समाचार लेखेकै आधारमा पत्रकार पक्राउ परेपछि सञ्चारजगत झनै त्रसित


भदौ १९, काठमाण्डौँ । समाचार लेखेकै आधारमा न्युज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर रिहा गरेकाे छ ।

उदयपुरका पत्रकार कुँवरले पछिल्लो समय उदयपुरको बेलका नगरपालिकामा भएको अनियमितता र केही गलत कार्यलाई अनलाइन र सामाजिक सञ्जालमार्फत् उठाउँदै आएका थिए। सोही विषयलाई लिएर पत्रकार कुँवरलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

बेलका नगरपालिकामा केही समयअघि नगरपालिकाका उपप्रमुख र वडाध्यक्षको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको र नगरपालिकामा भएका थप केही कार्यको पनि जनचासोको विषय बनेको थियो ।

उक्त समाचारलाई कुँवरले निरन्तर “फलो अप” गर्दै आएको अनलाइनले जनाएको छ । सोही विषयमा कुँवरको फलो अप र सामाजिक सञ्जालबाट गलत कार्यको विरोध भएका कारण प्रहरीले उनलाई पक्राउ गरेको र उनलाई प्रहरीले टेकुमा लगिएकाे थियाे ।

यस विषयलार्इ मंगलबार नेपाल पत्रकार महासंघले आपत्ति जनाए पछि पत्रकार महासंघ र प्रेस काउन्सिलको पहलमा दिउँसो पक्राउ परेका पत्रकार कुँवर र आचार्य साँझ रिहा भएका छन्।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “समाचार लेखेको वा सामाजिक सञ्जालमा उठान गरेका विषयप्रति आपत्ति रहे त्यसको कानुनी उपचारका अन्य मार्ग हुँदाहुँदै प्रहरीले कार्यकक्षबाटै पत्रकारलाई पक्राउ गरेको यो घटना संविधानविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो।”

विज्ञप्तिमा महासंघले प्रहरीको ज्यादतीविरुद्ध कडा शब्दमा भत्र्सना गरेको छ । सँगै महासंघले यो विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । ‘महासंघ प्रहरीद्वारा प्रेसमाथि गरिएको यो ज्यादतीको कडा भत्र्सना गर्दछ र प्रेसलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी तथा देवानी संहिताका केही प्रावधानले पत्रकारको घाँटी निमोठ्ने भनेर व्यापक विरोध र आलोचना भइरहँदा सत्तारुढ नेताहरुले भने पत्रकारहरुका विषयमा यो कानुन आकर्षित हुँदैन भन्दै आएका थिए ।

तर, समाचार सम्पादक कुँवर पक्राउ परेपछि सञ्चारजगत झनै त्रसित बनेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पत्रकारलाई पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो ।

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको