बुटवललाई राजधानी बनाउन आन्दोलन सुरु भयो :राजधानी तोक्न माग गर्दै मसाल जुलुस


बुटवल, प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् ।

अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो । प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानर सहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन ।

मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए ।

‘अखण्ड पाच नम्बर प्रदेश निर्माणको आन्दोलनको केन्द्रबिन्दुलाई अबमूल्यन भए हामी कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’, उनले भनेका छन् ।

यस्तै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको जनाएको छ ।

काँग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए । ‘पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौँ, उनले भने ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने माग गरे ।

काँग्रेसले आन्दोलनको सांकेतिक स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ । यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले बताए ।

नेकपा एमालेले पनि दबाब मूलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघस्रंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाब र्‍याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।

अन्नपुर्ण पोष्टबाट

१९ पुष २०७४ मा प्रकाशित

१९ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको