यक्रम रहेका कारण पनि उनी जानु भन्दै अघि नै पार्टी एकताका केहि प्राथमिक कामहरु अघि बढाउन लागिएको नेकपा माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाई यी दुवै दलले सँगसँगै लैजाने भने पनि संगठनात्मक संरचना र पदीय भागवण्डा मिलाउन दुवै पार्टीलाई हम्मे परिरहेको स्वयम् पार्टी कार्यकर्ताहरु बताउँछन् । पार्टीका शीर्ष नेता देखि दोस्रो बरियताका नेताहरुको व्यवस्थापन नै एकताका लागि चुनौतिको विषय बनेको कुरा नेताहरु नै स्वीकार गर्दै आएका छन् । यद्यपी दुई पार्टीका अध्यक्षबीच आइतबार भएको छलफलमा सानो कार्यदल बनाएर एकता प्रक्रिया अघि बढाउने सहमति भएको थियो । आइतबारको दुई नेताको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा एकता प्रक्रियालाई टुंग्याएर जाने सहमति भएको स्पष्ट पारेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

नयाँ पेज बाट साभार

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको