रियल मड्रिडलाई गम्भीर धक्का :बार्सिलोनाको सहज जित, फेरी रोकियो रियल


स्पेनिस ला लिगामा महारथि रियल मड्रिड संकटपूर्ण अवस्थामा पुगेको छ । गत वर्षको लिग विजेतासमेत रहेको रियल लिगको १७औं खेलमा बराबरीमा रोकिएपछि उसको उपाधि होड धर्मराएको छ ।

आइतबार राति लिगको १७औं अवे खेल खेल्न सेल्टा भिगोको मैदानमा उत्रेको रियल २–२ को बराबरीमा रोकियो । महत्त्वपूर्ण खेलमा अंक बाँड्न बाध्य भएपछि रियल अंक तालिकामा संकटमा परेको छ ।

रातिको खेलमा गत वर्षको सेप्टेम्बरपछि ला लिगामा फर्किएका वेल्स स्टार ग्यारेथ बेलले सनसनीपूर्ण २ गोल गरे । तर, उनको गोलले टिमलाई जित दिलाउन भने सकेन ।

खेलमा घरेलु टोली सेल्टाले अग्रता लिएको थियो । उसका लागि खेलको ३३औं मिनेटमा ड्यानिल वासले गोल गरेका थिए । तर, उसको अग्रता धेरै बेर टिक्न सकेन ।

गोल खाएको तीन मिनेटपछि नै रियलका लागि बेलले बराबरी गोल गरे । लगत्तै २ मिनेटपछि नै उलने व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियलले २–१ को अग्रता लियो ।

तर, जितनजिक पुगेको रियलका लािग खेलको ८२औं मिनेट घातक साबित भयो । गोन्जालेजले आकर्षक हेडिङ गोल गर्दै खेल बराबरी बनाएपछि रियलको अवे मैदानमा ३ अंक जोड्ने सपना चकनाचुर भयो ।

यो खेलमा रियलका गोलरक्षक नाभासले सेल्टाको एउटा पेनाल्टी बचाएका थिए । खेलमा रियलका स्टार क्रिस्टियानो रोनाल्डोले गोलका केही राम्रा अवसर बनाए पनि उनी त्यसमा चुके ।

यस खेलमा रियल प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइका खेलाडी मैदान उतारे पनि नतिजा आफ्नो पक्षमा आएन । र, महत्त्वपूर्ण खेलमा अंक बाँड्नु परेपछि रियल अंक तालिकामा संकटमा परेको हो ।

अब लिग लिडरभन्दा १६ अंकले पछि परेपछि रियलाई उपाधि होडमा फर्किन लगगभ कठिन पर्ने देखिएको छ । तर, रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । यदि रियलले लेगानेससँगको बाँकी खेल जितेको खण्डमा बार्सिलोनासँग उसको अंक दूरी १३ मा झर्नेछ ।

बार्सिलोनाको सहज जित

 

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात पारेको छ । रियल मड्रिड रोकिए पछी लिग लिडर बार्सिलोना भन्दा १६ अंकले पछाडि परेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० गोल अन्तरले हराएको छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–० को अग्रता लिन सफल रह्यो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । तर, अतिरिक्त समयमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

२०७४ पुष २४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको