बाँधिएको गाईलाई पुज्नु भन्दा बेवारिसे गाईलाई स्याहारे धर्म होला कि… ?


कार्तिक २१, काठमाडौं । आज र भोलि हामी गाई-बाछा खोजेर पूजा गर्छौं। खुवाउछौं। अरू बेला त सडकमै चौपाया असरल्ल र असुरक्षित हुन्छन्। दुर्घटनामा पर्ने र मर्ने संख्या दिनानुदिन बढ्दै छ।

काठमाडौं उपत्यकामा सडकमा छाडिने चौपाया संख्या १० हजार हाराहारी छ। ललितपुर ट्राफिक प्रमुख सिताराम हाछेथूका अनुसार महिनामा ५–६ वटा चौपाया दुर्घटनामा पर्छन्।

‘अचेल मान्छे यति स्वार्थि भएका छन्, दूध दिउन्जेल गाई पाल्छन्। त्यसपछि सडकमै छाडिदिन्छन्,’ उनले भने, ‘सडकमा यसरी छाड्नु भनेको मार्नु सरह। त्यहाँ न हेरचाह गर्ने हुन्छ न उपचार गर्ने।’

हिन्दुहरु गाईलाई पशुधनका रूपमा लिन्छन्। लक्ष्मी र गौमाताका रूपमा पूज्छन्। कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्छन्। गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा पवित्र तुल्याउने संस्कार छ। यही संस्कार हामीलाई बोझ लाग्न थालेको छ। त्यसैले त आवश्यकता भइन्जेल उपभोग गर्छौ। नभएपछि सडकमा फालिदिन्छौ।

वनकाली, पशुपतिस्थित ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ ले २०७१ देखि सडकका चौपायालाई आश्रय दिइरहेको छ। त्यहाँ करिब १ सय ५० चौपाया रहेको अभियानका अध्यक्ष रामबहादुर न्यौपानेले बताए।

‘हामीले त केही चौपाया मात्रै उद्धार गरेका हौं,’ न्यौपानेले भने, ‘सडकमा हजारौं चौपाया छन्। यसलाई सरकारी र सम्बन्धित व्यक्ति नै जिम्मेवार भएर लग्न जरुरी छ।’

यो आश्रयस्थल करिब ७ रोपनी छ। न्यौपानेका अनुसार नजिकैका फलफूल तथा तरकारी पसलको खानेकुरा गाईबाछालाई दिइन्छ। त्योबाहेक अन्य केही सहयोगीले पिठो, पराल एवं केही रकम सहयोग दिन्छन्।

‘सरकारी निकायले विभिन्न जनावरका लागि निकुञ्ज बनाइदिएका छन्। गाई त झन् हाम्रो राष्ट्रिय जनावर। यिनलाई पनि निकुञ्ज बनाइदिन सकिन्न?’ उनले प्रश्न गर्दै भने, ‘सडकमा गाई बाछा समस्या भइसकेका छन्। यिनको संरक्षण निम्ति पनि सरकारले नै पहल गर्न जरुरी छ।’

ललितपुरको नवजीवन परोपकार समाजले पनि चौपायाको उद्धार गर्दै आएको छ। यो संस्थाले घाइते तथा बिरामी चौपायालाई उपचार गर्छ।

नवजीवनका उपाध्यक्ष राधेश्याम खड्काका अनुसार यस्ता चौपायाले बाटोका बोटबिरुवासँगै प्लास्टिक लगायत अस्वस्थकर खानेकुरा खान्छन्।

‘मानिसले प्लास्टिकमा पोको पारेर खानेकुरा फाल्छन्। त्यही खानेकुरा खाँदा वस्तुभाउले प्लास्टिक पनि खान्छन्,’ उनले भने, ‘प्लास्टिक पचाउन नसकेर चौपायाहरू बिरामी पर्छन्।’

काठमाडौं उपत्यका बाहिरका नगरपालिकामा लामो समयदेखि बेवारिसे चौपायाको समस्या उठाइँदै आएको थियो। अहिले पनि धेरै नगरपालिकामा चौपाया व्यवस्थापन चुनौतीपूर्ण मानिन्छ।

काठमाडौं महानगरपालिकाले पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै नियन्त्रणको पहल गरिरहेको छ। उनीहरूले साताको एकदिन ट्राफिक प्रहरीले बेवारिसे चौपाया समातेर लिलामीमा राख्छन्। त्यो बाहेक महानगरले एक संस्थासँग मिलेर सडकका चौपायाको औषधि उपचार गर्ने, ट्याग लगाउने तयारी गरिरहेको छ।

‘चौपायाको शरीरमा माइक्रोचिप लगाइदियौं भने यही यन्त्रका माध्यमबाट मालिक थाहा पाउन सकिन्छ। कारबाही पनि गर्न मिल्छ,’ हाछेथूले भने, ‘यस्तो यन्त्रको अनिवार्य नियम लगाए बेवारिसे चौपाया आफैं नियन्त्रण हुन्छ।’

बेबारिसे चौपाया बढ्नुको कारण सहरीकरण हो। पहिले काठमाडौं उपत्यका वरिपरि ग्रामीण बस्ती थिए। गाईवस्तु चर्न खुला जंगल र चउरको कमी थिएन। बाछीहरू दूधजन्य परिकारका लागि महत्वपूर्ण हुन्थे। बाछा जन्मिए खेत जोत्न पाइन्थ्यो।

आधुनिकता र अतिक्रमणले खुला चउर मासिए। ग्रामीण बस्तीमा सहरी रौनक पस्यो। खेत जोत्न आधुनिक उपकरण भित्रिए। घरेलु दूधजन्य परिकारलाई बजारको मिठाइले विस्थापन गर्यो। यस्तोमा बाछाबाछीको आवश्यकता घट्दै गयो।

चरन अभाव र बढ्दो महँगीले गाईवस्तु पाल्नु आवश्यकताभन्दा बोझ हुँदै गएको हाछेथू बताउँछन्।

‘दिनभरी सडकमा चराएर बेलुकी घर फर्काउने पनि धेरै छन्,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई कारबाही पनि गर्दै आएका छौं।’

बेवारिसे चौपायामध्ये पनि हामी बढी मात्रामा बाछा देख्छौं। सहरमा यसको उपयोग नभएकाले पाल्नेहरू पनि बोझ मान्छन्।

भेटेरिनरी डाक्टरहरु यसको पनि समाधान भएको बताउँछन्। भेटेरिनरीमा ‘सेक्ससेमेन’ भन्ने प्रविधि छ, जसबाट बाछी मात्र पाउन सकिन्छ। यही बाछालाई पनि तिहारमा विशेष महत्व साथ पुजिन्छ।

हामी गोबर्धन पूजा भनेर गोरु एवं बाछालाई पूजा गर्छौ। तिहारले हामीलाई गाईबाछा सम्झाउँछन्।

आज गाई तिहार। गाईलाई त पक्कै पूज्नु भयो होला!

नभए साँझ साना केटाकेटी गाईको महत्व सम्झाउँदै गाउँनेछन्, ‘गाई तिहारो भैलो।’

तस्बिरः नारायण महर्जन/सेतोपाटी

२०७५ कार्तिक २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको