युएईको बनभोज बेसरमको सिकार ‘सोमरसका मदहोसी चुच्चाहरु चुम्बनमा व्यस्त’


जाडो मौसमको आगमनसँगै नेपालीहरुमा मोज गर्ने सोच सल्बलाउँछ । त्यसैले नेपालमा र नेपालीहरु भएको विश्वको जुनसुकै ठाउँमा वनभोजको सोच मौलाउँछ ।

यही सेरोफेरोमा मध्यपूर्वको युएईमा रोजगारीका लागि आएका र विभिन्न समूहमा रहेका विभाजित/एकत्रित भएका नेपालीहरुका समूह, समाज, संघसंस्थाहरुले पनि प्रत्येक हप्ता वनभोज आयोजना गरेका सूचनाहरु असरल्ल छरिएको पाइन्छ । वनभोज गएर मोज गर्ने रहर भरिएको पाइन्छ । मानौ वनभोज नगरे त बरबादै हुन्छ ।

सामाजिक संस्थाको आर्थिक श्रीवृद्धि हुने मौका, रमाइलो गर्नेलाई चौका पर्ने वनभोज गतिछाडाको उन्मादमा घाम डुब्दै गएपछि बहार आउने गरेको बल्ल थाहा भयो । शुक्रबारको बिदा पारेर नेपाली चुकौनी, सेल र खसीको तातो झोललाई अनमोल मानेर नेपालीपन झल्काउने पहल होला भनेर निगुरमुन्टी ‘न’ भएर गएको थिएँ, घरकी बुढी र लालाबालालाई घरमा नै छोडेर गएको कोप्चेडाँडो र भिरालो खोँचमा वनभोजको मोज गर्न । तर, त्यहाँ त उन्मुक्त बैंशालु साँढेहरुको रत्यौली खेल चलिरहेको रहेछ । अझ भनौं, कुकुरलाई कात्तिक लागेझैं ।

यहाँको कानुनले बर्जित गरेको मादक पदार्थ असरल्ल पोखिएर सुरहीन केही स्त्रीहरु सोमरसको चमत्कारको असरले वयष्क युवाहरुको बाहुपासमा मदहोस भएर भुइँमा खुट्टा राख्न नसक्ने भएको देख्दा डाँडा र खाेँचको वनभोजको रहस्य र त्यसको आयोजनाको आन्तरिक रहस्यको पर्दाफास म बबुरालाई ज्ञान भयो । त्यसो त गतसाल पनि भुसको आगो नबालेका कहाँ हुन् र ! आगो आफैं निभिदियो/निभाइयो ।

हजार जिब्रा भएका शेषनागले बयान गर्न नसक्ने मदहोस् सुरा र सुन्दरीको अवयवहरु देख्दा इन्द्रलोकमा पनि हलचाल पक्कै पैदा भएको चेत भयो यसपालि । समाजका सामाजिक अभियन्ताहरु समाजलाई गाँस्न र एक आपसमा भावनात्मक सम्बन्ध गाँस्ने आन्तरिक उद्देश्य “पानको पात, मालतीलाई सम्झिन्छु दिनको रात भन्ने” आसय मात्र देखियो । समाजका लब्धप्रतिष्ठितहरु र समाजका मार्गदर्शक बन्ने हाम्रो अभियान भन्नेहरुको आयोजनामा तमास र हुलहुज्जतले चिसो छिँडीको बास र सबैलाई त्रास बनाएको छ ।

प्रदेशको बासमा मनोरन्जनको आश होस् तर त्रास नहोस् । तर, यस प्रवृतिको कार्यक्रमले कसैको कुमारीत्व र सतित्वको सर्वनाश हुने देखेको यो आखाँले नेपालीत्वको इज्जतको सत्यानाश भएको देखें ।

सोमरसको जोसमा होस गुमाएर मदहोस हुनेहरुको खुल्ला चाटी (चुम्बन र अंकमालले आयोजकको कार्य सक्षमता र आयोजनाको औपचारिकताको पनि धुलसात बन्ने प्रतिष्ठाको ख्याल नगर्दा कुनै पनि बेला गाल पर्ने देखियो । बेसरमहरु !

नेपालीहरुको असरल्ल मेला लगाएर उठाएको रकमले कुनै पनि संस्थाले आफ्नो क्षेत्रको विकासमा टेवा दिएर समाजसेवीले नामको मेवा त राम्रो पाउलान् । नत्र डाँडोको चुचुरोमा उभिएर पिएको इन्द्रेपानीको असरले कोही त्यहीँ टाकुरीबाट पाखुरी सुर्कदै एक आपसमा मुक्का मुक्की गर्दा सुलुत चिप्लिएर इहलिला नै इति भयो भने त्यस खतिको क्षति कसले बेहोर्ने ? कि पछि टोकरी थाप्ने ? सबैले सचेत हुनुपर्ने देखियो ।

विभिन्न क्षेत्रबाट वनभोजको रमाइलोमा, कुनै बेहोसीमा उसको इज्जतको सत्यनाश भए कसले जिम्मेवारी लिने ? वनभोज आयोजकले माथिका कुरामा भरपुर ध्यान दिनुपर्ने देखियो । नत्र समाजसेवी र समाजिक अभियानका नेतृत्वहरु नै कुनै दिन कानुनको बन्द कोठामा जवाफदेही हुँदै आफ्नो प्रतिष्ठा र इज्जत स्वाहा भएको देखिन लामो समय कुर्नुपर्छ जस्तो छैन ।

हो, हामीले विगतदेखि मनाउँदै आएको वनभोजको यसमा कुनै दोष छैन । प्रवासमा हप्ताभरिको कामपश्चात साथीसंगी मिलेर रमाइलो गर्नुपर्दछ । त्यसमा आपत्ति र विमति होइन तर वनभोजको नाममा आएको कुरीतिले हामीलाई समाप्तिको बाटोतर्फ लिएर जाने देखियो । वरिष्ठ समाजसेवीहरु, होस गरे ! हामीले बेलैमा सजग हुन जरुरी छ ।

आयोजना गरौं यस्तो वनभोजको, जहाँ हाम्रो गुलियो सेलरोटी होस्, केराउ र आलु साँधेको अचार पिरो होस् । नेपाली पाराको खसीको झोलिलो मासु होस्, आन्द्रा र भुँडीको भुटुवा प्रसस्त होस् । भात, चाम्रे वा पुलाउ होस्, अमिलो चुकौनी होस् अनि होस् नेपालीपनको मिलनसारिता र आत्मीयता, भातृत्व र भगिनीत्वको बात्सल्यता । यहाँको कानुन र त्यसले पार्ने प्रभावको न्युनीकरणको लागि चेतनामुलक बहस होस् । सडक दुर्घटनाले निम्त्याएको समस्याको चित्रण हुने गरी नेपालीहरुले भोगेको दुर्घटनाको सचित्र उदाहरण सहितको नाटक होस् । अनि होस् त्यसबाट जोगिने उपायहरुको ज्ञानमुलक खुराक ।

मारुनी नाँच होस्, अनि होस् पश्चिमा देउडा, त्यही नै होस् पूर्वेली भाकाका लोकगीत अनि होस् मादलको तालमा घन्किएको दोहोरी, इत्रिनु इत्रिनु दोहोरीको सवाल जवाफमा । त्यसैले पूर्वको कन्यामको पिकनिकको याद दिलाओस् । अनि दिलाओस् रानी महलको वनभोजको पुनरावृत्ति अर्थात् आफ्नो गाउँ र ठाउँको झझल्को मेटिने गरी रमाउन पाइयोस् वनभोजमा ।

तर, कतै चेत गुमाएर लरबरीएको लोली र बोलीको भाकामा भिडहरुको बीचमा आलिङ्गन गर्दै मदहोस् भएर कुना काप्चामा चुच्चो जोडिएका हाम्रा दाजुभाइ दिदीबहिनीहरुको चर्तिकला नहोस् । नशामा बहकिएर कुनै अमुक चेलीबेटीका लागि पाखुरा सुर्केर लाप्पा खेल्न तयार युवा नहोस् । त्यसैगरी मनोरन्जनको बहानामा आफ्नो इज्जत लुटिन सक्ने चेतविहीन अवस्थामा हाम्रा नेपालीजनहरु देख्नु र भेट्नु नपरोस् ।

सभ्य बनौं । सभ्यता नै हाम्रो पहिचान र भविष्यको पुँजी हो ।

जदौ !

निमेष गिरि/अनलाइन खबरबाट साभार

२३ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको