भदौ १९, रोल्पा । रोल्पामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ ।
सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन नसकेको हो।
जिल्लामा करिब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करिब १६ हजार घरधुरीमा मात्र सुधारिएको चुलो जडान गरिएका छन्। अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ्चित छन्।
तत्कालीन जिल्ला विकास समितिले जिल्ला परिषद्बाट सन् २०१७ भित्र रोल्पालाई घरभित्रको धुँवामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो।
तर, अभियानले गति लिन नसकेपछि सर्वसाधारणले गुनासो गर्न थालेका छन्। हालसम्म लुंग्री र रुन्टीवढी गाउँपालिकाको एक/एकवटा वडा, रोल्पा नगरपालिकाको एउटा वडा र त्रिवेणी गाउँपालिकाको दुई वडालाई मात्र घरभित्रको धुवाँमुक्त घोषणा गरिएको छ।
विगतमा विभिन्न दातृ निकायले सहयोग गरेका कारण अभियानले तीव्रता पाएको गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष कर्ण बाँठामगरले बताए।
स्थानीय तहले उक्त अभियानलाई निरन्तरता दिन नसकेको उनको आरोप छ। जिल्लामा सुधारिएको चुलो प्रवद्र्धकको सङ्ख्या तीन सयभन्दा बढी छ।
सुधारिएको चुलो जडान गरेबापत उनीहरुले एक हजारदेखि दुई हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्।रासस
प्रतिक्रिया दिनुहोस