रिहा भएलगत्तै प्रकाण्ड फेरि पक्राउ, भोजपुरबाट दाङ लगियो


भदौ २०, भोजपुर । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगतै पक्राउ गरेको छ । धरौटीमा रिहा गरिएपश्चात् पुनः पक्राउ गरिएका उनलाई बुधबारनै दाङ लगिएको छ ।

ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको हो । भोजपुरमा प्रकाण्डलाई टेम्के मैयुङ गाउँपालिका–६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विष्फोट गराइएको आरोपमा ज्यान मार्ने लगायतका मुद्दा दायर भएको छ ।

उनलाई राई चढेको गाडीमा बम विष्फोट गराएको, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा भएको बम विष्फोट गराएको र साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा बाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गराएको भन्दै मुद्धा दायर भएको छ । ती तीनवटै मुद्धामा क्रमशः २५, २५ र १० हजार गरी ६० हजार नगद धरौटीमा रिहा गरिएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी केशब कुमार थेबेले प्रकाण्डलाई बुधबार अदालतबाट रिहापछि अदालत परिसरबाटै पुनः पक्राउ गरी दाङ लगिएको बताएका छन् । दाङ केका लागिएको भन्ने जानकारी आफुलाई नभएको डिएसपी थेवेले बताए ।

ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ मुद्दा अन्र्तगत गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालिन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाईते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाईरिङ समेत गरेका थिए ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनीसहित ‘विप्लव’नेतृत्वको नेकपाका उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकी लगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर ल्याइएको थियो ।

२० भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको