निर्मला बलात्कार प्रकरण: छानविन गर्न एसएसपीको कमाण्डमा अर्को टोली गठन


भदौ १८, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिएका छन् ।

समितिका सदस्यमा ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । टाेली त्यहाँ पुगेर काम थालिसकेकाे जनाइएकाे छ ।

यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र जोशी नेतृत्वकाे टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।

मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई पक्राउ गरेर प्रहरीले बास्तविक बलात्कारी लुकाउन खोजेको भन्दै चर्केको आन्दोलनका क्रममा प्रहरीको गोलीले एकजनाको ज्यान समेत गएको थियो ।

१८ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको