भदौ २०, मलेसिया । मलेसिया सरकारले कामदारको न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेको छ । मलेसिया सरकारको यो निर्णयले नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।
मलेसियाका प्रधानमन्त्री कार्यालयले आगामी जनवरी १ देखि लागू हुने गरी कामदारको तलब मासिक १ हजार ५० वा घन्टाको ५.०५ आरएम तलब तोकेको हो ।
यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो । तर अब भने बढेर न्युनटम नै १ हजार ५० हुने भएको छ । मलेसियामा कामदारको न्यूनतम तलब बृद्धि ‘पाकातन हरापन’ गठबन्धनको प्रमुख १० चुनावी घोषणा मध्ये एक हो ।
‘देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा हामी सजग हुनुपर्छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।
तर, न्यूनतम तलब बृद्धि गर्नु सरकारको दायित्व भएको र यसले ठूला, मझौला वा साना उद्योग तथा कम्पनीहरु बन्द गर्नु पर्ने अवस्था नआउने सरकारको दाबी छ ।
मलेसिया सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस