जब दाङमा जहाज ल्याएर आए ‘भिआइपी’ यात्रु, भेटियो फरक उमंग


दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहानैदेखि निकै चहलपहल थियो– कुनै उत्सवको जस्तो । दमाहा घन्किरहेका थिए ।

एयरपोर्टमा जहाज बस्छ– यो नौलो कुरा होइन । तर, आइतबार बिहान जहाज आउँदैछ भनेर ठूलो जमघट थियो टरिगाउँ विमानस्थलमा । कुनै नौलो वस्तुको व्यग्र प्रतीक्षाजस्तै बनेको थियो दाङबासीलाई जहाजको ।

कारण प्रष्ट थियो– पटक पटक सञ्चालन गर्ने प्रयास भए पनि बन्द रहेको एयरपोर्ट आइतबारदेखि पुनः खुल्दै थियो । र, ‘जहाज लिएर’ आउँदै थिए– ‘भिआइपी’ यात्रुहरु ।

दिउँसो एक बजे तुलसीपुरको आकाशमा देखियो समिट एयरको विमान । एयरपोर्टमा व्यग्र प्रतीक्षामा रहेका स्थानीय खुसीले रमाए । कोही फोटो खिच्न थाले त कसैले भिडियो ।

दिउँसो १ बजेर ९ मिनेटमा टरिगाउँ विमानस्थलमा अवतरण भयो विमान । र, ओर्लिए ‘भिआइपी’ यात्रुहरु दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा र हिराचन्द्र केसी, सल्यानबाट प्रतिनिधित्व गर्ने ६ नं. प्रदेश सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत ।

जहाजबाट ओर्लिनेबित्तिकै सबै जनप्रतिनिधिहरु र विमानका चालक, सहचालकलाई स्थानीयले बाजागाजासहित फूलमालाले भव्य स्वागत गरेका थिए ।

एउटा चुनावी नारा पूरा

प्रतिनिधि सभा निर्वाचनमा दाङबाट चुनाव लड्ने हाइ प्रोफाइल नेता कृष्णबहादुर महराले प्रमुख पाँच चुनावी नारामध्ये एउटा नारा बनाएका थिए– टरिगाउँ विमानस्थलको तत्काल सञ्चालन ।

उसो त महरा मात्रै हैन प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीदेखि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारहरुको चुनावी नारा थियो एयरपोर्ट सञ्चालन गर्ने प्रतिबद्धता ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि यही नारा बनाएका थिए ।

‘जस’ आ–आफ्नो भागमा जति पर्ला । यहाँका सबै जनप्रतिनिधिहरुले यो सफलताको लागि धन्यवादका पात्र छन् नै । दाङबाट चुनाव लड्ने हाइ प्रोफाइल नेता कृष्णबहादुर महराको नेतृत्वदायी भूमिका र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतको प्राविधिक पक्षको उचित व्यवस्थापनले जनप्रतिनिधिहरुको एउटा महत्वपूर्ण चुनावी नारा पूरा हुने प्रक्रियाको शुरुवात भएको छ ।

नेताहरुको निरन्तरको पहल र स्थानीय व्यवस्थापक तुलसीपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघलगायतका संघ संस्थाहरुको समन्वय जारी रह्यो भने टरिगाउँ विमानस्थलले निरन्तरता पाउने र नेताहरुकै भाषामा दाङको समृद्धिको ढोका खोलिनेमा शंका छैन ।

समृद्ध दाङको शुरुवात विमान सेवा– महरा

उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महराले विमान सेवा फेरि सुरु हुनुलाई समृद्ध दाङको यात्रा सुरुवात भएको बताएका छन् ।

‘दाङको समृद्धिको शुरुवात विमान सेवा सुरु हुनु पनि हो,’ उनले भने, ‘निरन्तरको प्रयासले समिट एयरले हप्ताको दुई दिन उडान भर्ने भएको छ, छिट्टै नेपाल एयरलाइन्सले पनि आफ्नो सेवा दिनेछ ।’

विमानको नियमित सञ्चालनका लागि एयरपोर्टको विस्तार र इन्धनको आपूर्ति जरुरी रहेको भन्दै महराले दुई महिनापछि नेपाल एयरलाइन्सले पनि दाङ–तुलसीपुर सेवा सुचारु गर्ने बताए ।

‘हामीसँग गरेको वाचाअनुसार नेपाल एयरलाइन्सको विमान दुई महिनापछि काठमाण्डौंदेखि तुलसीपुरका लागि नियमित गर्ने भन्नेछ,’ महराले भने, ‘त्यसका लागि कुनै पनि व्यवधान आएमा त्यो समाधान गर्न हामी तत्पर छौं ।

राजधानी दाङभन्दा अन्त कही जाँदैन

महराले प्रदेश नं. ५ को प्रदेश राजधानी दाङबाहेक अन्त कँही नजाने बताए ।

‘सरकारमा बसेकाहरुको मनमा पनि प्रदेश राजधानी दाङ नै छ, उहाँहरुले आँट गरेर भन्न सक्नु भएन,’ महराले भने, ‘तपाइँहरु ढुक्क हुनुहोस् दाङबाहेक प्रदेश राजधानी अन्त कतै जाँदैन ।’

दाङको भालुबाङदेखि हापुरे जहाँ राजधानी राखे पनि स्वीकार गर्नुपर्ने भन्दै महराले त्यसका लागि आम दाङवासी एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

नयाँ सरकार तीन साताभित्रै

नेता महराले अबको तीन साताभित्रै वाम गठबन्धनको नयाँ सरकार बन्ने दावी गरे । ‘अबको तीन साताभित्रै बाम गठबन्धनको नयाँ सरकार निर्माण भइसक्नेछ,’ महराले भने, ‘सँगसँगै पार्टी एकता पनि भइसक्नेछ ।’

वाम एकता र वाम शक्तिहरुको सरकार नचाहने देशी विदेशी शक्तिहरु गठबन्धन टुटाउन सक्रिय भइरहेको भन्दै त्यो षड्यन्त्र कुनै हालतमा सफल हुन नदिने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसीले दाङको विकासका लागि प्रतिपक्षी काँग्रेसलाई समेत सँगै लगेर अगाडि बढ्ने बताए ।

त्यस्तै, सल्यानबाट निर्वाचित प्रदेश नं. ६ का प्रदेशसभा सदस्य एमाले नेता प्रकाश ज्वालाले दाङ प्रदेश नं. ५ को र सुर्खेत प्रदेश नं. ६ को राजधानी हुने भएको हुँदा सल्यानी भाग्यमानी भएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङको समृद्धिको पहिलो सूचक विमान सेवा सुरु हुनु भएको बताए । उनले भने, ‘दाङ अब माथि उठिसकेको छ, टरिगाउँ विमानस्थल शुरु हुनु दाङको समृद्धिको सूचक हो ।’

जनउभारबाट साभार 

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको