भदौ २०, काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक भएपछि सोधपुछ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले पुष्टि गरे ।
उनका अनुसार दुई जनाको बयान लिइए पनि अहिलेसम्म उनीहरुको संलग्नता खुलेको छैन । एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तको हत्या भएको दिन उनको जन्मदिन थियो ।
त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्मदिन मनाइरहेको उनले दाबी गर्दै आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरकै ब्रिष्टन कलेजमा बीबीए अध्ययरत् छन् ।
उनीहरु रोशनी बमको घर, जहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो, आउने जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए । तर, प्रहरीको तत्कालीन नेतृत्वले सुनुवाई नै नगरेको स्थानीयको अारोप छ ।
तर, निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिनापछि दुबैसँग प्रहरीले सोधपुछ गरेको हो ।
प्रतिक्रिया दिनुहोस