शौच गर्न जाँदा बालिका बलात्कृत


कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।

बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।

देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घरमा आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।

विकले भने आफूले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन् ।

१७ कार्तिक २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको