प्युठानका वडाअध्यक्षले शिक्षकमाथि कुर्सी प्रहार गरि घाइते बनाए


कार्तिक २१, प्यूठान । झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले एक शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्। जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई वडाअध्यक्ष बस्नेतले टाउकोमा कुर्सीले हानी घाइते बनाएका हुन् ।

जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् । सिद्दिमान एमसीको टाउकोमा पाँचवटा टाका लगाइएको छ ।

विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा मंगलबार सामान्य भनाभन हुँदा अध्यक्ष बस्नेतले हातपात गरी कुर्सीले प्रहार गरेको एमसीले आरोप लगाएका छन्।

यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् ।

वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको बताएका छन् । उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए ।

२१ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको