बार्सिलोना आइपुगे कोटिन्हो, पत्रकारबाट जोगिन यसरी ‘लुकेर’ बाहिरिए एयरपोर्टबाट


शनिबार मात्रै औपचारिक रूपमा स्पेनिस बार्सिलोनामा अनुबन्ध भएका ब्राजिलियन स्टार खेलाडी फिलिपे कोटिन्हो स्पेन पुगेका छन् । क्लबसँग विधिवत् रूपमा सम्झौता भएपछि उनी आइतबार बार्सिलोना पुगेका हुन् ।

स्पेनिस ‘मार्का’ले जनाएअनुसार २५ वर्षीय ब्राजिलियन आइतबार आफ्नो सरसामान, ब्याग र परवारसहित बार्सिलोना उत्रेका हुन् । उनी विमानस्थलबाट बाहिरिँदै गरेको तस्बिरमा उनीले बार्सिलोनाको ट्याग लागेको एक ब्याग पनि देख्न सकिन्छ ।

कोटिन्हो बार्सिलोना झेरपछि उनका एजेन्टले विमानस्थलमा पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् । खबरअनुसार कोटिन्हो उनलाई कुरिरहेका पत्रकारलाई छलेर विमानस्थलबाट बाहिरिएका थिए ।

उनलाई पत्रकारबाट छल्न विमानस्थलको पछाडिको ढोका प्रयोग गरिएको थियो । कोटिन्होलाई कुरिरहेका पत्रकारले उनका परिवार, सहयोगी र एजेन्टको मात्रै तस्बिर लिन भ्याए ।

शनिबार मात्रै कोटिन्हो कूल १ सय ६० मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोनाको चारपटकको अफरमा इंग्लिस क्लब लिभरपुल उनलाई बेच्न राजी भएको थियो ।

बार्सिलोनाले कोटिन्होलाई सोमबार औपचारिक रूपमा प्रस्तुत गर्ने सम्भावना छ । उनी अर्का खेलबाट बार्सिलोनाको जर्सीमा मैदान उत्रिनेछन् ।

२३ पुष २०७४ गते प्रकाशित

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको