भदौ १९, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई मंगलबार भोजपुर लगिएको छ ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलीपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा राखेर भोजपुर लगिएको हो।
प्रहरीले श्री एअरलाइन्सको जहाजमार्फत बिहान ११: ५० बजे उनलाई ‘सुटुक्क’ विराटनगर विमानस्थल ल्याएको थियो । विराटनगर ल्याउने औपचारिक जानकारी नदिए पनि उक्त कुरा थाहा पाएर विमानस्थलमा पुगेका संचारकर्मीलाई छल्दै प्रहरीले उनलाई पूर्वतर्फको नेपाल आयल निगमको बाटो प्रयोग गर्दै त्यहाँबाट बाहिर निकालेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भोजपुरतर्फ लगिएका ‘प्रकाण्ड’ लाई मोरङ प्रहरीको टोलीले दुहवी सम्म पुर्याएर सुनसरी प्रहरीको जिम्मा लगाएको जानकारी दिए ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न सोमबार तेस्रो पटक आदेश दिएको थियो । यसअघि भदौ १ र ७ गते पनि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस