न्याय मारेर लगाइएको समृद्धिको लंगौटी के काम ?


पुरुषोत्तम लम्साल/पोष्टपाटी । सय दिनअघि नै निर्मला पन्तको हत्यारा पहिचान भइसकेको बताउने गृहमन्त्री रामबहादुर थापा लोकलाई लोप्पा खुवाएर गृहमन्त्रीको कुर्सीमा गजधम्मै बसिरहेका छन् । एक हप्ताभित्र अपराधी सार्वजनिक नगरे पद छाड्छु भन्थे गृहमन्त्री ।

चार महिना बित्यो पीडितले पाउनपर्ने न्यायसँग खेलबाड भइरहेको छ । जनता सरकारविरुद्ध आक्रोश, घृणा घोलेर निर्मला पन्तको शोक मनाइरहेको छ, तर कानुनका पहरेदारहरु मौन छन् । जो जो मौन छन्, तिनीहरुमै दुनियाले दैत्यको अनुहार देखिरहेको छ ।

तातोपानीमा डुबेर पाप पग्लने वा बग्ने भए गृहमन्त्री थापाले निर्मला पन्तको पापको भारी बोक्न नपरोस् ।

सरकारमा बस्नेहरुको प्रवृत्ति र मनोवृत्ति असलमा सबैको उस्तै हुने रहेछ । अख्तियारी सम्हालेपछि तिनीहरुको मनको स्थिति जसले प्रवृत गराउँछ त्यही मनोवृत्ति बन्दोरहेछ । गृहमन्त्रीको रुपमा बादलले पुष्टी गरेको तथ्य यो पनि हो । प्रधानमन्त्रीको रुपमा केपी ओलीले दिएको तथ्य यो पनि हो । प्रहरी प्रमुखको रुपमा सर्वेन्द्र खनालले देखाइदिएको तस्वीर यो पनि हो । नालायकको पनि चारित्रिक प्रमाणपत्र हुन्छ भने यी तीनै पात्रलाई त्यही प्रमाणपत्रले अभिनन्दन गरिदिए फरक नपर्ने भएको छ ।

प्रहरी भन्दैछ, बलत्कार र महिला हिंसाका ६ सयभन्दा बढी घटना सार्वजनिक भएका छन् यो बीचमा । र, तिनै प्रहरी बिदेशीका अगाडि लाज हुने भन्दे सडक र भित्ताहरुबाट निर्मला पन्तलाई न्याय माग गरिएको पोष्टर उप्काउने धन्दामा लागेर तलब हजम गरिरहेको छ । अर्थात् न्याय मर्दै गएको छ । न्याय र सुरक्षाको घाँटी थिचेर सहभगितामूलक सामाजिक सुरक्षा कार्यक्रमको नारा लगाउनुको अर्थ पनि कम जो छ ।

नालायकको पनि चारित्रिक प्रमाणपत्र हुन्छ भने यी तीनै पात्रलाई त्यही प्रमाणपत्रले अभिनन्दन गरिदिए फरक नपर्ने भएको छ । सामाजिक सुरक्षा र न्याय नै मारेर लगाइएको समृद्धिको लंगौटीले सरकारको लाज कसरी छोप्छ ? कति दिन छोप्छ ?

न्याय नै मर्ने नयाँ युगमा नयाँ सरकारको नयाँ अनुहारमा नालायकको सिन्दूर जात्रा गराइदिए के फरक पर्छ ? सामाजिक सुरक्षा र न्याय नै मारेर लगाइएको समृद्धिको लंगौटीले सरकारको लाज कसरी छोप्छ ? कति दिन छोप्छ ?

मनोवृत्तिद्वारा समाजको विभिन्न परिस्थिति, वस्तु, व्यक्ति आदिप्रति विचार वा मनोभाव प्रकट भए जस्तै गृहमन्त्रीको ब्यवहारबाटै जनतामा विकसित मनोवृत्ति सकारात्मक अब चाँहि छैन भन्दा अनर्थ हुँदैन । मन्दिरमा पूजा नगर्ने मानिस पनि धार्मिक हुनसक्छ । सरकारको विपक्षमा भए पनि सरकारमाथि विश्वास गर्ने हुन्छन् । तर निर्मला प्रकरणपछि गृहमन्त्रीको उज्यालो अनुहारमा पोतिएको कालो अद्यावधी स्थायी कलंकउन्मुख छ ।

अझ बढी उनकै सु(?)पुत्रका अनेक चर्तिकला समाचार बनेर क्रमशः क्रमशः आइरहेका छन् । यसबाट उत्पन्न आममनोवृत्ति र, यसको क्रिया भोली देखिनेछ । छापामारहरुका पनि छापामार, लालहरुका पनि लालका बंशकीर्तिका समाचारमा चूँ सम्म नबोलेर गृहमन्त्रीले मौनता अर्थात् स्वीकारोक्तिको लाहाछाप लगाइदिएका छन् (यो हरफ लेख्दासम्म) ।

मनोविज्ञानले भन्दोरहेछ, घटना वा विषय विवादित छ भने व्यक्तिभित्र मनोवृत्तिको विकास छिटो हुने रहेछ । कुनै विषय, पात्र वा घटनासँग निरन्तर अन्तक्रिया भइरहे वा आवद्धता भइरहे अचेतन रुपमै मनोवृत्ति निर्माण हुन्छ, भइरहने रहेछ । अर्थात्, मनोवृत्ति जन्मजात नहुने रहेछ, समाज, संस्कृति, संगत, वातावरण, अभ्यास, अनुभव इत्यादिले निर्धारण गर्ने रहेछ ।

समाजिक जागरणले राज्यको विवेकशून्यतामाथि धावा बोल्दै जाँदा फुट्ने हो ज्वालामूखी । त्यतिबेला लोकले न समृद्धिको छाता ओड्छ न दुईतिहाईको तरबारले नागरिक आक्रोश काट्नसक्छ ।

अनुभव, अभ्यास, अवलोकन र वातावरणबाट मनोवृत्ति निर्माण भइरहने हो । तर एकपटक विकसित भइसकेको मनोवृत्ति स्थायी हुँदै मतको रुपमा प्रकट हुने हो । र, मतहरुको संकलित रुप नै जनमत हो । त्यसैले मत र जनमत केलाउन मनोवृत्तितिरै फर्कनपर्ने हुन्छ जसको निर्माण चेतन रुपमा कम र अचेतन रुपमा बढी हुने रहेछ । निर्मला पन्त हत्या प्रकरणमा होस् वा राष्ट्रपति विद्यादेवी भण्डारीको विलास प्रकरण, आममनोवृत्तिले त्यही देखाउँछ ।

दिनभर खेत खलिहान चाहारे पनि दुम्सी जाने दूलो मै हो भने जस्तो विषाक्त मनोवृत्तिको स्थायी डेरा त्यतिन्जेल सफा र चमकदार देखिन्छ, जुनबेलासम्म उनीहरुले आफ्नो वृत्ति लुकाउँछन् ।

केपी ओली राष्ट्रवादी हुन् कि होइनन् ? अथवा थिए कि थिएनन् ? विस्तारै पखालिंदै गएको ओलीको कस्मेटिक राष्ट्रवादको लोतोपोतोबारे आज उत्पात चर्चा छ । कस्मेटिक राष्ट्रवादको पर्दा कति कमलो र मक्किएको छ भनेर जान्न अझ धैर्य गर्नपर्दछ।

तर सामाजिक न्यायको सन्दर्भमा प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमा देखिएको अन्तरबारे जनता जानकारी हुँदै गएका छन् । यस्तै समाजिक जागरणले राज्यको विवेकशून्यतामाथि धावा बोल्दै जाँदा फुट्ने हो ज्वालामूखी । त्यतिबेला लोकले न समृद्धिको छाता ओड्छ न दुईतिहाईको तरबारले नागरिक आक्रोश काट्नसक्छ ।

निर्मला पन्तको बलत्कार र हत्याको विषयको अन्तर्राष्ट्रियकरणको सम्भावना बढ्दो छ । महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलत्कारपछि हत्याको घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएर दुईतिहाईको सरकारलाई सामाजिक न्यायको विषयमा गम्भीर हुने बाटो देखाइदिएकी छिन् । अन्तराष्ट्रिय मञ्चमा लाज छोप्ने लंगौटी बचाउनकै लागि पनि प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई पशुपतिनाथले सद्बुद्धी प्रदान गरुन् ।

१८ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको