धमिराले ध्वस्त महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर


सन्दर्भ : लक्ष्मी जयन्ती

धमिराले खाएका भित्ता। कथा र उपन्यासमा मात्रै पढेको वाक्यांश हो यो। तर गत साता आफ्नै आँखाले देखें त्यो दृश्य। त्यो पनि काठमाडौंको मुटु मैतीदेवीस्थित एक घरमा।

झन्डै दस आनाको क्षेत्रफलमा फैलिएको एक कम्पाउन्डभित्र देखिन्थ्यो तीनतले पक्की इँटाको घर। घरको बाहिरी गेटको ताल्चामा झुन्ड्याएर राखिएको बिजुलीको बिल हेर्दा घरभित्र कोही त बस्लान् नि भन्ने लाग्थ्यो। तर उक्त घर मानवविहीन भएको वर्षौं भइसक्यो। यद्यपि यसरी नै बिजुली र पानीको बिल आउन भने अझै छोडेको छैन।

मैतीदेवी मन्दिरबाट केही मिनेटको हिँडाइमै पुगिने यो घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो। बर्सेनि लक्ष्मी जयन्तीमा धेरैले देवकोटा र उनका कृतिको गुनगान गाउने गर्छन्। तर जहाँ बसेर देवकोटाले ती रचना सिर्जन गरे, त्यही घरलाई सम्झने कोही भएनन्।

तिलमाधव र अमरराज्यलक्ष्मी देवकोटाका ६ भाइ छोरामध्ये साहिँला हुन् लक्ष्मीप्रसाद। १९६६ सालमा डिल्लीबजारमा जन्मिएका देवकोटाको न्वारनको नाम तीर्थमाधव हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भनियो। देवकोटा मेहनती स्वभावका भएकाले उनलाई लक्ष्मीको कृपा कहिल्येै कम भएन। तर पनि उनको दानी स्वभावले तलब पाएकै दिन पनि घर आइपुग्दा खल्तीमा सुको नबचेका महिना पनि धेरै बिते उनको जीवनमा।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्य रस बस्न थाल्यो। त्यसैगरी कविशिरोमणि लेखनाथ पौडेलका कविताले पनि उनलाई प्रेरणा मिलेको थियो। सोह्र वर्षकै उमेरमा मनदेवीसँग देवकोटाको विवाह भयो। त्यसबेलाको उनको दाम्पत्य प्रेम दर्शाएर नै उनले ‘मुनामदन’ लेखे। देवकोटा र मनदेवीबाट पाँच छोरी र चार छोरा जन्मिए। उनकै माइली छोरी अम्बिकादेवी रिमालले समेत आफ्ना आमा र बुबाका बीचमा जस्तो चोखो प्रेम कसैमा नदेखेको एक अन्तर्वार्तामा बताएकी थिइन्।

देवकोटा त्रिचन्द्र कलेजमा पढाउँथे। त्यसैगरी विद्यार्थी उनीसँग ट्युसन पढ्न घरमै आइपुग्थे। यति कमाइले पनि देवकोटाको परिवारलाई कहिल्यै पुग्ने थिएन। देवकोटाले तलब बाँड्छ रे भन्ने सुनेपछि त्रिचन्द्रको गेटदेखि पैसा माग्ने बसेका हुन्थे।

सबैलाई बाँड्दै आउँदा घर पुग्दा खल्ती रित्तिसक्थ्यो। अनि आफ्नो घर चलाउन भने पत्नी मनदेवीलाई ‘छिमेकीसँग मागेर टार न, म तिरिदिउँला’ भन्थे। कहिलेकाहीं देवकोटाले ट्युसन पढाएका पैसा मनदेवीको हातमा पर्‍यो भने पनि उधारो माग्न आउने छिमेकीलाई देवकोटा बाजेसँग पैसा छ माग्नुन भनेर आफैं उस्काउने गर्थे। मनदेवीले छैन भनेर अलि पछाडि सार्न खोजे ‘बज्यैले तपाईंलाई झूटो बोल्दैछिन्, ट्युसनको पैसा भर्खर उनैले लिएकी छन्’ भन्ने गर्थे।

पैसा भए पनि नभए पनि देवकोटा घर आउँदा धेरैजसो खसीका टाउको लिएर आउँथे। कहिलेकाहींँ मिठाइ पनि थुप्रै ल्याउँथे। यति मात्र कहाँ हो र कुनै दिन खल्तीमा ८÷१० हजार भयो भने घरमा पार्टी चलिहाल्थ्यो। पार्टीमा ठूलाठूला राजनीतिक नेतादेखि संगीत र साहित्यका पारखीसम्म आइपुग्थे।

महाकविको जन्म डिल्लीबजारको घरमा भए पनि पछि उनका बाबुको दाजुभाइको अंशबन्डामा त्यो घर काकालाई पर्‍यो। उनले आफ्नो घरजम मैतीदेवीमा सुरु गरे। यसरी देवकोटाले आफ्ना सन्तान हुर्काएका, सन्तानभन्दा बढी माया गरेर रचेका आफ्ना सिर्जना र सबैलाई भेला गरेर रमाइलो गरेको त्यो घरको हालत भने आज दयनीय छ।

मूलढोकाको ताल्चा खोलेर भित्र छिर्नेबित्तिकै देखिने देब्रेपट्टिको भित्तालाई धमिराले खाइसकेको छ। भर्‍याङ चढ्ने क्रममा समाउने काठका रेलिङ पनि किराले खाएर मक्किसकेका छन्। तीमध्ये केही भने देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले बनाइदिएकी थिइन्। तर ती पनि पुराना भइसके।

भर्‍याङ चढेर माथिल्लो तल्लामा पुगेपछि देब्रेपट्टि रहेको ठूलो कोठा लक्ष्मीप्रसाद हो भन्ने कुरा त्यहाँ झुन्ड्याइएका तस्बिरबाट स्पष्ट हुन्थ्यो। देवकोटाले आफ्नी पत्नी र अन्य विभिन्न वरिष्ठ व्यक्तित्वसँग खिचेका फोटो ठाउँठाउँमा झुन्डिएका छन्। कोठाभित्र छिरेर दुईतीन पाइलाकै दूरीमा दलिन खसेर ठूलो भ्वाङ परेको थियो। भूकम्पको बेलामा उनको कोठामा मात्र होइन, घरका अन्य थुप्रै भाग भत्किएका छन्। उनकै कोठामा रहेका दराजमा अझै देवकोटाले लेखेका र उनीबारे लेखिएका थुप्रै किताब भेटिन्छन्। भूकम्पले घर निकै कमजोर बनाइसकेकाले त्योभन्दा माथि जान हत्तपत्त कसैले आँट गर्न पनि सक्दैनन्।

भारतका चर्चित साहित्यकार राहुल संस्कृतायन एकपटक काठमाडौं आउँदा देवकोटाको कविता सुनेर दंग परेका थिए। कार्यक्रममा जाँदा लेखेको कविता लैजान बिर्सिएर देवकोटाले बिहान पत्नीले पकाएको दालभात डुकु सम्झँदै कार्यक्रमस्थलमै ‘दालभात डुकु’ शीर्षकको कविता लेखेर वाचन गरी सुनाएका थिए। देवकोटाको कविताबाट प्रभावित भएर उनले ‘काठमाडौंमा त कवि छैनन् भन्ने सोचेको त, किड्स, सेली र सेक्सपियर मिलेर एउटै देवकोटा बनेका रहेछन’ भन्ने प्रतिक्रिया दिएका थिए।

नेपाली साहित्यलाई समृद्ध बनाउने काममा महाकवि देवकोटाको ठूलो योगदान छ। तर आज उनै कविको कर्मघरको अवस्था नाजुक छ। यद्यपि राज्यले यसको बेवास्ता गरेको छ। आज पनि बेलायत भ्रमणमा जाने धेरै सेक्सपियरको घर नहेरी फर्कंदैनन्। स्ट्र्याटफोर्डमा जन्मिएका सेक्सपियर आफ्नो अभिभावकका तेस्रो सन्तान थिए। सन् १६०१ मा उनका बाबु जोनको मृत्यु भएपछि जीवित जेठो सन्तानका रूपमा विलियमले नै बाबुको घर अंशमा पाए।

सेक्सपियरले आफ्नो अन्तिम अवस्थामा घर छोरी सुसन्नालाई दिए। सुसन्नाले आफ्नो निधन हुने बेलामा घर सिंगो सन्तान एलिजाबेथको नाममा गरिदिइन्। एलिजाबेथको कुनै पनि सन्तान नभएकाले अन्त्यमा उक्त घर सेक्सपियरकी बहिनीको सन्तानले पाए। अठारौं शताब्दीसम्म उक्त घरमा हार्ट परिवार बस्थे।

सन् १८४७ मा घरलाई सेक्सपियर बर्थप्लेस ट्रस्टले किनेर संरक्षणमा राखेको छ। उक्त घर मात्र हेर्न बर्सेनि विश्वभरका लाखौं पर्यटक स्ट्र्याटफोर्ड आउने गरेका छन्। त्यसैगरी बेलायतको लन्डनमै रहेको चाल्र्स डिकेन्स म्युजियम पनि त्यहाँको एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल हो। साहित्यकार चाल्र्स डिकेन्सको घरलाई नै त्यहाँ संग्रहालयको रूपमा संरक्षण गरेर राखिएको छ। अमेरिकाको फ्लोरिडामा भएको लेखक इरनेस्ट हेमिङ्वेको घर हेर्नेको भीड पनि वर्षैभरि उत्तिकै हुन्छ।

त्यसगरी विश्वका अन्य चर्चित लेखक एवं साहित्यकारका घरलाई पनि त्यहाँको राज्य सरकारले संरक्षण गरेर पर्यटकीय एवं सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गरेर राखेका छन्। तर महाकवि देवकोटाको घर र उनका कृतिको भने सही संरक्षण हुन सकेको देखिन्न।

नेपाल सरकारले उनको भत्किन लागेको घरलाई मर्मतसंहार तथा संरक्षण गरेर देवकोटा संग्रहालय बनाउनु जरुरी छ। यसरी बनेको संग्रहालयलाई आजको पुस्ताले मात्र नभई भोलिका पुस्ताले हेर्न पाउनेछन्। नेपाली मात्रै नभई विदेशी पर्यटकले पनि हेर्दा देशको आर्थिक विकासमा पनि टेवा पुग्नेछ। यसले देशको सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा त टेवा पुर्‍याउँछ नै, नेपाली साहित्यमा देवकोटाको देनलाई अझै नजिकबाट बुझ्न धेरैलाई सहयोग पनि पुर्‍याउने देखिन्छ।

एकपटक उपचारको सिलसिलामा भारत जाँदा उनलाई त्यहाँका चिकित्सकले देवकोटा नेपालमा जन्मनु भूगोलको गल्ती हो भनेका थिए। त्यसैले देवकोटाका घर र कृतिलाई समेटेर संरक्षण गर्न नसके ती चिकित्सकले भनेका सार्थक हुन सक्छ।

रामकला खड्का/अन्नपुर्ण पोष्ट

२०७५ कार्तिक २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको