माघको चिसो रात
लिपपोत गरि सजाईएको घर आगन
नयाँ नयाँ पहिरनमा सजिएका आफ्नाहरु
लालुपातेको बोट
लाली रंगमा, उस्तै झल्किएको शीतको लहर
आगन भन्दा केही पर
प्रवेशद्वार
“स्वागतम्”
भन्दै ठड्याईएका केराको बोट र पिपल पातहरु
उसको स्वागतमा
र उनको बिदाईमा
उ हर्षले गमक्क
उनी मधुरो मलिन मुहार
छोपिएको अनुहार
उसले कालो चस्माले ढाकेको नजर
उनी आफ्नै जन्मघरमा ढाकिएकी
उ भने बेझिझक घरी घरी
कर्के नजरको तीर फ्याँक्ने
उनी बेस्सरी कहालिएर
बिदाईको वेदना डाँको छोडी पखाल्दै थिइन्
उनको बिदाईको हर्षमा
भिडको अर्को मेला
भिडभित्र सुरु हुँदै गरेका अर्का कथाहरु
जवानिका उल्लास
रातको चिसो शीत
बैसको तापले सुख्खा पार्दै थिए कि
तर उनी बेस्सरी रुदै थिइन्
जसको बिदाईको क्षण थियो
पिडाको आँसु होकि
जन्मघरको यादको डाँको
या कतै बिवसताले मोडिएर रोजिएको बाटो हो
या कतै
निमोठिएका थिए सपनाहरूको पाटो
त्येसैले उनी रोईन र
कालो चिसो रात सँग उनी हारिन
हारिरहनु थियो अब उनलाई जिन्दगी भर
र त मनको पीडा
आँसु संगै बारम्बार झारिन
तर भिडले सुनेन
उसले पनि सुनेन
बरु बिहानिको पर्खाईमा उनको बिदाई लिई
लस्कर टाढा टाढा सम्म
नजरले भेउ पाउन्जेल
हिडिरह्यो हिदिरह्यो
—कहिले नफर्किने गरि
एकोहोरो हिडिरह्यो ।।
लेखन: जुनु राना
प्रतिक्रिया दिनुहोस