काठमाडौँ, २२ पुस । नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि राजिनामा नदिए धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचन पछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् ।
उनले भने, ‘हामी निर्वाचनसम्म धैर्य गर्छौँ, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहनुभयो भने हामी धकेलेर निकालिदिन्छौँ ।’ उनले अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयबारे टिप्पणी गर्दै भने, ‘प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ ।
राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भैरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आईरहेको छ । यसलाई मैले अस्वभाविक मानेको छैन ।’
सरकारलाई प्रदेश प्रमुखतोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, ‘सरकारले नतोकि रहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुप-यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौँ । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।’
उनले यही स्थिति विगतमा पनि प्रदेशको सिमांकन गर्दा रहेको स्मरण गराउँदै भने, ‘संविधान नै जारी हुन दिन्नौँ भन्ने थियो । त्यसकारण यसमा ढिलाई गर्नुहुँदैन्, सरकारले तोक्नुप-यो ।’ प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनु पर्नेमा उनको जोड थियो ।
उनले थपे, ‘मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएको छु कि विराटनगर महानगरपालिकादेखि लिएर ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दर हरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ ।’
दैनिक नेपालबाट
प्रतिक्रिया दिनुहोस