नेपाली चलचित्र बन्न थालेको सात दशक पुग्नै लाग्दा पनि निर्देशनमा महिलाको उपस्थिति निकै कम छ। निर्देशन-मैदानमा उत्रेका महिला निर्देशकले पनि चलचित्र निर्देशनमा व्यावसायिक निरन्तरता चाहिँ दिन सकेका छैनन्। २००८ सालदेखि नेपाली भाषामा चलचित्र बन्न थाले पनि यस क्षेत्रमा महिला निर्देशक नदेखिनुका कारण अनेक हुन सक्छन्।
चलचित्र निर्माण सुरु भएदेखि अहिलेसम्म नेपाली चलचित्र निर्देशनमा कति महिला देखिए ? यो संख्या ठ्याक्कै औंलामै गन्न सकिन्छ। वार्षिक रूपमा डेढ सयको हाराहारीमा नेपालमा चलचित्र निर्माण हुने गरेको भए पनि अहिलेसम्म देखिएका महिला निर्देशक भने जम्मा ११ जनामात्रै छन्। व्यावसायिक रूपमा एकाध महिला चलचित्र निर्देशनमा सफल देखिएका छन् भने बाँकीले निर्देशक बन्ने रहरमात्रै पूरा गरेका छन्।
चलचित्र निर्देशन पढेर आएकाभन्दा यही क्षेत्रमा लामो अनुभव सँगालेका महिला निर्देशक निर्देशनमा सफल देखिएका छन्। रमाइलो पक्ष के रह्यो भने पहिलोपटक निर्देशक बनेकी दीपा श्री निरौला निर्देशित पहिलो चलचित्र ‘छक्का पञ्जा’ नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै व्यापार गर्न सफल चलचित्र बन्यो। उनले आफ्नै निर्देशनमा ‘छक्का पञ्जा’को सिक्वेल बनाइन्। सिक्वेलले पनि चर्चा बटुल्यो। उता नायिकाको रूपमा स्थापित झरना थापाले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर-२’ ले पनि चलचित्र उद्योगमा राम्रो चर्चा र व्यावसायिक सफलता पायो।
यहाँ ती ११ महिला निर्देशकको चर्चा गरिन्छ, जो पुरुषप्रधान समाजमा पनि उदाहरणीय बनेर चलचित्र क्षेत्रमा उदाए :
नेपालको पहिलो महिला निर्देशक हुन्, सुचित्रा श्रेष्ठ। २०५८ मा निर्माण भएको चलचित्र ‘प्रेमयुद्ध’ बाट निर्देशनमा डेब्यु गरेकी उनले उक्त चलचित्रबाट व्यावसायिक सफलता पाउन सकिनन्। त्यसपछि उनले ‘को कसको’ नामक चलचित्र निर्देशन गरिन्। निर्देशक समाजको अध्यक्षमा निर्वाचित उनी अहिले हिन्दी र नेपाली दुई भाषामा ‘चक्र’ नामक चलचित्रको काममा व्यस्त छिन्।
‘अन्तराल’ बाट निर्देशनमा डेब्यु गरेकी दीपा बस्नेत पहिलो चलचित्रबाटै चर्चामा आइन्। उनले यो चलचित्रबाट विभिन्न अवार्डसमेत हात पारिन्। अन्तरालमा उनले महिलाको कथा उठाएकी थिइन्। त्यसपछि उनको अर्काे चलचित्र आयो ‘ श्री ५ अम्बरे’। दीपाले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेकी छन्। सर्वोत्कृष्ट डिजिटल सिनेमा अवार्डमा नवनिर्देशक अवार्ड जितेकी उनी एनएफडीसी फिल्म अवार्डका लागि सर्वोत्कृष्ट नवनिर्देशकसहित ११ विधामा मनोनयनमा परेकी थिइन्। ‘म रहरले पढेर चलचित्र निर्देशक बनेकी हुँ’, दीपा भन्छिन्, यो क्षेत्रमा केही गर्ने सोचका साथ आएकीले काममा धेरै मेहनत गर्छु।’ दीपासँग भिजुअल एडिटरको पनि लामै अनुभव छ।
चलचित्र ‘मेघा’ बाट निर्देशनमा डेब्यु गरेकी सम्झनाको दोस्रो चलचित्र ‘फागु’ हो। सम्झनाले दुवै चलचित्रबाट व्यावसायिक सफलता भने हात पार्न सकिनन्। पहिलो चलचित्र ‘मेघा’ मा अभिनेत्री नम्रता श्रेष्ठ र सिद्धार्थ कोइरालालाई अभिनय गराएर चर्चा पाएकी सम्झनाले करिश्मा मानन्धरको लगानीमा ‘फागु’ निर्देशन गरेकी हुन्। ओस्कार कलेजकी विद्यार्थी सम्झनाले पनि दुई चलचित्र बनाएकी छन्।
चलचित्र सम्पादक हुँदै निर्देशनमा लागेकी रक्षा सिंह निर्देशित पहिलो चलचित्र ‘दी गेम’ हो। दर्जनभन्दा बढी चलचित्र सम्पादन गरेकी रक्षाले ‘दी गेम’ पछि अर्को चलचित्र निर्देशन गरेकी छैनन्। निर्माणको समयमा चलचित्रको व्यापक चर्चा भएको थियो। यसले व्यावसायिक नतिजा भने त्यति राम्रो दिन सकेन।
अहिलेकी चल्तीका नायिका हुन्, रेखा थापा। निर्माताका रूपमा उनी सफल छिन्। ‘हिम्मतवाली’ सुटिङ स्पटमा निर्देशक श्याम भट्टराईसँग खटपट भएपछि उनी ‘स्पट’ निर्देशक बनेकी थिइन्। उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘हिम्मतवाली’ सफल रह्यो। त्यसपछि उनले अर्को चलचित्र ‘रामप्यारी’ निर्देशन गर्ने हल्ला गरिन् तर निर्देशन भने गरिनन्। यसको जिम्मा उनले सवीर श्रेष्ठलाई दिइन्। हिम्मतवाली’ निर्देशन गरेकी रेखाले पुनः निर्देशनमा सक्रिय हुने धारणा राखे पनि मैदानमा उत्रेकी छैनन्।
सावित्री खत्रीले ‘काफल पाक्यो’ बाट निर्देशनमा डेब्यु गरेकी हुन्। यो चलचित्रले उनलाई व्यावसायिक सफलता दिएन। जीवन लुइँटेल र वर्षा राउत अभिनीत यो चलचित्रपछि उनी अहिले अर्काे चलचित्रको काममा व्यस्त छिन्।
चलचित्र ‘तँ, म र ऊ’ बाट लक्षु गौतमले निर्देशकका रूपमा डेब्यु गरेकी हुन्। व्यावसायिक रूपमा यो चलचित्र पनि सफल हुन सकेन।
नीलुडोल्पा शेर्पा चलचित्र ‘हाउ फन्नी’ बाट निर्देशका रूपमा रजतपटमा देखिएकी हुन्। निर्माता माल्भिका सुब्बाका कारणले पनि यसले चर्चा पायो। उनले अर्काे चलचित्र ‘मित्थ्या’ मा पनि काम गरेकी थिइन्। तर, त्यो पूरा हुन पाएन। निर्देशक नीलुको २०७४ असार १७ गते अल्पायुमै निधन भयो।
हास्य विधाकी सफल कलाकार हुन् दीपा श्री निरौला। टेलिचलचित्र ‘सनई रोइरहेछ’बाट अभिनयमा लागेकी उनको निर्देशन डेब्यु चलचित्र ‘छक्का पञ्जा’ हो। नेपाली चलचित्रको इतिहासमा उनी निर्देशत चलचित्र ‘छक्का पञ्जा’ सबैभन्दा धेरै व्यवसाय गर्न सफल भयो। त्यसपछि उनले यसकै सिक्वेल ‘छक्का पञ्जा -२’ निर्देशन गरिन्। ‘म विगत दुई दशकदेखि नेपाली दर्शककै बीचमा छु, त्यसैले दर्शकलाई चित्त बुझ्ने फिल्म नै बनाउँछु’, उनले भनिन्। यसअघि उनले केही विज्ञापन पनि निर्देशन गरेकी थिइन्।
अभिनय, चलचित्र निर्माण हुँदै निर्देशक बनेकी नायिका हुन् झरना थापा। आफैं अभिनीत चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर-२’ बाट उनले निर्देशनमा डेब्यु गरेकी हुन्। उनी निर्देशित यो चलचित्र व्यावसायिक रूपमा सफल बन्यो। अहिले यो चलचित्र नेपालमा प्रदर्शन भएपछि युरोप र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ।
नेपालकै पहिलो महिला सिनेमाटोग्राफरका रूपमा चिनिएिकी शवनम मुखिया पनि निर्देशनमा उत्रेकी छन्। डकुमेन्ट्री, छोटा चलचित्रपछि उनी चलचित्र निर्देशनमा उत्रिएकी हुन्। उनको निर्देशनमा बनेको ‘जुविनाइल’ प्रदर्शनमा आएको छ भने उनी अहिले अर्को चलचित्र ‘लखपति’ निर्देशनको तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस